२०८३ बैशाख २३ बुधबार
२०८३ बैशाख २३ बुधबार

उडिरहेको विमानमा जब यात्रुले कुटाकुट गरे

काठमाडौँ — बुद्ध एयरको एटीआर विमान बुधबार दिउँसो साढे ४ बजे विराटनगर विमानस्थलबाट ७० यात्रु बोकेर काठमाडौंका लागि उडेपछि क्लाइम्ब (चढाइ) मा थियो । विराटनगर विमानस्थलबाट करिब २४ किलोमिटर दूरीमा उडिरहेको जहाज स्थिर उचाइ (क्रुज) मा पुगिसकेको थिएन ।

यात्रुको ध्यान एकाएक मध्यभागमा एकै सिटमा बसिरहेका दुई यात्रुतर्फ मोडियो । सिट नम्बर ९ को ‘ए’ र ‘बी’ मा बसिरहेका दुर्गालाल श्रेष्ठ र विमलबाबु श्रेष्ठ कुटाकुट गर्न थालेका थिए । जहाज ‘क्रुज’ मा नपुगिसकेकाले यात्रु तथा क्याबिन क्रुलाई सिट बेल्ट खोलेर हिँडडुल गर्न चालकदलले अनुमति दिएको थिएन । दुई यात्रुले झगडा गरेको देखेपछि परिचारिकाले चालकदललाई खबर गरिन् । यात्रुहरू झगडाको भिडियो खिच्न थाले । केही उनीहरूलाई सम्झाउन थाले तर मानेनन् । सिट बेल्ट नै खोलेर हानाहान गरेको भिडियो बिहीबार सञ्जालमा भाइरल बनेको छ ।

बुद्ध एयरको ७१० उडान नम्बरको विमानका क्याप्टेन मणिराज श्रेष्ठले विराटनगर विमानस्थललाई आफ्नो जहाजभित्र भइरहेको घटनाबारे जानकारी दिए । जहाजभित्रको झगडाले अरूलाई असर पर्न सक्ने वा जहाजको भित्री भागमा क्षति हुन सक्ने जनाउँदै चालकदलले विराटनगर विमानस्थलमै फर्किन एटीसीलाई जानकारी गराए । त्यहाँबाट विराटनगर अवतरण गर्न करिब ५ मिनेट लाग्थ्यो । त्यसपछि पाइलटले उदयपुरतर्फको चुरे पहाडमाथि नगई जहाजलाई विराटनगरतर्फ फर्काउँदै थिए । फेरि क्याबिनबाट परिचारिकाले इन्टरकममा कल गरिन् र भनिन्, ‘सर दुवै जना अहिले मिले । झगडा बन्द भयो ।’

उनले बोर्डमा बसेका यात्रुको समन्वयले दुई जनाको झगडा मिलेको बताएपछि चालकदलले जहाजलाई काठमाडौंतर्फ अघि बढाउने निधो गरे । बुद्धको अल्फा जुलियट एक्सरे दर्ता नम्बर रहेको उक्त जहाज काठमाडौं विमानस्थलको एरिया कन्ट्रोल टावरको सम्पर्कमा जोडिइनसकेकाले पाइलटले विराटनगर टावरलाई काठमाडौं टावरमा सम्पर्क गरेर विमानस्थलमा प्रहरी तैनाथ गराइदिन भने । ३५ मिनेटपछि जहाज काठमाडौं अवतरण भयो । जहाजको ढोकामै पुगेको विमानस्थल प्रहरीले दुवै यात्रुलाई नियन्त्रणमा लिई बुधबार साँझ गौशाला प्रहरीको हिरासत कक्षमा पठाइदियो ।

न्यौपाने विनय नामको अकाउन्टबाट टिकटक पोस्ट गर्ने यात्रुले जहाजमा झगडा सुरु भएपछि परिचारिकासमक्ष गई पहिलो पटक जानकारी गराएको अनि यात्रुले नै मिलेर उनीहरूलाई सम्झाइबुझाइ गरेको भनेका छन् । टिकटकमा उनले झगडा गर्नेमध्येका एक यात्रुलाई आफ्नो सिटमा राखेर विवाद सामान्य पारेको बताएका छन् । न्यौपानेका अनुसार गोरखा घर भएका ती दुवै आफन्त हुन् ।

उनीहरूबीच लेनदेनको कारोबारमा झगडा भएको थियो । बिहीबार गौशाला प्रहरीले दुईमध्ये दुर्गालाल श्रेष्ठलाई ललितपुर प्रहरी परिसरमा पठाइदिएको छ भने विमलबाबु श्रेष्ठलाई तारिखमा छाडेको गौशालाका डीएसपी सञ्जीवबाबु खड्काले बताए ।

ललितपुर प्रहरी प्रमुख सिद्धिविक्रम शाहका अनुसार गौशालाबाट झिकाइएका दुर्गालाई १० लाख रुपैयाँ चेक बाउन्सको उजुरीमा थुनामा राखिएको छ । उता जहाजमा शान्ति सुरक्षा खलल पारेको अभियोगमा प्रहरीले उनीहरूलाई सार्वजनिक मुद्दा लगाउन सक्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । ‘जहाजमा क्षति पुर्‍याएको भए बुद्धले प्रहरीमा जाहेरी दिन सक्छ,’ प्राधिकरणमा सुरक्षा हेर्ने एक अधिकारीले भने, ‘जहाजमा कुनै क्षति नभएको भए उनीहरूलाई स्थानीय प्रशासनले सार्वजनिक स्थानमा शान्ति सुरक्षामा खलल पुर्‍याएको अभियोगमा कारबाही गर्न सक्छ ।’

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।