धनगढी – नेकपा एमाले सुदूरपश्चिमको प्रमुख सचेतकको जिम्मेवारी प्रदेशसभा सदस्य दुर्गाकुमारी बिकले पाएकी छन् ।
आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका संसदीय दलका नेता प्रकाशबहादुर शाहले बिकलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् ।



यसअघि एमाले संसदीय दलले तत्कालीन प्रमुख सचेतक तारा लामा तामाङलाई हटाएर लालबहादुर खड्कालाई नियुक्त गरेको थियो ।
खड्का सामाजिक विकास मन्त्री बनेपछि पार्टीकी सचेतकसमेत रहेकी बिकलाई प्रमुख सचेतकको काम कारबाही हेर्ने गरी जिम्मेवारी दिइएको एमाले संसदीय दलले जनाएको छ ।
प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीले सम्पूर्ण सेवा सुविधा पाउने गरी बिकलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको जानकारी सचिवालयमा प्राप्त भएको बताएका छन् ।
एमाले संसदीय दलले प्रदेशसभा सदस्य तारा लामा तामाङलाई प्रदेश सभाको कार्य व्यवस्था परामर्श समितिको सदस्यबाट समेत हटाएको छ ।
हालै पार्टीको तत्कालीन प्रमुख सचेतकबाट जिम्मेवारीमुक्त गरिएका तामाङलाई कार्यव्यवस्था परामर्श समितिको सदस्यबाट हटाइएको प्रदेशसभा सचिवालयले जनाएको छ । उनको ठाउँमा प्रदेशसभा सदस्य अमरबहादुर साउदलाई ल्याइएको छ ।

























