घटना १ : होम आइसोलेसनमा बसेका काठमाडौं-१ नक्सालका ८९ वर्षीया महिलाको मंगलबार निधन भयो । १३ भदौमा संक्रमण पुष्टि भएका उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए ।



घटना २ : भदौ १४ गते होम आइसोलेसनमै बसेका बेला भक्तपुर-१ का ६५ वर्षीय पुरुषको मृत्यु भयो । उनी उच्च रक्तचाप र मधुमेहका बिरामी थिए, हात काम्ने समस्या कारण आफैं खाना खान नसक्ने भएकाले परिवारका सदस्यहरुले उनलाई होम आइसोलेसनमा राखेका थिए । राति सकुशल सुतेका उनी बिहान उठ्दा मृत भेटिए ।
यो पनि पढ्नुस्
घटना ४ : भदौ ५ मा होम आइसोलेसनमा बसेका बिराटनगर-६, मोरङका ४५ वर्षीय पुरुषको मृत्यु भयो । एक त मधुमेहका विरामी, त्यसमाथि ११ दिन आईसीयूमा बसेर फर्किएका उनलाई कोरोना संक्रमण भएको थियो । आइसोलेसनमा बस्दा स्वास्थ्य गम्भीर भएपछि अस्पताल लैजान एम्बुलेन्स पर्खिँदा पर्खिँदै उनको मृत्यु भयो ।
माथिका चारजना होम आइसोलेसनमा बस्दा ज्यान गुमाएका संक्रमित हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार बुधबारसम्म ७ हजार १५६ संक्रमित होम आइसोलेसनमा छन् । तथ्यांकहरुले के देखाउँछ भने संक्रमितको संख्या जसरी बढेको छ, त्यसरी नै होम आइसोलेसनमा बस्नेहरुको संख्या पनि बढिरहेको छ । किनकि, सरकारले नै लक्षण भएकाहरुलाई मात्रै अस्पताल भर्ना गर्ने नीति लिएको छ ।
अस्पतालमा भर्ना नलिने भएपछि लक्षण नभएकाहरु होम वा सामुदायिक आइसोलेसनमा बस्नुबाहेक अरु विकल्प छैन । तर, उनीहरुलाई कोरोनाले झुक्याउने गरेको छ । र, उनीहरुलाई अस्पताल पुर्याउँदा ढीलो भइसकेको हुन्छ ।
होम आइसोलेसनमा बस्नका लागि पर्याप्त प्रकाश आउने र हावा खेल्ने कोठा, छुट्टै शौचालय हुनुपर्ने लगायतका १४ वटा मापदण्ड तोकिएका छन् । र, आइसोलेसन सेन्टरहरु अस्पतालको पहुँचबाट टाढा हुनुहुँदैन ।
स्थानीय तहका नर्स वा प्यारामेडिक्सले दैनिक कम्तिमा दुई पटक फोन वा एसएमएसबाट होम आइसोलेसनमा बसेका संक्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुपर्छ र अभिलेख राख्नुपर्छ । होम आइसोलेसनमा बसेका एकजना संक्रमितको अनुगमन गरेवापत स्वास्थ्यकर्मीहरुलाई २०० रुपैयाँ भत्तासमेत तोकिएको छ ।
जनस्वास्थ्य विज्ञहरुका अनुसार सरकारले बनाएको यो मापदण्ड विश्वस्तरको छ । तर, यो कागजमै सीमित हुँदा ओम आइसोेसनले समस्या ल्याउने खतरा बढेको छ । यहाँ चर्चा गरिएका चारजनाको मृत्युले पनि त्यही संकेत गर्छ ।
उपत्यकाको कोभिड अस्पतालमा कार्यरत एक चिकित्सक भन्छन्, ‘हामीले बेलैमा ध्यान पुर्याएनौं भने होम आइसोलेसनमा बसेकाहरुले अरुलाई भाइरस सार्ने मात्र होइन, ज्यानै गुमाउने खतरा पनि छ ।’
त्यसलाई पुष्टि गर्न ती चिकित्सकले तीनवटा तर्क दिए-
पहिलो- लक्षण नभएका मात्र होइन, लक्षण भएका संक्रमितहरु पनि होम आइसोलेसनमै छन् । सर्वाधिक जोखिम समूहमा पर्ने वृद्धवृद्धा र दीर्घरोगीहरु पनि अस्पताल आउनुको साटो होम आइसोलेसनमै छन् ।
दोस्रो- होम आइसोलेसनमा बसेकाहरुलाई कुनैबेला स्वास्थ्यमा समस्या आइहाल्यो भने अस्पतालसम्म पुर्याउन सहज संयन्त्रको अभाव छ ।
र, तेस्रो- कोरोनाको संक्रमण जति छ, त्यो भन्दा डर भएकाले धेरैजना आत्तिएका छन् । तर उनीहरुलाई उचित परामर्श दिन सकिएको छैन ।
होम आइसोेलेसनमा रहँदा मुत्युु भएका चारवटा केसमा माथि भनिएको जस्तै दुई समानता छ ।
पहिलो- होम आइसोलेसनमा बस्दा मृत्यु भएकाहरुमा कुनै न कुनै दीर्घरोग थियो ।
दोस्रो- चारमध्ये दुईजनालाई स्वास्थ्यमा समस्या आएपछि समयमै अस्पताल पुर्याउन सकिएन ।
यसो हुनुको कारण सरकार आफैंले बनाएको मापदण्ड आफैंले लागू गर्न नसक्नु हो । किनकि, होम आइसोलेसनमा बसेका संक्रमितहरुको स्वास्थ्य अवस्थाबारे दिनमा दुईपटक जानकारी लिनुपर्ने निर्णय कागजमै सीमित छ ।
होम आइसोलेसनमा बसेकाहरुलाई सुरुमा एकपटक फोन गर्ने र ‘गाह्रो भयो भने यो नम्बरमा खबर गर्नुस् है’ भनेर टिपाउनसमेत गाह्रो हुन थालेको काठमाडौं महानगरपालिकाका एक स्वास्थ्य अधिकारीले सुनाउँछन् । ‘संक्रमितको कट्याक ट्रेसिङदेखि होम आइसोलेसनसम्म सबै काम हाम्रो जिम्मामा छोडिएको छ’ उनी भन्छन्, ‘त्यसैले सकेसम्म होम आइसोलेसनमा बसेकालाई एकपटक फोन गरेर परामर्श दिने र स्वास्थ्यमा समस्या भयो भने सम्पर्क गर्नुस् है भनेर छोड्ने गरेका छौं ।’
तर, कुनै संक्रमितलाई होम आइसोलेसनमा बस्दा गाह्रो भयो भने अस्पताल पुर्याउन सहज नभएको उनले बताए । उनका अनुसार जब संक्रमित वा परिवारका सदस्यले अस्पताल लैजान खबर गर्छन्, त्यसपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई खबर गर्नुपर्छ । मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइले कुन अस्पतालमा बेड खाली छ भनेर सोधीखोजी गर्छ ।
धेरै अस्पतालमा बेड पाउन मुस्किल छ । यदि भेटियो भने बल्ल बिरामीको परिवारलाई खबर गर्छ । तर, संक्रमितलाई परिवारका सदस्य आफैंले अस्पताल लैजान मिल्दैन, मन्त्रालयले पठाएको एम्बुलेन्स आउनुपर्छ । यो सबै प्रक्रिया द्रुत गतिमा पूरा गर्दा पनि डेढ/दुई घण्टा बितिसक्छ । र, यो अवधिमा केहीको मृत्यु पनि हुन सक्छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा कोरोना संक्रमितको उपचार गरिरहेका डाक्टर अनुप बास्तोलाका अनुसार कुनै पनि संक्रमितको अकस्मात मृत्यु हुँदैन । सुरुमा लक्षण देखिएको छैन भने पनि राति सुत्नेबेलामा सास फेर्न गारो हुने, लगातार खोकी लाग्ने र उच्च ज्वरो आउने समस्या देखिन्छ । यस्ता लक्षण देखिनासाथ अस्पताल पुगे अधिकांश संक्रमितलाई बचाउन सकिन्छ ।
‘अस्पतालहरुमा बेड अभाव भएका कारण होम आइसोलेसनको विकल्प छैन । तर, होम आइसोलेसनमा बस्दा केयर गिभरले राम्रो निगरानी गर्नुपर्छ’ अस्पतालका प्रवक्ता डाक्टर बास्तोला भन्छन्, ‘उनीहरुलाई समयमै अस्पताल ल्याउन सकियो भने बचाउन सकिन्छ ।’
त्योभन्दा पनि महत्वपूर्ण, लक्षण देखिएको छैन भने पनि ६० वर्षभन्दा बढी उमेर पुगेका, दीर्घरोगी र मोटोपन भएकाहरु अस्पतालमा भर्ना हुँदा राम्रो हुन्छ । किनकि, उनीहरुलाई सुरुमा लक्षण देखिएको छैन भने पनि संक्रमण भएको केही समस्यामा देखिन सक्छ ।

























