सुदुरपश्चिम – सुदुरपश्चिम प्रदेशमा अहिलेकै सरकारलाई निरन्तरता दिने नेकपा एमालेले निर्णय गरेको छ । आज बसेको संसदिय दलको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने र अहिलेकै सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो ।



एमालेलाई एकताबद्ध बनाउँदै सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय भएको प्रदेश सांसद पुर्णा जोशीले बताईन ।
जनताको जिउँधनको सुरक्षा, ज्यान बचाउने कुराहरू पहिलो प्राथमिकतामा राखेर महामारी नियन्त्रणमा सरकारले प्रभावकारी रुपमा काम गर्ने र तत्कालका लागि समर्थन फिर्ता नलिने निर्णय भएको उनको भनाइ छ ।
उनले बैठकमा दीर्घकालीन रूपमा सबै राजनीतिक दलहरूसँग सार्थक संवादका माध्यमबाट सरकारको नेतृत्व परिवर्तन गर्नका लागि पनि संवाद थाल्ने निर्णय भएको बताइन् ।
‘वर्तमान परिस्थितिलाई तत्कालै सरकारमा गएका मान्छेहरूलाई फिर्ता गरेर सरकार बन्न सक्ने अवस्था नरहेको र बजेट पनि जेठ १५ भित्र ल्याउनु पर्ने भएकाले हतारोको निर्णय नगरिकन परिपक्व निर्णय गरेर मात्रै जाने भन्ने निर्णय भएको छ,’ उनले भनीन ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी नेतृत्वको सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएका थिए । तर, माधव पक्षको बहुमत रहेको सुदूरपश्चिममा उक्त समूहले सरकारबाट फिर्ता नहुने जनाएको छ ।

























