काठमाडौं – हत्या अभियोगमा फरार रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बनमा परेका छन् । संसद् सचिवालय स्रोतका अनुसार कोइरी निलम्बनमा परेका हुन् । प्रहरीले फरार रहेको पत्र पठाएपछि सभामुख देवराज घिमिरेले कोइरीलाई निलम्बन गरेका हुन् ।



महोत्तरीमा ७ वर्षअघि कोइरीले प्रहरीका सई थमन विकको हत्या आरोपमा जनकपुर उच्च अदालतले पक्राउ गर्न आदेश दिएको थियो । प्रहरीले उच्च अदालतको फैसला कार्यान्वयनमा सहयोग गर्न भन्दै कोइरी फरार रहेको जानकारी गत पुस ७ मा संसद् सचिवालयलाई पत्र दिएको थियो ।
प्रतिनिधिसभा नियमावली बनेपछि फरार रहेको जानकारी आधिकारिक निकायबाट नआएकाले कोइरीलाई निलम्बनमा नपरेको सभामुख घिमिरेले बताएपछि आइतबार प्रहरीले पुनस् पत्र पठाएको थियो ।
जानकारी नदिई प्रतिनिधिसभा बैठकमा लगातार १० पटक अनुपस्थित भए सांसद पद खारेज हुने संवैधानिक व्यवस्था छ । उक्त कारबाही छल्न कोइरीले आफू बिरामी रहेको जानकारी इमेलमार्फत संसद् सचिवालयलाई दिँदै आएका थिए। उनी प्रतिनिधिसभाका २६ बैठकमा लगातार अनुपस्थित भइसकेका थिए ।

























