कन्चनपुर, १० साउन । निर्मला पन्तको बलात्कारपछि हत्या भएको शनिबार दुई वर्ष पुगेको छ। निर्मलाका हत्यारा पत्ता लगाउन सडकदेखि सदनसम्म आवाज उठ्यो। सायदै सबैभन्दा बढी छानबिन समिति गठन गरेर अनुसन्धान भए। तर दुई वर्षसम्म घटना रहस्यमै छ।
घटनाको दुई वर्षसम्म हत्यारा पत्ता नलागेपछि निर्मलाका आमाबुवाले न्याय पाउने आश गुमेको बताएका छन्। ‘छोरीको हत्या भएको पनि दुई वर्ष पुगिसक्यो,’ निर्मलाकी आमा दुर्गादेवीले भनिन्, ‘अझै न्याय पाउन सकिएको छैन।’ निर्मलाको न्यायका लागि देशदुनियाँ लडेको बताउँदै उनले भनिन्, ‘न्यायका लागि सबैले आवाज उठाए तर पनि प्रहरीले अपराधीलाई समात्न सकेन।’
न्यायका लागि आवाज उठाउँदा मानिसको ज्यानसमेत गएको बताउँदै निर्मलाका बुवा यज्ञराजले भने, ‘म त न्याय माग्दामाग्दै थाकिसकें।’ उनले उल्टै प्रश्न गरे, ‘सरकारसँग सोधिदिनुस्, न्याय दिन किन चासो नदेखाएको हो रु’ न्याय माग्न जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना बसेको बताउँदै उनले भने, ‘धर्ना बस्दाबस्दै म उल्टै बिरामी भएर बढी पीडित भएँ तर पनि न्याय पाइएन।’
प्रहरीले सिआइबीसमेत गरी विभिन्न छानबिन समिति बनाएर अनुसन्धान गरे पनि हत्यारा को हो भन्न टुंगो लगाउन अझै सकेको छैन। सुदूरपश्चिम प्रहरी प्रमुख उत्तम सुवेदीले विभिन्न पाटा र कोणबाट अनुसन्धान जारी राखेको बताए। ‘हामी अनुसन्धानकै क्रममा छौं,’ उनले भने, ‘अहिलेसम्म दोषी को हो भन्ने टुंगोमा पुग्न सकेका छैनौं। सबै उपाय अपनाएर तार्किक निष्कर्षमा पु¥याउन प्रयत्नरत छौँ।’ यो धेरै गिजोलिएको केस भएकाले अनुसन्धान जटिल भएको उनको भनाइ छ।
प्रहरीले निर्मलाको सुरुवाल पखालेको, लुगा जलाएर नष्ट गरेको, घटनास्थल सिल नगरी प्रमाण नष्ट हुन दिएको, फिंगर र फुट प्रिन्ट संकलन नगरेको, तालिमप्राप्त कुकुर परिचालन नगरेको कारण दोषी पत्ता लगाउने बलियो प्रमाण बाँकी छैन। एकमात्र आधार मानिएको निर्मलाको भेजिनल स्वाब पनि त्रुटिपूर्ण रहेको भनिएपछि दोषी पत्ता लगाउने ठोस प्रमाण खोज्न जटिल छ।
प्रहरीले निर्मलाको सुरुवाल पखालेको, लुगा जलाएर नष्ट गरेको, घटनास्थल सिल नगरी प्रमाण नष्ट हुन दिएको, फिंगर र फुट प्रिन्ट संकलन नगरेको, तालिमप्राप्त कुकुर परिचालन नगरेको कारण दोषी पत्ता लगाउने बलियो प्रमाण बाँकी छैन।
सुरुमा दिलीप बिष्टलाई निर्दोष भन्दै आएकी दुर्गादेवीले पछि उनै दिलीप दोषी भन्दै गत भदौमा किटानी उजुरी दिएकी थिइन्। तर बलियो प्रमाण नभएकाले प्रहरीले मानसिक सन्तुलन गुमाएका भनिएका दिलीपलाई दोस्रोपटक पक्राउ गर्न सकेको छैन। यसअघि दिलीपलाई फसाउन खोजेको भन्दै स्थानीयले आन्दोलन चर्काउँदा गोली चलेर एकजनाको ज्यान गएको थियो। डिएनए नमिलेपछि दिलीप रिहा भएका थिए। मानसिक सन्तुलन गुमाएका दिलीपलाई यातना दिएर प्रहरीले दोष सकार्न लगाएको भन्दै उपचारका लागि ३६ हजार रुपैयाँ क्षतिपूर्ति दिइएको थियो।
अन्य प्रमाण नभए पनि प्रहरीलाई दिएको भिडियोका आधारमा शंका लागेर दिलिपविरुद्ध किटानी जाहेरी दिएको दुर्गादेवीले बताइन्। ‘कोही पनि अपराधी पत्ता नलागेपछि गत भदौमा भिडियोमा भनेको कुराका आधारमा शंका लागेर दिलीप बिष्टविरुद्ध किटानी उजुरी दिएकी हुँ,’ दुर्गादेवीले भनिन्। यज्ञराजलगायत आफन्त तथा छिमेकी भने दिलीप दोषी हुन नसक्ने पुरानै अडानमा छन्। दुर्गादेवी प्रभावमा परेर धारणा बदलेको उनीहरुको आरोप छ। दुर्गादेवी भने आफू कसैको प्रभावमा नपरेको र न्यायका लागि मात्रै लडिरहेको बताउँछिन्। ‘हत्यारा को हो रु प्रमाणसहित पत्ता लगाइदिए विश्वस्त हुने थिएँ,’ उनले भनिन्।
यस्तो थियो घटना विवरण
२०७५ साउन १० गते बिहान १३ वर्षीया निर्मला साथी रोशनी बमको घरमा गइन्। उनी साँझसम्म घर नफर्केपछि आमा दुर्गादेवी रोशनीको घरमा पुगिन्। त्यहाँ पनि निर्मलालाई नभेटाएपछि उनले प्रहरी गुहारिन्। तर आलटाल गरेर प्रहरी राति खोजीमा जान मानेन। दोस्रो दिन बिहान ९११ गते० नजिकैको उखुबारीमा घोप्टो परेको अवस्थामा निर्मलाको शव फेला प¥यो। प्रहरीको पहिलो दिनकै व्यवहारबाट असन्तुष्ट स्थानीयले निर्मलाको शव फेला परेको साउन ११ गतेदेखि दोषीलाई पत्ता लगाउन माग गर्दै प्रदर्शन गरे। प्रहरीले घटनाको अनुसन्धानमा चासो नदिएको बुझेका आफन्तले निर्मलाको शव बुझ्न मानेनन्।
राजनीतिक दलको उपस्थितिमा प्रहरीले दोषी पत्ता लगाउने लिखित सहमति जनाएपछि चार दिनपछि साउन १४ गते निर्मलाका आफन्तले शव बुझेर दाहसंस्कार गरेका थिए। साउन ११ गतेदेखि सुरु भएर एक साता रोकिएको प्रदर्शन साउनको तेस्रो साताबाट पुनः सुरु भयो।
साउन १३ गते सिआइबीका डिएसपी अंगुर जिसी अनुसन्धान गर्न कञ्चनपुर आए। जिसीसहितको टोलीको अनुसन्धानका आधारमा मानसिक सन्तुलन गुमाएका भनिएका भीमदत्त नगरपालिका–१९ धर्मभक्त टोलका दिलीप बिष्टलाई प्रहरीले बलात्कारपछि हत्या गरेको भनेर भदौ ४ गते सार्वजनिक गरियो। सार्वजनिक गर्नुअघि दिलीपको घरमा नास्पाती किन्ने निहुँमा गएका प्रहरीले दिलीपको कमिजको गोजी च्यातेर उखुबारीमा फालेका थिए। दिलीपको घरबाट ल्याएको कमिजको गोजीको टुक्रा खोज्न भन्दै निर्मलाका बुबालाई शव फेला परेको उखुबारीमा लगियो। उखुबारीमा कमिजको टुक्रा फेला प¥यो भन्दै प्रहरीले मुचुल्का बनायो। तर उक्त मुचुल्कामा निर्मलाका बुबा यज्ञराजले हस्ताक्षर गर्न मानेनन्।
निर्दोषलाई दोषी करार गरेको भनेर स्थानीयले आन्दोलन चर्काउँदा भदौ ७ र ८ गते महेन्द्रनगरमा गोली चलेको थियो। प्रहरीको गोलीले शनी खुनाको ज्यान गयो भने कयौ घाइते भए। निर्मलाको भेजिनल स्वाबमा फेला परेको शुक्रकीटको अवशेषको प्रोफाइलसँग डिएनए रिपोर्ट मेल नखाएपछि दिलीप रिहा भएका थिए।
भदौ ७ गते सरकारले तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी डिल्ली बिष्ट, डिएसपी ज्ञानबहादुर सेठी र प्रमुख जिल्ला अधिकारी कुमार खड्कालाई फिर्ता बोलाएर नयाँ टिम खटायो। गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा भदौ ७ गते गठन गरेको उच्चस्तरीय छानबिन समितिले घटनाबारे एक महिना अध्ययन गरेको थियो। समितिले तयार पारेको प्रतिवेदनमा प्रहरीले प्रमाण नष्ट गरेको, गोली चलाउनुपर्ने अवस्था नहुँदा पनि गोली चलाएको उल्लेख गरियो। प्रहरीले एआइजी धीरु बस्न्यातको संयोजकत्वमा प्रमाण नष्ट गर्नुको कारणसहित अध्ययन गर्न विस्तृत छानबिन टोली गठन गरेको थियो।
उक्त टोलीको प्रतिवेदनअनुसार तत्कालीन प्रहरी उपरीक्षक दिल्ली बिष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई भविष्यमा अयोग्य नहुनेगरी बर्खास्त गरियो भने डिएसपी अंगुर जिसी र ज्ञानबहादुर सेठी लगायत ६ जना प्रहरीलाई निलम्बन गरिएको थियो। त्यसपछि प्रमाण नष्ट गरेको भन्दै आठजना प्रहरीविरुद्ध निर्मलाकी आमा दुर्गादेवीले उजुरी हालिन्। दिलीपका दाजु खड्क बिष्टले भाइलाई यातना दिएको भन्दै चारजना प्रहरीविरुद्ध उजुरी दिए। फौजदारी अपराध संहिताअनुसार प्रमाण नष्ट गरेको अभियोग लागेका आठजनालाई जिल्ला अदालत कञ्चनपुरले धरौटीमा रिहा ग¥यो। यातना दिएको अभियोग लागेका चारजना प्रहरी पनि धरौटीमै रिहा भए। पछि तत्कालीन आइजिपी सर्वेन्द्र खनालले एआइजी धीरु बस्न्यातको प्रतिवेदन खारेज गर्दै डिआइजी सुरज केसीको संयोजकत्वमा नयाँ छानबिन समिति गठन गरे।
दिलीप बिष्टपछि पक्राउ परेका प्रदीप रावल र विशाल चौधरीले पनि पत्यारिलो घटना विवरण प्रस्तुत गर्दै आफूले हत्या गरेको प्रहरीलाई बयान दिएका थिए। त्यही बेला उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलले निर्मलाको हत्यारा पत्ता लागिसकेको सार्वजनिक रुपमा घोषणा गरेका थिए। पछि प्रदीप र विशालले पनि आफूहरुलाई प्रहरीले यातना दिएर घटना सकार्न लगाएको बताएका थिए।
न्यायका लागि निर्मलाका आमाबुवा तथा आफन्त २०७५ कात्तिक २५ गतेदेखि फागुन १० गतेसम्म जिल्ला प्रशासन कार्यालय कञ्चनपुरअगाडि धर्ना बसेका थिए। धर्नाकै क्रममा बुवा यज्ञराजमा मानसिक समस्या देखिएको थियो।
निर्मला हत्याको दुई वर्ष बित्यो, न्यायका लागि केके गर्नुभयो ?
निर्मलाको हत्या भएको साउन १० गते दुई वर्ष पुगिसक्यो। निर्मलाका परिवारलाई न्याय दिनुपर्छ भनेर सारा संसार आन्दोलनमा उत्रियो। सबैले आवाज उठाए। उनीहरुसँगै हामी पनि आन्दोलनमा होमियौं। निर्मलाको न्यायकै लागि एकजनाले ज्यान गुमाए। कयौं घाइते भए। हामी चार महिनाजति जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना बस्यौं, कयौंपटक काठमाडौं धायौं, जिल्ला प्रहरी कार्यालय त दिनहुँजसो पुग्यौं। तर पनि अहिलेसम्म न्याय पाइएन।
न्याय कहिले पाइएला जस्तो लाग्छ ?
खै, न्याय पाइएला जस्तो लाग्ने छाडिसक्यो। आशै मरिसक्यो। यत्रो आन्दोलन भयो। अहिलेसम्म केही भएन। अब भगवान्को इच्छाले न्याय पाइयो भने अलग कुरा हो। यस्तै रहेमा न्याय पाइएला जस्तो लाग्दैन। मदन भण्डारीको हत्यारा पनि पत्ता लागेको छैन। निर्मलाको हत्यारा पत्ता लाग्यो भने गरिबहरु मिलेर न्याय दिलाउन सके भन्ने उदाहरण होला।
न्याय नपाउनुको कारण के होला ?
म गरिब भएँ। मेरो पक्षमा ठूला मान्छे कोही भएन। धनीमानी र पहुँच भएको भए मैले उहिल्यै न्याय पाउँथे होला। तर गरिब भएका कारण अहिलेसम्म न्याय पाउन सकेको छैन। तर पनि प्रहरीले सत्य पत्ता लगाउनुपथ्र्यो, त्यो गरिदिएन। सुरुदेखि नै लापरबाही भयो।
दिलीप बिष्टको नाममा किटानी उजुरी दिनुभएको छ। के बिष्ट नै दोषी हुन् त ?
मलाई कसैमाथि शंका लाग्दैन। अनुसन्धान गर्ने काम प्रहरीको हो। अहिलेसम्म कोही पनि अपराधी पत्ता नलाग्नु र भिडियोमा दिलीपले बोलेका कुराहरु हेर्दा उहीजस्तो लागेर किटानी उजुरी दिएकी हुँ। मैले किटानी उजुरी दियो भने पत्ता लगाउन सजिलो होला भन्ने सोचेकी थिएँ। तर प्रहरीले ११ महिनासम्म किटानी उजुरी दिएको मान्छेलाई समात्न सकेको छैन। सुरुमा दिलिप हुन सक्दैन भनेर मैले भनेकै हो। तर प्रहरीले खोज्दाखोज्दा कोही पनि पत्ता नलागेपछि कतै त्यही हो कि भनेर शंका त लागिहाल्छ नि १ केही दिनअघि प्रहरी मेरो घरमा आएर अरु कोकोमाथि शंका छ भनेर सोधपुछ गरे। मलाई त अपराधी चाहिएको हो। प्रहरीले प्रमाणसहित पत्ता लगाई यो हो भन्यो भने म न्याय पाएको मान्थें। मलाई दिलीप बिष्ट वा कुनै मन्त्रीको छोरा चाहिएको होइन, अपराधी चाहिएको हो।दिलबहादुर छत्याल र पुष्पराज जोशीले नागरीक दैनिकमा लेखेका छन ।