नेकपा माओवादी केन्द्रले स्थानीयस्तरमै चुनावी घोषणा पत्र बनाउने भएको छ। पार्टी केन्द्रले गरेको अपिलका आधारमा स्थानीय आवश्यकता समेटेर चुनावी घोषणा पत्र बनाउने तयारी छ।
०७९ वैशाख ३० मा हुने स्थानीय चुनावका लागि माओवादीले पालिकास्तरकै कमिटीबाट घोषणा पत्र बनाउन लागेको हो
माओवादीले स्थानीय चुनावलाई लक्षित गर्दै गत चैत २२ मा अपिल सार्वजनिक गरेको थियो।
उक्त अपिलअनुसार स्थानीय स्तरबाटै घोषणा पत्र बनाउन कमिटीलाई अधिकार दिइएको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ।
माओवादीले जारी गरेको अपिलमा टोल टोलमा सहकारी र घरघरमा रोजगारीको व्यवस्था गर्ने, एक टोल एक उद्यम-एक टोल एक उत्पादन, बेरोजगारी अन्त्य, गरिबीको निवारण कार्यक्रम लागू गरिनेजस्ता विषय समेटिएका थिए।



साथै हरेक पालिकामा बेरोजगारहरुको सूची तयार गरी बेरोजगार लक्षित उत्पादनका कार्यक्रमहरु सुरु गरिने अपिलमा उल्लेख भएको थियो।
साथै माओवादीले वडादेखि पालिकासम्मका उम्मेदवार सिफारिस गर्न पनि भनेको छ। पाँचदलीय गठबन्धन मिलेर चुनावमा जाने निर्णय भएकोले कुन पालिका कसले लिने भन्ने अझै निश्चित भने भइसकेको छैन।

























