धनगढी- सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन । उनले त्यस सम्बन्धी पत्र आइतबार नै प्रदेशसभा सचिवालयमा दर्ता गराइसकेको प्रदेश सचिवालय स्रोतले बताएको छ ।



सचिवालय स्रोतका अनुसार आजको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरेका हुन । सोमबार नै विश्वासको मत लिने तयारी भए पनि नियमले नमिल्ने भएकाले मंगलबारका लागि सारिएको बताइएको छ ।
प्रदेश सभाको नियम अनुसार दर्ता गरेको ४८ घण्टा पुग्नुपर्ने नियम छ । नेकपा एमाले स्थायी कमिटीले जेठ १० गते सुदूरपश्चिममा माओवादी नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
तर जेठ १२ गते बसेको नेकपा एमाले प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारलाई रहेको समर्थन कायम राख्ने र मन्त्रिपरिषद् विस्तार गरेर थप सदस्यहरु सरकारमा पठाउने निर्णय गरेको थियो ।
त्यसयता एमाले भित्र किचलो देखिएको छ । हाल सभामुख सहित ५२ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गर्न २७ जनाको समर्थन आवश्यक पर्छ ।
विश्वासको मत लिदै गर्दा भट्टले कम्तीमा २८ मत प्राप्त गर्ने अनुमान गरेको बुझिएको छ । एमाले माधव नेपाल समूहको दरिलो साथ भएकाले मुख्यमन्त्री भट्टलाई विश्वासको मत सहजै प्राप्त हुने अवस्था रहेको सांसदहरुले बताएका छन । माओवादी केन्द्रका १३ जना सदस्य छन ।
सभामुखबाहेक एमालेका २४ जना सदस्य छन । पछिल्लो समयमा एमाले सांसदहरु अध्यक्ष ओली र नेपाल समूहगरी दुई चिरामा बाँडिएका छन । तर नेपाल पक्षमा बहुमत सदस्य छन । नेपाल समूहले आफ्नो पक्षमा कम्तीमा पनि १५ जना सदस्य रहेको उक्त पक्षको दाबी छ ।
नेपाल पक्षले अहिलेकै सरकारलाई समर्थन दिने भए पनि विश्वासको मत फिर्ता लिने पार्टी निर्णयको पक्षमा रहेका ओली पक्षधर सांसदहरु भने अलमलमा पर्ने देखिएको छ ।

























