काठमाडौं । नक्कली शरणार्थी प्रकरणको अनुसन्धान चलिरहेका बेला सामाजिक सञ्जालमार्फत सार्वजनिक कांग्रेस नेतृहरु जोडिएको अडियो प्रहरीले अनुसन्धानको सुरुवातकै बेला प्राप्त गरेको खुलेको छ ।



पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा र पूर्वगृहमन्त्री बालकृष्ण खाँण पत्नी मञ्जु खाँणलाई रकम बुझाएको भन्दै सार्वजनिक अडियो प्रहरीलाई पीडितले अनुसन्धानका क्रममा पहिल्यै बुझाएको पाइएको हो ।
‘अरु व्यक्तिहरुले कुराकानी गरेको विषय अनुसन्धानको एउटा पाटो भएपनि प्रमाण हुँदैन’, कार्कीले भने, ‘त्यसैले अरु परिस्थितिजन्य विषयहरु हेरिरहेका छौं ।’ हालसम्म त्यो अडियोमा भनिएको दाबी पुष्टि हुने ठोस आधार फेला नपरेको प्रहरी अधिकृतहरु बताउँछन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले १९ वैशाखमा रामबहादुर थापा बादल गृहमन्त्री हुँदा उनका सुरक्षा सल्लाहकार रहेको डा. इन्द्रजित राईलाई पक्राउ गरेको थियो । यसको भोलिपल्ट २० वैशाखमा गृह मन्त्रालयका पूर्वसचिव एवं उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका थिए ।
पाण्डेले दिएको बयान, गिरोहलाई सहयोग पुग्ने गरी नीतिगत निर्णयहरु गराएको र मन्त्रालयमा पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदन गायब बनाएको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पनि बुधबार पक्राउ परिसकेका छन् । उनीसँगै खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
यो प्रकरणमा संलग्न पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझी फरार छन् । उनका छोरा सन्दीप पक्राउ परिसकेका छन् । सन्दीपले ठगी गर्ने गिरोहबाट डेढ करोड रुपैयाँ बराबरको चेक लिएको भेटिएको प्रहरीले जनाएको छ ।
पूर्वगृहमन्त्री बादलका छोरा प्रतिक थापा, सल्लाहकार राईका छोरा निरजलगायतविरुद्ध समेत प्रहरीले पक्राउ पूर्जी लिएको छ । प्रकरणका थप केही कांग्रेस नेतृहरुको नाम पनि जोडिएको छ । यद्यपि, हालसम्म ठोस प्रमाण फेला नपरेको प्रहरी बताउँछ ।

























