धनगढी : सुदूरपश्चिममा कोभिड पुष्टि भएका १३ जनाको स्वाब भेरियन्ट पत्ता लगाउन काठमाडौं पठाइएको छ। प्रदेश जनस्वास्थ्य प्रयोगशालाका अनुसार कञ्चनपुरको गड्डाचौकी नाकामा एन्टिजेन पुष्टि भएका तीन जना र सेती प्रादेशिक अस्पतालमा कोभिड पुष्टि भएका १० जना गरी १३ जनाको स्वाब काठमाडौं पठाइएको हो।



संक्रमण पुष्टि भए पनि भेरियन्ट पत्ता लगाउनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब पठाइएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रामप्रसाद ओझाले जानकारी दिए। प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख ओझाले दिनेशखबरलाई दिएको जानकारी अनुसार कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण नेपालमा पनि पुष्टि भएपछि भेरियन्ट पत्ता लगाउन स्वाब काठमाडौं पठाइएको हो।
सबैभन्दा पहिले कोरोनाभाइरस सङ्क्रमण पत्ता लगाउनका लागि व्यक्तिको स्वाबको नमुना सङ्कलन गरिन्छ। ‘सङ्कलित नमुनाको प्रयोगशालामा परीक्षण गरेर भाइरसको सङ्क्रमण छ कि छैन भन्ने पत्ता लगाइन्छ,’ आझाले दिनेशखबरलाई भने, ‘भाइरस पत्ता लगाउने सुदूरपश्चिमका प्रयोगशालाले कुन भेरियन्टको भाइरस हो भन्ने पत्ता लगाउन सक्दैनन्। त्यसका लागि काठमाडौंको भर पर्नुपर्ने अवस्था छ।’
कुन भेरियन्ट हो भनेर हेर्नका निम्ति भाइरसको डीएनए वा आरएनएमा रहेका तत्वहरूको क्रम अर्थात सीक्वन्स हेर्नुपर्ने हुन्छ। त्यस्तो जाँच गर्ने विधिलाई नै जीन सीक्वन्सिङ भनिन्छ। त्यो विधि निकै खर्चिलो हुने गरेको छ।




















