सरकारले केही अत्यावश्यक सेवालाई छोडेर वैशाख १६ गतदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञाको निर्णय गरेको छ। उपत्यकाबाहिर पनि २ सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा निषेधाज्ञा लागू हुने भएको छ।



तीव्ररूपमा फैलिरहेको संक्रमणले हुन सक्ने क्षतिबाट बचाउन निषेधाज्ञाबाहेक अन्य उपाय नभएको डा। गौतमले स्पष्ट पारे। ‘हरेक व्यक्तिले जनस्वास्थ्य मापदण्ड पालना गरेको भए निषेधाज्ञा गर्नुपर्ने थिएन। सेल्फ लकडाउनमा बस्नू पनि भन्यौं, अटेरी नै भयो’, उनले भने। काठमाडौंमा जनघनत्व बढी भएको र संक्रमणको चक्र नरोकेमा भयावह रूप लिने स्थिति रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा। शेरबहादुर पुनले बताए।
चिकित्सकका अनुसार कोरोना भाइरसको चेन ब्रेक गर्न (सर्ने प्रक्रिया रोक्न) कम्तीमा तीन साता निषेधाज्ञा चाहिन्छ। यो अवधि जनघनत्वमा पनि भर पर्छ। ‘थोरै जनसंख्या भएमा कम र बढी जनसंख्या भएमा बढी समय लाग्छ’, डा। पुनले भने। सशस्त्र प्रहरी बल अस्पतालका कोभिड १९ उपचार संयोजक डा। प्रवीन नेपालले पनि वर्तमान अवस्थामा निषेधाज्ञाबाहेक अन्य विकल्प नभएको बताए।
राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा। बाबुराम मरामसिनीले सरकारले समयमै नियन्त्रणका उचित उपाय अपनाउन नसक्दा निषेधाज्ञाको सहारामा पुग्नुपरेको बताए। उच्च रक्तचाप भएका, मुटुरोगी, गर्भवतीको उचित व्यवस्थापन हुनेगरी निषेधाज्ञा कार्यान्वयन गर्न उनले सुझाव दिए। ‘यो समूहका कतिपयले गत वर्ष अस्पताल पुग्न समयमै सवारीसाधन नपाएर ज्यान गुमाउनुपरेको थियो। अहिले यस्तो नहोस्’, उनले भने। नागरिक दैनिकमा खबर छ।

























