आन्तरिक राजस्व विभागको कर्मचारी भन्दै रकम असुल गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।



काठमाडौंको गोंगबु बसपार्क क्षेत्रका होटेल तथा रेस्टुरेन्टमा राजस्व अनुगमनको लागि आएको र राजस्व छली गरेको पाइएको भन्दै नगद जरिवाना असुल गर्दै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । ुआन्तरिक राजस्व कार्यालयका कर्मचारी हौँु भन्दै उनीहरूले कर असुलीको नाममा ठगी र किर्ते काम गरेको पाइएकाले उनीहरूलाई पक्राउ गरिएको परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिए ।
पक्राउ पर्नेमा नवलपरासीका बिनबहादुर विक, पाँचथरकी सृजना भट्टराई, अछामका सागरजंग लुहार , र दुधकला विक, सिन्धुपाल्चोककी प्रमिशा तामाङ, त्यस्तै नुवाकोटकी अञ्जना तामाङ, कञ्चनपुरका राजीव विष्ट र डेविड धामी रहेका छन् । उनीहरूको साथबाट आन्तरिक राजस्व कार्यालयको परिचय पत्र, अनुगमन अधिकृत लेखिएको र हस्ताक्षरसहितको स्ट्याम्प १(१ थान, आन्तरिक राजस्व कार्यालयको लेटर प्याडका ठेलीहरू, राजस्व सम्बन्धी किताब, रसिद र ५ लाख ८ हजार ६ सय रुपैयाँ नगद बरामद गरिएको छ ।
उक्त घटनामा पक्राउ परेका उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद(२१ को २४९ को ठगी गर्न नहुने कसुर तथा परिच्छेद(२५ को २७६ को किर्ते गर्न नहुने कसुर मुद्दामा प्रहरीबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।
त्यस्तै हुन्डीको कारोबार गर्ने २ जनालाई पनि प्रहरीले पक्राउ गरी आजै सार्वजनिक गरेको छ । चेकजाँचका क्रममा रहेको प्रहरीको टोलीले काठमाडौंको गोकर्णेश्वर बाट ३४ लाख रुपैयाँ नगद सहित टोखा नगरपालिकाका जितेन्द्रकुरमा चौधरी, पोखराका विश्वकुमार गुरुङलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
निजको साथबाट प्रहरीले विभिन्न कम्पनीका मोबाइल ४ थान, नगद ३४ लाख, ९७ हजार रुपैयाँ, आईएमईबाट पैसा पठाएको रसिद बरामद गरेको प्रहरीले जनाएको छ ।

























