नदीमा हाम फाल्दैमा बहादुरी के ?



यदि पौडी खेल्न जानेको होइन भने ।
भावावेशमा बगेर भाषण फलाकेर के ?
यदि शासन गर्ने हुति र हृयाउ छैन भने ।
एन.डी. प्रकाश स्मृति ग्रन्थ
करिब दुई वर्षअघि माओवादी केन्द्र र एमालेबीचको एकतालाई हाइड्रोजन र अक्सिजन मिलेर बनेको पानी जस्तै भनेर अभिव्यक्ति दिएका नेता प्रचण्ड न्यायापालिकाले पेरिस डाँडामा सीमित गरिदिएपछि थोरै भए पनि ठेगानामा आएका छन् भने कार्यकारी प्रमुखको छाडा मुख अझै छाडा नै देखिन्छ, सुनिन्छ । यति छाडा कार्यकारी प्रमुख तानाशाह पनि हुन सक्दैन । छाडा अभिव्यक्तिले अब हनिमुन मनाउँदैछ । सधैं धम्की, सधैं उत्तेजना, सदा चुनौती, निरन्तर च्यालेन्ज । प्रत्येक दिन दुई तिहाइ ल्याएरै छाड्ने दम्भ, आफैंले हुर्काएका कार्यकर्ताप्रति असहिष्णु कटाक्ष ! माफिया र डनब्राण्डलाई प्रोत्साहन विकृति र विसंगतिको पक्षपोषण !
अन्याय, अत्याचार, भ्रष्टाचार, व्यभिचार र बलात्कारलाई सुशासन ! असत्यको थुतुनो उघ्र्रिएपछि सत्यको मुख बन्द ! जनताले लेखेको संविधानको कसम खाएर संघीय लोकतान्त्रिक गणतन्त्रका नागरिकको मान मर्दन, यही हो आजको यथार्थ । यही हो हाम्रो सत्य र तथ्य । यही हो हाम्रो नियति र वास्तविकता ।
कांग्रेसलाई खोलामा सीमित गराई, रातारातको एकताबाट नदीमा हाम्फाल्दाको परिपाटी हो यो । नदीमा हाम्फाल्ने तर पौडी खेल्न जनान्दाको बहादुरीको पराकाष्ठा हो । गाउन नजान्ने, बजाउन मात्र जान्ने घमण्डको पर्दाफास हो । नाँच्न नजान्ने, आगनमाथि दोषारोपण गर्ने प्रवृत्तिको नतिजा हो । आवेशमा आएर जनतालाई स्वर्ग जाने भ¥याङ पनि बनाइदिन्छौं भन्ने ‘वाकपटुहरू’ ले सिर्जना गरेको परिणाम हो–अहिलेको एजेण्डाविहीन राजनीति । सत्ताधारी पक्ष र विपक्षका कार्यकर्ता त के शुभ चिन्तकहरूको पनि अहिले शिर निहुरिएको छ । 
लेखक
सत्तारुढ पार्टीका कार्यकर्ताहरूको ठूलो पंक्ति क्रान्तिकारी छ भन्ने हेक्का महाŒवाकांक्षाको टकरावमा व्यस्त नेताहरूले राखेका छैनन् । भोट बटुल्नु र जनमुखी शासन दिनु फरकफरक पाटा हुन् । जनमत पाएपछि त्यसलाई बोकेर हिँड्ने क्षमता राख्नुपर्छ । शासन गर्ने कुशलता र क्षमता जवाफदेहिताबाट मात्र सिर्जित हुन्छ ।
अब शीर्षकतिर फर्कौं । २७ वर्षको उमेरमा २०१४ साल चैत १९ गते लेले डाँडामा (ललितपुर) हवाई दुर्घटनामा ज्यान गुमाएका बहुप्रतिभाशाली, बहुचर्चित राजनेताबारे युवाहरूलाई सामान्य जानकारी होस्, इतिहास नहराओस्, मात्र होइन कांग्रेस उनको कीर्तिदेहबाट लाभान्वित हुन जुर्मुराओस् भन्ने उद्देश्यले यो छोटो आलेख प्रस्तुत गरिएको छ ।
अल्पायुमै विराट व्यक्तित्व निर्माण गरेका नारायणीदत्त चटौत अर्थात एन.डी.को जन्म विसं १९८७ मंसिर ७ गते माता तुलसीदेवी र पिता देवीदत्त चटौतको सुपुत्रको रूपमा विराटनगरमा भएको थियो । डडेलधुराको डुङरी ठेगाना भएका देवीदत्त राष्ट्रसेवकको रूपमा कार्यरत रहँदा बाबुको मूलमा परेर उनी जन्मेका थिए । ८ वर्षको उमेरसम्म उनले बाबु देख्न पाएनन् । बाबुआमा पनि लुकामारी गरेर भेटघाट गरे । यसै कारण पनि उनी उनमा क्रान्तिकारी भावना आएको हुनुपर्छ । वंश परम्परादेखि नै राज्यसत्ताको सन्निकट भएका कारण उनले राजकाजबारे सानैमा केही सिक्ने मौका पाए । सुदूर पश्चिमको अन्याय, विकृति र विसंगतिले आक्रान्त अवस्थाले राजनीतिमा उनको चासो बढ्यो ।

एन.डी.प्रकाश
यस्तो राज्यसत्ताबाट निम्न वर्ग र महिलाको उत्थान हुँदैन भन्ने उनको ठम्याइ थियो । देशको पारिवारिक शासन नढलेसम्म काम गर्न सकिँदैन र त्यसलाई ढाल्न कांग्रेसमा आबद्ध हुनुपर्छ भन्ने ज्ञान भारतीय नेताहरूबाट विद्यार्थी कालमा पाएका थिए । २००६ सालमा एन.डी.प्रकाश विद्यार्थी राजनीतिमा होमिए र सुदूरपश्चिमको तराईमा राणाशासनका विरुद्ध लडे । सर्वसाधारणमा विचारको वीजारोपण गरे । कट्टर ब्राहृमणवादमाथि प्रहार गरे । नारी जागरण विरोधीलाई चुनौती दिन लगनगाँठो कसेको भोलिपल्टै आफ्नै नेतृत्वमा स्थापित विद्यालयमा धर्मपत्नीलाई भर्ना गरिदिएर नियमित विद्यार्थी बनाइदिए ।
सबै क्षेत्रमा प्रकाशमय हुनेगरी कार्य गरे तर कतै नहार्ने किसिमबाट सत्कार्य गरे । नागरिक हुनुको महŒव बुझाए । उनले मानवअधिकार, विधिको शासन, आवश्यक निर्वाचन राज्यको नागरिकप्रतिको दायित्व आदि जस्ता विषय गाउँगाउँमा पु¥याए । शोषित र पीडितको कित्तामा उभिएर आफ्नै वर्गको विरुद्ध जेहाद छोड्ने कामको सफल नेतृत्व गरे । समयको गतिसँगै राजनीति, साहित्य र अर्थ व्यवस्थाको अन्तरसम्बन्ध पार्टी पंक्तिमा बुझाउने अभियान थाले । पृष्ठभूमिको चारपंक्तिमात्र जानेर के ? शीर्षकको उनकै कविता २०११ सालमा लिपिबद्ध गरिएको हो ।
२४ वर्षकै उमेरमा कांग्रेसको केन्द्रीय सदस्य बनेका एन.डी. प्रकाश युवा चाहनालाई मुखरित गर्न सक्थे । पार्टीका बैठक र अधिवेशनमा आपूmलाई उपयोगी बनाउन अहोरात्र खट्थे । उनको मेहेनत र कार्य कुशलतालाई बीपीले प्रोत्साहन गर्थे । बीपीले आफ्ना समकालीन सुदुरश्चिममा नेतालाई भनेका थिए । ‘एन.डी. प्रकाशलाई तपाईंहरूले सधैं ख्याल गर्नुपर्छ र बचाइराख्नुपर्छ । ऊ वास्तवमा निकै मेधावी र भावी नेतृत्व सम्हाल्न सक्ने व्यक्ति हो । यो सन्देश साथीहरूलाई दिनु होला ।’
बीपीभित्र जसरी दुई आत्मा राजनीति र साहित्य देखिन्छ, त्यसरी नै एन.डी.प्रकाशको शरीरभित्र तिनै राजनीति र साहित्य सँगसँगै देखिन्छ । दैनिकी लेखनमा उनी बीपीकै हाराहारी देखिन्छन् । उनको तुलना बीपीसँगमात्र हुनसक्ने देखिन्छ । सन्त नेता कृष्णप्रसाद भट्टराईले उनको मूल्यांकन यसरी गरेका छन् र भनेका छन् ‘एन.डी. प्रकाश कुशल राजनेता, सबै क्षेत्रका ज्ञाता र पार्टी तथा मुलुकलाई दिशा निर्देश गर्नसक्ने व्यक्ति हुन् ।’ कार्यकारी प्रमुख भइसकेका दर्जनौं राजनेताले एन.डी. प्रकाशको कीर्तिदेहको मुग्धकण्ठले प्रशंसा गरेका छन् ।
चट्टानीय अडान भएका कांग्रेस नेता एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले एक ठाउँमा लेखेका छन्, ‘एन.डीसित देश, जनता र प्रजातन्त्रले ठूलो अपेक्षा राखेको थियो । बीपी उहाँलाई सधैं एक सक्षम र प्रतिबद्ध सहयात्रीको रूपमा विश्वास गर्नुहुन्थ्यो ।’ एन.डीको दृष्टि क्षितिज अत्यन्त फराकिलो देखिन्छ । प्रेरणाको ऊर्जा सञ्चार गर्न त्यतिकै सक्षम देखिन्छन् । यसो हुनुमा उनको पठनवृत्त फराकिलो भएर हो । उनी विश्व जगतकै समाज र राजनीति बुझ्ने हैसियत राख्थे । तत्कालीन नेपालमा उनी थोरै महानहरूभित्र पर्थे । नेपाली कांग्रेसको रक्तसञ्चार गर्नसक्ने एन.डी.प्रकाश नरहेको छ दशक भइसक्यो ।
तर, ‘गुणको बैरी मानुष जाति’ भनेझैं जुन पार्टीमा सम्बद्ध रहेर देश र समाजका लागि आफ्नो ऊर्जा लगानी गरे त्यो पार्टी कांग्रेसले उनको सही मूल्यांकन गर्न सकेको छैन । स्वार्थको दुर्गन्ध सुँघ्दै दिन काटिरहेको छ । अनिर्णयको बन्दी बनिरहेको छ । विडम्बना प्रकाशको त्यो ज्योति, राजनीतिक वाङ्मयमा पुगेको उनको योगदान र चामत्कारिक व्यक्तित्वको उजागर गर्न कांग्रेसको गर्भबाट कोही न कोही नजन्मला र ? आशावादी हुनै पर्छ । केही युवाहरू छन्, भविष्य भएका युवा नेताहरू छन् । सधैं पद ओगटेर नबस्ने प्रतिबद्धता जाहेर गरिरहेका छन् । गाजलको घरबाट बेदाग निस्केका छन् ।
तिनले असफल राजनीति हेरेर बस्ने छैनन् । बुढो पुस्ता–जसले निकास दिएन, तिनले गगन थापाहरूको काँधमा जिम्मेबारी बिसाउनै पर्ने घडी आउँछ । पार्टीले अब गगन थापालाई प्रधानमन्त्रीको उम्मेद्वारको रूपमा प्रस्तुत गर्ने घोषणा गरेर पाको पुस्ताले अभिभावकको हैसियतमा बस्नुपर्ने अवस्था परिस्थिति र आवश्यकताले निर्धारण गर्नेछ । लोकशक्तिले सत्याग्रह गर्ने र आमूल परिवर्तन दिने दिनको आशा गर्नैपर्ने हुन्छ र त्यसका लागि सबैले सामथ्र्यअनुसार योगदान गर्नुपर्नेछ । एन.डी.प्रकाशको पुष्पतिथि अर्थात् स्मृति सन्दर्भलाई यसरी बिट मारौं ।
उस्तै चाल उनी माल, अन्धकार जताततै
सर्वत्र नासियो ऊर्जा, विज्ञजन कताकतै
हाल बेहाल देखेर, दुनियाँदेखि शोकका
पुनः एन.डी.तिमी आऊ, बनी प्रकाश लोकका ।
यो पनि हेरौ ः https://khabardarinews.com/10304

























