सम्बत २०२५ सालमा पश्चिम नेपालको बैतडी बझाङतिर बाढी पहीरोले थुप्रै धन, जन,पशु चौपायाको क्षति भएछ । राजा महेन्द्र बाढीपहिरो राहत(उद्धारका काम निरीक्षण गर्न बैतडी पुगे । सेनाको ब्यारेकभित्र बास बसेका राजा एक बिहान चार बजे नै मर्निङ् वाकका लागि पिएसओबिना ब्यारेक बाहिर निस्किए ।



राजा एक डेढ घण्टापछि मर्निङ् वाकबाट फर्किएर ब्यारेकमा पस्न खोज्दा गेटमा बसेको सेक्यूरिटी गार्डले ‘पासवर्ड’ माग्यो । राजाले जानी जानी ‘पासवर्ड’ थाहा छैन भनेर आफू ‘राजा महेन्द्र’ भएको परिचय दिएर ब्यारेकभित्र जान दिन अनुरोध गरे । गार्डले ‘म राजा महेन्द्र सहेन्द्र चिन्दिन, बिना पासवर्ड भित्र जाने अनुमति छैन’ भन्यो । गेटमा भैरहेको यो गलफत्ति एकजना सुबेदारले देखेछन् । सुबेदारले राजालाई चिनी हाले । ‘लौ बर्बाद भयो, सिपाहीले राजालाई रोक्यो’ भन्ने बुझेर सुबेदार कुदेर गेटमा पुगे । राजालाई सलाम गरेर आफुले मेजरबाट प्रबेश अनुमति ल्याउने ब्यहोरा जाहेर गरे । मेजरसंग गएर उनले गेटमा भएको बिवरण जाहेर गर्नासाथ मेजरको सातो गएर हस्याङ् फस्याङ् गर्दै गेटमा पुगेछन् । मेजरको आदेश पछि गार्डले बल्ल राजालाई भित्र जान दिएछ ।
राजा ब्यारेकबाहिर निस्कँदा बसेको गार्ड बदली भएर गुरुङ्ग थरको सिपाही गार्ड बसेको रहेछ । आठ बजेतिर राजाले चिया नास्ता खाईसके पछि मेजरसहित बिहान गेटमा बस्ने गार्डलाई बोलाउन पठाए । मेजरको फेरि सातो गएर अब चाहिँ आफ्नै जागीर नरहने पक्का ठानेछन् । राजाको अगाडि गोडा कमाउँदै खडा भएमा मेजर र त्यो गार्डको हालत चिन्ताजनक देखेर राजा मुसुक्क गर्दै गार्डको नाम थर घर सोधे रे । मेजरलाई आदेश दिंदै राजाले भनेछन् कि ‘सैनिक कानून अनुसार तिम्रो अधिकार भए तिमीले दिनु, नभए माथिल्लो निकायबाट यो सिपाहीको बढुवा पत्र आजै मगाउनु ।’
(यो कथ्य म आफु सुरक्षा निकायमा कार्यरत रहँदा सेनाकै अधिकृतबाट प्रशंगबस सुनेको हो)

























