महेन्द्रनगर । भीमदत्त नगरपालिका ९ खल्ला श्रीलंका टोलका उत्तम प्रसाद पन्त अहिले छिमेकीको घरमा आश्रय लिएर बसेका छन् । महाकाली नदीको बाढीले पन्तको घर सहित सबै समान बगाएको छ । अहिले पन्तको घर भएको ठाउँ बगर बनेको छ । ‘केही बाँकी राखेन, त्यो नल मात्रै छ, अरु सबै बगर बनाएको छ’ शनिबार पन्तले भने,‘सबै बगायो, यो कपडा पनि अर्काको मागेर लाएको छु ।’
पन्तले छिमेकीको घरमा धेरै दिन बस्न नसकिने अवस्था नभएको सुनाए । सरकारले व्यवस्था गरि दिए आफ्नै छिटो आफ्नै घरमा फर्किने पन्तको आशा छ । ‘घर बाएपछि छिमेकी आफन्तको घरमा बसेको छु, त्यहाँ पनि कति बढी दिन बस्न राम्रो हुँदैन’ उनले भने,‘छिटो व्यवस्था गरि दिए राम्रो हुन्थ्यो ।’
महाकाली नदीमा एक साता अघि आएको वेमौसी बाढीले खल्ला र मुसेट्टीका एक दर्जन परिवार घरबार विहीन हुन पुगेका छन् । उनीहरुले घर सहित खाद्यान्न, लत्ता कपडा, भाँडाकुँडा र वस्तु सबै गुमाएका छन् ।
खल्ला श्रीलंका टोलका पन्त सहित गणेश सिह घटाल, बीरमान मंगोला र मान सिह महताको घर बाढीले बगाएको छ । अहिले उनीहरुको घर भएको ठाउँमा बगर बनेको छ । महाकाली नदीको भँगोलोमा आएको बाढीले उनीहरुको घर बगाएको छ ।
श्रीलंका टोलका ४५ घर परिवारमध्ये ६ अहिले सरकारी पुनस्र्थापनको आशमा छन् । उनीहरु सबै आफन्तकोमा आश्रय लिएर बसेका छन् । अन्य परिवारले कटान र पटान सहित धानबाली गुमाएका छन् ।
‘घर बगाएपछि सबैभन्दा बढी पीडामा पर्ने वहाँहरु हो, समस्या त सबैलाई नै छ’ स्थानीय प्रेम सिह रावतले भने,‘धानबाली र दाल त सबैको बगाएको छ ।’



रावतले आफ्नो १० कट्टामा लगाएको धानबालीमा क्षति पुगेको बताए । महाकाली नदीको भँगालोले गगन खोला थुनिएपछि रावतको घर खेतमा पानी पुसेको थियो । ‘महाकाली नदीमा तटबन्ध नगर्दासम्म वस्ती बच्ने कुरै छैन’ उनले भने,‘तटबन्ध गर्न सकिएन भने अन्यत्र सार्न पर्छ ।’
खल्ला, टुँडीखेल र मुसेट्टी महाकाली नदी किनारका वस्ती हुन् । टुँडीखेल उच्चो स्थानमा भएकाले बाढीबाट जोगिएको छ । खल्ला र मुसेट्टीका स्थानीयले बाढीबाट पीडित भएका छन् ।
मुसेट्टीका ६ घर परिवार बाढीले पीडित भएका छन् । तीमध्ये केहीले बाढीमा घरबार गुमाएका छन् । बाढीमा फसेका मुसेट्टीका लक्ष्मण सिह नायक सहित पाँच जनालाई सैनिक हेलिकोप्टरबाट उद्धार गरिएको थियो । बाढीले नायकको घर सहित कुखुरा खोर बगाएको छ । महाकाली नदीको भँगोलो घरमा पसेपछि उनले श्रीमति र दुई छोरालाई रातभरि ढुङ्गा र रुखमा बसेर ज्यान जोगाएका थिए ।
अहिले नायकको घर भएको ठाउँ बगर बनेको छ । नदीले बगाएर ल्याएका बालुवा, ढुङ्गा र काठ थुप्रिएका छन् । ‘हाइट हेर्दै दगुर्दै, पानीमा तैरिदैं गयौ’ शनिबार ३६ वर्षिय नायकले भने,‘कम्मरसम्म पानी थियो, २÷३ बजेसम्म त आशै थियो, पछि त बचिदैन भन्ने कि भन्ने लाग्यो ।’
बढीले उनको घर र कुखुराको खोर बगाएको छ । घर र खोर बगाएपछि नायक परिवार विचल्लीमा परेको छ । ‘केही बाँकी रहेन, ज्यान त भगवानले बचायो’ उनले भने ।
बाढीले मुसेट्टमा नायक सहित कृष्ण चन्द, हरिश साउँद, जनक साउँद, अमर सिह खड्का, जय विष्टको घरमा क्षति पुगेको छ । उनीहरुमध्ये चन्दको घर भत्किएको छ । अन्यको घरभित्र बालुवा थुप्रिएर बस्न सकिने अवस्था अवस्था नभएको उनीहरु बताउँछन् ।
खड्काकी धर्मपत्नि दिर्घमतिलाई नायकको परिवारसंगै उद्धार गरिएको थियो । गाई गोठमा बसेकी खड्का पनि बाढीमा फसेकी थिइन् । बाढीले उनको एउटा गोठ बगाएको छ । घरभित्र भने बालुवा थुप्रिएको छ । उनी घरभित्रको बालुवा बाहिर फाल्न थालेकी छन् ।
‘सबैको माया आर्शिवाले बाँचे, घरको हालत त यस्तो बनाएको छ’ ६६ वर्षिया खड्काले भनिन्,‘भगवानले बचायो, बाँचिनु नै लेखिएको रहेछ ।’
मुसेट्टीका अर्का पीडित चन्दले बाढीले शरिरमा लगाएको कपडा बाहेक अरु केही नबचेको बताए । ‘यो लाएको जति कपडा छन्, त्यति मात्रै बचेको हो, घर भत्कायो, अरु सबै बाढीले बगायो’ उनले भने ।
विरामी परेका छिमेकीको घरमा गएकाले आफूले जोगिएको चन्दले बताए । ‘एक जना छिमेकमा विरामी थिए, म त्यता गएकाले जोगिए, नत्र घरभित्रै मर्थे’ उनले भने । घरका अन्य सदस्य भने दशैं मनाउन बैतडी पुख्र्यौली घर गएका थिए । उनीहरु अहिलेसम्म फर्किएका छैनन् ।
बाढीले चन्दको १५ कट्टामा लगाएको धानबाली नष्ट गरेको छ । बैतडीको मेलौलीबाट आएका उनले केही महिनापछि घर परिवारको खर्च चलाउन बाख्रा पालन गर्ने सोच बनाएका थिए ।
मुसेट्टीकी बिमला बमले बाढी आएपछि छिमेकीले आफूहरुलाई ब्युझाएको बताइन् । ‘बाढी आइ सकेको रहेछ, हामी त सुतेको थियौ, छिमेकी आएर ब्युझाए’ उनले भनिन्,‘नत थाहा नै हुँदैन्थ्यो ।’
बाढीले बगाएर ल्याएको बालुवा बमको गोठभित्र थुप्रिएको छ । घरको तीन फिटसम्म पुगेको बाढीले केही काठका मुडा पनि घरसम्म पुगाएको छ । बमको घर अगाडिको जमिन बगर बनेको छ । बाढीले खोलाजस्तै बनाएको खेतमा अझैसम्म पानी छ ।
‘गोठमा बालुवा छ, जमिन केही राखेन, नागरिकता पनि बगायो’ उनले भनिन्,‘अब राज्यले हाम्रो व्यवस्था गर्नु पर्छ, त्यसको आशमा छौ ।’
मुसेट्टीमा मध्यराति १२ बजे बाढी वस्तीमा पसेको थियो । यस अघि २०७० मा बाढीले वस्तीमा क्षति पुगाएको थियो । सात वर्ष अघिक बाढीले सरस्वती आधारभूत विद्यालय बगाएको थियो । विद्यालय बगाएको ठाउँ नजिक नायक सहित पाँच जना बाढीमा फसेका हुन् ।
मुसेट्टीमा पाँच दर्जन घर परिवार बसोबास गर्दै आएका छन् । महाकाली नदी किनारमा खल्ला, टुँडिखेल र मुसेट्टीमा झण्डै पाँच सय घर परिवार बस्दै आएको भीमदत्त नगरपालिका ९ का अध्यक्ष राम नाथले बताए ।
अध्यक्ष नाथले बाढीबाट स्थानीयले घरबार सहित अन्न, खेतको धानबाली, पशु चौपाया गुमाएको बताए । ‘केही बाँकी राखेको छैन, बाटोघाटो , विजुली बत्ती, टावर सबै गएको छ’ उनले भने,‘घर नभएर अर्काको घरमा बस्नु पर्ने अवस्था छ, खानलाई अन्न पनि छैन ।’
साँसद र मेयरले हेरे क्षति
कञ्चनपुर क्षेत्र नं। ३ का साँसद डा।दिपक प्रकाश भट्ट, अर्का साँसद निरुदेवी पाल र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले शनिबार खल्ला र मुसेट्टी पुगेर क्षतिको स्थलगत निरीक्षण गरेका छन् ।
उनीहरुले मुसेट्टीमा घरबार विहीन भएका सबै परिवारलाई भेट गरेका छन् । सैनिक हेलिकोप्टरबाट उद्धार गरिएका नायक सहितलाई भेटेका छन् । नायकलाई उद्धार गरिएको स्थानमा भेट गरिएको छ । बाढीले क्षति पुगाएको धानबालीको खेतमा पुगेर निरीक्षण गरिएको छ ।
यसैगरी खल्लामा घर बगाएका स्थानीयलाई भेटेर क्षतिको निरीक्षण गरेका छन् । उनीहरुले निरीक्षणका क्रममा स्थानीयसित क्षतिबारे जानकारी समेत लिएका छन् ।
भीमदत्त नगरपालिकाका मेयर विष्टले बाढीबाट पीडित वासिन्दाको व्यवस्थाका लागि पहल गरिने बताए । ‘यो विपत्ति हो, सबैभन्दा पहिलो त मुसेट्टीमा पाँच जनालाई जोगाउनु थियो, त्यसमा लाग्यौ, त्यसपछि राहत कार्यक्रमलाई दिनु पर्ने हुछ, त्यस अनुसार जान्छौ’ उनले भने,‘त्यसपछि के भने यी वस्तीलाई सुरक्षित बनाउनु पर्ने आवश्यकता छ, त्यसका लागि नदी नियन्त्रणको योजना चाहिन्छ, त्यसका लागि संघ र प्रदेश सरकारसित पहल गर्छौ ।’
बिकल्प दैनिक बाट साभार


















