काठमाडौं । कोरोना भाइरस संक्रमण तीव्र गतिमा बढ्दै जाँदा कर्मचारीहरू संक्रमित हुन थालेपछि सार्वजनिक सेवा प्रवाहमा आंशिक रूपमा समस्या देखिन थालेको छ भने कतिपय कार्यालयमा आलोपालो गरेर सेवा प्रवाह सुचारु गरिएको छ ।



सरकारी कार्यालयका साथै निजीक्षेत्रका संस्थाहरूमा समेत कर्मचारीहरू धमाधम संक्रमित हुन थालेपछि विभिन्न विकल्पका साथ सेवा सञ्चालन गरिएको छ ।
कोरोनाको हटस्पट बन्दै गएको काठमाडौं उपत्यका ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक केही सेवाबाहेक अरू सबै सेवा बन्द गरेको सूचना सार्वजनिक गरेका छन् । शान्तिसुरक्षालगायत केही क्षेत्रबाहेक अन्य सेवा प्रवाह बन्द गरिएका छन् । यद्यपि सरकारी कार्यालयका कर्मचारीहरू कति संक्रमित भएका छन् भन्ने यकिन तथ्यांक भने पाइँदैन ।
बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीमा कोरोना संक्रमणको दर बढी देखिएको छ । नियामक निकायदेखि बैंकका प्रमुख कार्यकारीसम्म कोरोनाबाट संक्रमित भएका छन् ।
राष्ट्र बैंकका १०४ जना कर्मचारी कोरोना संक्रमित
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठदेखि कर्मचारीसम्म गरेर कात्तिक ३ गतेसम्म १ सय ४ जना कोरोनाबाट संक्रमित भइसकेका छन् । यति धेरै कर्मचारी संक्रमित हुँदा आलोपालो गरेकाले नियमित काममा अवरोध नभए पनि कतिपय काम भने प्रभावित भएको राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्ट बताउँछन् ।
कोभिड परीक्षण सकारात्मक देखिएपछि आईसोलेशनमा बसेर अहिले डेपुटी गभर्नर श्रेष्ठसहित ८४ जना कर्मचारी संक्रमण मुक्त भइसकेका छन् । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमेत दुई पटकसम्म कन्ट्र्याक्ट ट्रेसिङमा परेकाले सतर्कता अपनाएका थिए । सम्पत्ति तथा सेवा व्यवस्थापन विभागका कार्यकारी निर्देशक सुमन अधिकारीका अनुसार संक्रमित कर्मचारीमध्ये ६२ जना सक्रिय संक्रमित रहेको र कुल संक्रमितमध्ये ९४ जना घरपरिवारलाई समेत कोरोना पोजेटिभ देखिएको थियो ।
‘कर्मचारी संक्रमित भएपछि कार्यालय सञ्चालनको नियमित काम सुचारु गर्ने अधिकार सम्बद्ध विभागीय प्रमुखलाई दिएको छ ।
विभागका अनुसार कसैले १ दिन बिराएर, कसैले ३ दिन बिराएर र बैंकिङ सुपरिवेक्षण विभागले ७ दिन बिराएर पालैपालो कार्यालयमा उपस्थित हुने र कार्यालय नआएको दिन घरबाट काम गर्ने व्यवस्था मिलाएका छन्,’ उनले भने । कोभिड शुरू भएदेखि बैंक सुपरभिजनले स्थलगत सुपरिवेक्षणमा नखटाएको र बैंकहरूबाट उपलब्ध तथ्यांकको आधारमा सुपरिवेक्षण गरिरहेको अधिकारीले बताए ।
अर्थ मन्त्रालय मातहतका सेवा निरन्तर
आन्तरिक राजस्व विभाग र सो मातहतका कार्यालयमा कार्यरत कर्मचारीहरूमा कोरोना देखिए पनि सेवा प्रवाह नै रोकिने अवस्था आएको छैन । राजस्व विभागका अनुगमन तथा मूल्यांकन विभागका प्रमुख दुर्गादत्त भण्डारीका अनुसार करीब १० जना विभागमा कार्यरत कर्मचारीमा कोभिड देखिएको छ भने नेपालगञ्ज भन्सार र भैरहवा भन्सारमा कार्यरत केही कर्मचारीमा समेत कोरोना देखिएको छ । लक्षण देखिँदा कार्यालयहरूमा सेवा प्रवाह नरोकिने गरी कार्यतालिका बनाउन कार्यालय प्रमुखहरूलाई विभागले आग्रह गरिसकेको उनको भनाइ छ । उनका अनुसार राजस्वसम्बन्धी धेरैजसो काम अहिले अनलाइन प्रणालीबाटै हुने भएकाले सेवा प्रवाह नै रोकिने अवस्था भने छैन ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार अहिलेसम्म करीब पाँच जना कर्मचारीमा कोरोना देखिएको छ । सहमहालेखा नियन्त्रक ज्ञानेन्द्र पौडेलका अनुसार वैकल्पिक उपाय अपनाएर सेवा प्रवाह यथावत् राखिएको छ ।
राष्ट्रिय योजना आयोगका केही सदस्यमा संक्रमण देखिएको छ । आयोगका अधिकारीहरूका अनुसार कोभिडबाट केही संक्रमति भए पनि सेवा प्रवाह नै रोकिने अवस्था आएको छैन ।
भौतिक पूर्वाधार मन्त्रालयको काम प्रभावित
कोरोना भाइरसको संक्रमणका कारण पूर्वाधार निर्माणका मुख्य अड्डा मानिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागजस्ता कार्यालयहरू पनि प्रभावित भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई सोमवार मात्रै कोरोना भाइरस भएको पुष्टि भएको छ । मन्त्रीसँग नियमित सम्पर्कमा रहेका सचिवालय अधिकारीको रिपोर्ट आउन बाँकी रहेको मन्त्रीका स्वकीय सचिव गणेश योङहाङले जानकारी दिए ।
सडक विभागका प्रवक्ता शिवहरि सापकोटाका अनुसार कोरोनाबाट विभागका १२ जना, डिभिजन कार्यालय पोखरामा ८ जना, मध्यपहाडी लोकमार्गका ६ जनाका साथै अन्य डिभिजन तथा आयोजनाहरूका कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ ।
यसबाट कार्यालयको नियमित काम र साइटमा गर्नुपर्ने कामहरू प्रभावित भएको सापकोटाको भनाइ छ । कोरोना संक्रमण दर बढेसँगै विभाग तथा कार्यालयहरूमा आलोपालो कर्मचारीहरू आउने र कतिपय अवस्थामा घरबाट नै गर्ने गरिएको छ ।
निर्माण उद्योगमा सामान्य प्रभाव
कसमस सिमेन्टका कार्यकारी निर्देशक धु्रव थापाले भने कोरोना संक्रमणको डर भएको हुुँदा उच्च तहका कर्मचारीहरू कम मात्रामा आउने गरेको बताउँछन् । नेपाल सिमेन्ट उत्पादक सघका अध्यक्षसमेत रहेका थापाले सरकारी कार्यालयहरू राम्ररी नखुल्दा सेवा लिन समस्या भएको छ ।
अग्नि सिमेन्टका प्रबन्ध निर्देशक ताराप्रसाद पोखरलले भने कोरोना संक्रमणका कारण सेवा प्रवाहमा खासै फरक नपरेको बताउँछन् । यद्यपि मुख्य कार्यालय काठमाडौंमा मार्केटिङका १ जना कर्मचारीमा हालै कोरोनाको आशंका गरिएको उनको भनाइ छ । मुख्य कार्यालयमा हाल ६० जना कार्यरत रहेका छन् भने प्mयाक्ट्री साइटमा भने ३०० जना कार्यरत रहेको भए पनि संक्रमण नदेखिएकाले सेवा प्रवाहमा खासै समस्या छैन ।
विराटनगरमा दैनिक कार्यमा बाधा
विराटनगर संवाददाताका अनुसार स्थानीय तह र बैंकका कर्मचारीहरू कोरोना संक्रमणको शिकार हुन थालेपछि दैनिक काममा बाधा हुन थालेको छ, जसका कारण सेवाग्राहीले सेवा लिन सकेका छैनन् ।
साताअघि राष्ट्रिय वाणिज्य बैंकको बरगाछी शाखाको क्यास काउन्टरमा काम गर्ने कर्मचारीलाई कोरोना संक्रमण भएपछि ७ दिन कार्यालय बन्द भयो । शुक्रवारबाट कर्जा शाखा मात्रै खोलेर सीमित मानिसलाई मात्र प्रवेश दिइयो ।
बैंकका सहायक प्रबन्धक नन्दकिशोर अधिकारीका अनुसार सुरक्षा गार्डदेखि अन्य कर्मचारी गरी ७० प्रतिशतमा कोरोना संक्रमण देखिएपछि ३० प्रतिशत कर्मचारीले मात्र काम गरिरहेका छन् । इटहरीको एनएमबी बैंकका काउन्टरमा बस्ने कर्मचारीलाई नै संक्रमण भएपछि ४ दिन बैंकको सम्पूर्ण सेवा अवरुद्ध हुन पुुग्यो ।
कार्यालय निर्मलीकरण गरेपछि अन्य शाखाबाट कर्मचारी झिकाएर शाखा सञ्चालन गरिएको प्रबन्धक दीपक उप्रेतीले बताए । विराटनगर महानगरपालिकाका विभिन्न वडाका वडाध्यक्षदेखि कर्मचारीसमेतलाई कोरोना संक्रमण भएपछि ७ दिनसम्म वडाका सबै काम स्थगित गरियो ।
महानगरको वडा नम्बर ४ का वडाध्यक्ष देवेन्द्र पोखरेलसहित चार जना संक्रमित भएपछि कार्यालयको सेवा ७ दिन अवरुद्ध भयो । ७ दिनपछि कार्यालय सञ्चालनमा आयो । यसबीच नागरिकतालगायत सिफारिश रोकिए । ७ दिनपछि कार्यालयका काम आंशिक रूपमा हुन थालेको छ ।

























