कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ऐलानी जग्गा नापीको शुभारम्भ गरिएको छ । सोमबार एक कार्यक्रमका बिच भूमि सम्बन्धी समस्या समाधान आयोग कञ्चनपुरकी अध्यक्ष कमला बोहराले उक्त कार्यक्रमको शुभारम्भ गरेकी हुन ।



शुभारम्भ कार्यक्रममा बोल्दै बोहराले ऐलानी जग्गा नापीको क्रममा एक सेन्टिमिटर जग्गा पनि तल माथि नपर्ने बताएकी छिन । उनले बिभिन्न खालका प्रविधिहरू अपनाएर जग्गा नापीको काम गरिने बताइन् ।

‘हिजोका दिनमा टेबुलमा नक्सा पल्टाएर कुन ठाउँमा ऐलानी जमिन छ, त्यो कसको नाममा पास गर्ने भनेर कोठामा बसेर काम गरिन्थ्यो । जसले गर्दा वास्तविक व्यक्तिले जग्गा पाउन सकेनन्’ उनले भनिन ‘त्यसको पूर्ण रूपले अन्त्य हुनुपर्छ भनेर बिभिन्न खालका प्रविधिहरू अपनाएर कसैको एक सेन्टिमिटर जमिन पनि अर्काका नाममा नजाओस भनेर जसले उपभोग गरिरहेको छ, जसको स्वामित्वमा छ, जसको अधिकार भित्र पर्छ, त्यसैले प्राप्त गर्नुपर्छ भनेर हामी सबै संवेदनशिल भएर लागेका छौ ।’
उनले अब कोही पनि गैर सुकुम्बासीले जग्गा नपाउने र सुकुम्बासी जमिन पाउने कुरामा नछुट्ने बताइन् । उनले कसैले प्रलोभन देखाएर जग्गा दिने भनेर आएमा त्यसको पछि नलाग्न आग्रह गरिन ।
अहिले सम्म बनेका आयोगले सुकुम्बासी र मुक्त कमैयालाई नदी किनारमा जग्गा दिएको छ भने त्यसलाई अहिलेको आयोगले स्थानान्तरण गरेर उपयुक्त ठाउँमा बसाउने अध्यक्ष भण्डारीले बताइन् ।
उनले आयोगले पुर्जा वितरण गरेको जमिन १० वर्ष सम्म बिक्री गर्न नपाइने बताइन । ‘१० वर्ष सम्म कसैले पनि जग्गा बेच्न पाउँदैन’ उनले भनिन ‘१० वर्ष पछि बेच्न पाइए पनि १ तिहाइ भन्दा बढी जग्गा उसले जीवनभर बेच्न पाउँदैन ।’
उनले राजश्व निर्धारण गर्ने कुरामा पनि जग्गा बिक्री गरेर राजश्व बुझाउनु पर्ने अवस्था आउन नदिइने बताइन् । ‘महशुलका विषयमा पनि अहिले छलफल भइरहेको छ । गरिब निमुखाले २ प्रतिशत मात्रै दस्तुर लगाउनु पर्छ भनिरहेका छौ’ उनले भनिन ‘मापदण्ड बनाएर २ देखि २०० प्रतिशत पनि दस्तुर लगाउनु पर्छ भनेर छलफल भइरहेको छ ।’
प्रतिबद्धता अनुसार काम भइरहेको छ : नगरप्रमुख हमाल
कार्यक्रममा बोल्दै कृष्णपुर नगरपालिकाका नगरप्रमुख कर्ण बहादुर हमालले लालपुर्जा वितरणका लागि नगरपालिकाले प्रतिवद्धता गरे अनुसार काम भइरहेको बताएका छन । उनले इमान्दारिता पूर्वक वास्तविक भूमिहीनलाई जग्गा उपलब्ध गराउन आफूले कुनै कदम बाकी नराख्ने बताए ।

‘तिनै तहका सरकारले सहकार्य गरेर अगाडी बढ्ने छौ’ उनले भने ‘नगरपालिका भित्र रहेका सबै राजनीतिक दलहरुले पनि यस कार्यमा पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।’
उनले नापीका लागि केन्द्रबाट २ जना सर्बेक्षक र २ जना अमिन आइसकेको र नगरपालिकाले पनि ४ जना सर्बेक्षक र ४ जना अमिन छनोट गरिसकेको बताए ।
लकडाउनले गर्दा काममा ढिलाई भएपनि अब काम दु्रत गतिमा अगाडी बढ्ने नगरप्रमुख हमालले बताए ।उनले लालपुर्जा वितरणका लागि रकमको अभाव नहुने बताए ।
‘आर्थिक बर्ष २०७८÷७९ को नीति तथा कार्यक्रममा भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि बजेटको पनि व्यवस्था गरेका छौ’ उनले भने ‘हामीले लालपुर्जा वितरणका लागि आवश्यक पर्ने प्राबिधिक उपकरण लगायतका सम्पूर्ण सामग्रीको नगरपालिकाले व्यवस्थापन गर्ने छ ।’
नगरप्रमुख हमालको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रमकी प्रमुख अतिथि आयोगको कञ्चनपुर अध्यक्ष बोहरा रहेकी थिइन । कार्यक्रममा जनप्रतिनिधि बिभिन्न राजनीतिक दलका प्रतिनिधि, भूमि सम्बन्धी समस्या समाधान आयोगका प्रतिनिधि, नापी कार्यालयका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा जग्गा नापीका लागि आवश्यक उपकरणको समेत अवलोकन गरिएको थियो ।
१५ हजारलाई लालपुर्जा दिईने
नगरपालिकाले १५ हजार बढीलाई लालपुर्जा दिईने बताएको छ । अव्यवस्थित, भूमिहिन दलित र भूमिहिन सुकुम्बासी बसोबासीहरुलाई जग्गा धनी पुर्जा दिन नगरपालिकाले १५ हजार बढीको लगत संकलन गरेको छ ।
नगरपालिकाका लगत सकलन एकाई प्रमुख एवम नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीले १५ हजार १ सय ८४ जनाको लगत संकलन गरिएको बताए ।
जसमध्ये अव्यवस्थित बसोबासी १४ हजार ९ सय ५५, भूमिहिन सुकुम्बासी १ सय ३६ र भूमिहिन दलित ५७ जना रहेका छन ।
संकलन गरिएको तथ्याङ्कका आधारमा लालपुर्जा वितरण गरिने नगरपालिकाले जनाएको छ ।

























