काठमाडौं : त्रिभुवन विश्वविद्यालयले कोभिड १९ को संक्रमण फैलिएको भन्दै तत्कालका लागि अत्यावश्यकबाहेकका सेवा स्थगित गरेको छ। सोमबारदेखि नै लागु हुने गरी सेवा स्थगित गरिएको त्रिविका सूचना तथा जनसम्पर्क प्रमुख अधिकारी सूर्यप्रसाद अधिकारीले जानकारी दिए।



उनका अनुसार त्रिवि अन्तर्गतका कार्यालयलाई आंशिक रुपमा सञ्चालन गर्न तथा सोही अनुसार कर्मचारी व्यवस्थापन गर्न सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिइएको छ। आफ्नो कार्यालय रहेको ठाउँमा स्थानीय प्रशासनले लकडाउन गरेमा त्यस्ता कार्यालयको सम्पूर्ण काम बन्द गर्ने निर्णय पनि त्रिविले गरेको छ।
सेवा बन्द गरेपछि शिक्षक तथा कर्मचारीलाई भने कार्यालयमै उपस्थित भएर हाजिर गर्नुपर्ने निर्णय त्रिविले गरेको छ। अनलाइन कक्षामा सहभागी शिक्षकलाई भने सोही कक्षालाई नै हाजिर मान्ने व्यवस्था त्रिविले गरेको छ।
त्रिविको यो निर्णयसँगै भदौबाट सञ्चालन गर्ने भनिएको विभिन्न संकाय र तहका परीक्षा सञ्चालन गर्न समस्या हुने भएको छ। अत्यावश्यक सेवा अन्तर्गत कार्यालयभित्र बसेर गरिने आन्तरिक प्रशासनिक काम, अस्पतालको काम, अनलाइन कक्षा लगायत छन्। उपत्यका बाहिरबाट आएर प्रशासनिक काम गर्ने प्रक्रियामा रहेको तर पूर्णता नपाएको काम भने सम्पन्न गरिने अधिकारीले जानकारी दिए। उनले भने, ‘सकेसम्म जनसम्पर्कका कामलाई घटाऔं भन्ने मुख्य उद्देश्य हो।’


























