सर्वोच्च अदालतको फैसलापछि सुदूरपश्चिम प्रदेशमा वर्तमान प्रदेश सरकारको भविष्य असुरक्षित भएको छ ।



अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नरहने भन्दै निर्णय बदर गरि दिएपछि पूर्व हैसियतमा फर्केको माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकार असुरक्षित भएको हो । तत्कालीन समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र माओवादी केन्द्र एकीकृत भइ नेकपा बनाइएको थियो । तर, सर्वोच्चको फैसलाले फेरि, एमाले र माओवादी केन्द्र अस्तित्वमा आएको छ ।
माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका त्रिलोचन भट्ट अब अल्पमतमा परेका छन् । प्रदेश सभामा उनको पार्टी दोस्रो ठूलो दलमा झरेको छ । माओवादी केन्द्रबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने १४ जना प्रदेश सभा सदस्य छन् । अल्पमतमा परेका कारण मुख्यमन्त्री भट्टका पद धरापमा पर्नुका साथै सरकारकै भविष्य असुरक्षित बनेको हो ।
जम्मा ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा अब सबैभन्दा ठूलो दल नेकपा एमाले बनेको छ । सो पार्टीबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य सङ्ख्या २५ रहेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका १२ र जनता समाजवादी पार्टीका दुई जना प्रदेश सभा सदस्य छन् ।
पछिल्लो उत्पन्न परिस्थिति अनुसार मुख्यमन्त्रीले अविस्वासको प्रस्तावको सामना गर्नु पर्ने र ठूलो दलको हैसियतले एमालेले सरकार गठन गर्न सक्ने सम्भावना बढेको गएको छ ।
यद्यपि, तत्काल सरकार फेरबदल नहुने एमालेका संसदीय दलका नेतासमेत रहेका सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले बताए । ‘राष्ट्रिय राजनीतिले नै अब प्रदेश सरकारको भविष्य निर्धारण गर्नेछ’, उनले भने । ‘तत्कालै प्रदेश सरकार भने फेरबदल हुदैन ।’

























