बैतडी – नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना संक्रमण फैलिएसँगै अग्रपंक्तिमा खटिने पत्रकार पनि संक्रमणको चपेटामा परेका छन्। हालसम्म बैतडीसहित सुदूरपश्चिम प्रदेशका २४ जना पत्रकारलाई कोरोना संक्रमणको पुष्टि भइसकेको छ।



नेपाल पत्रकार महासंघ,सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष योगेश रावलका अनुसार सबैभन्दा बढी कैलालीका ११ जना पत्रकारलाई कोरोना पुष्टि भइसकेको छ।
यस्तै, कञ्चनपुर र डडेल्धुरामा ३-३, बैतडी, डोटी र बाजुराका २-२ र बझाङका १ पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ।
प्रदेशको दार्चुला र अछाममा भने हालसम्म कुनै पत्रकार संक्रमणको चपेटामा नपरेको जनाइएको छ। संक्रमित २४ जनामध्ये कैलालीका १ जनाको स्वास्थ्य अवस्था जटिल भएकोले उपचारका लागि काठमाडौं लगिएको पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले जनाएको छ। संक्रमित अन्य २३ जनाको स्वास्थ्य अवस्था भने जटिल नरहेको र उनीहरु सबै होम आइसोलेसन रहेका छन्।
प्रदेश समितिले संक्रमित पत्रकारहरुको उपचारका लागि प्रत्येक जिल्ला शाखामा आइसोलेसन सेन्टर निर्माण गर्ने भएको छ। ‘हामीले आफ्नो भवन रहेका जिल्ला शाखाहरुलाई आइसोलेसन सेन्टरको रुपमा रुपान्तरण गर्न निर्णय गरेका छौं’, अध्यक्ष रावलले भने,‘ उक्त आइसोलेसन सेन्टरमा अक्सिजन समेतको व्यवस्था गरिनेछ’
संक्रमित पत्रकारहरुलाई प्रदेश र जिल्ला शाखाहरूसँग समन्वय गरेर आइसोलेसन सेन्टरमा राखिनेछ। यसका साथै कैलालीमा एक सुविधासम्पन्न होटेललाई पनि आइसोलेसन सेन्टरका रूपमा निर्माण गरिने तयारी भएको अध्यक्ष रावलले जानकारी दिए।
उनले भने,‘संक्रमित पत्रकारको उपचारका लागि होटेललाई नै आइसोलेसन सेन्टरका रुपमा निर्माणको तयारी गरेका हौं।’
महामारीको बेला अग्रपंक्तिमा खटिने पत्रकारलाई संक्रमणको जोखिमबाट बचेर काम गर्नपनि प्रदेश समितिले आग्रह गरेको छ। प्रदेश अध्यक्ष रावलले भने,‘स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर महामारीको बेला बचेर काम गर्न सबै साथीहरूलाई आग्रह छ।’ सुदूरपश्चिममा एक हजार दुई सय बढी पत्रकार छन्। – थाहाखबर बाट

























