प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । वर्तमान सरकार व्यापार असन्तुलन घटाउनेतर्फ सक्रिय रहेकोले ढुक्कका साथ औद्योगिक विकासमा लगानी गर्न आग्रह गरेका हुन् ।



नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसका अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यापार घाटा कम गर्न सफल नभए पनि क्रमिक सुधार भने आइरहेको बताए ।
प्रधानमन्त्री ओलीले वैदेशिक लगानीका रुपमा ठूलो धनराशि मुलुकमा भित्रियोस् भन्ने उद्देश्यले सरकारले न्यूनतम वैदेशिक लगानीमा सीमा तोकेको बताए । खुद्रा लगानीबाट समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार तुल्याउन कठिन हुने उनको भनाइ छ ।
संयुक्त राष्ट्रसङ्घले निर्धारण गरेका दिगो विकासका लक्ष्य हासिल गर्न सरकार लागिपरेको र त्यस निम्ति दोहोरो अङ्कको आर्थिक वृद्धिदर हासिल गर्न जरुरी भएको बताउँदै उनले वर्तमान सरकार स्पष्ट दृष्टिकोण र मार्गचित्र तयार गरी अघि बढिरहेको बताए ।
प्रधानमन्त्रीले देशको औद्योगिक विकासका बाधक, ऐननियम र कानून प्रतिकूल भए तिनलाई समयानुकूल संशोधन र परिमार्जन गरिने प्रतिबद्धता व्यक्त गर्दै साझा सङ्कल्पका साथ राष्ट्र निर्माणमा जुट्न आग्रह गरे ।


















