महेन्द्रनगर । सरकारले निजामती कर्मचारीका छोराछोरीलाई स्नातक तह अध्ययन गर्न एक पटकका लागि बढीमा पाँच लाखसम्म प्रोत्साहन छात्रवृत्ति दिने भएको छ ।
निम्न आय भएका र आरक्षणका कर्मचारीका छोराछोरीले छात्रवृत्ति पाऊन् भन्ने उद्देश्यले निर्देशिका परिवर्तन गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सहसचिव नारायण अर्यालले बताए । उनका अनुसार कोटा निर्धारण गरेर छात्रवृत्ति वितरण गरिनेछ । प्राविधिक विषय अध्ययन गर्नेलाई मात्र छात्रवृत्ति दिँदा न्यून आम्दानी भएका कर्मचारीका छोराछोरीले अवसर नपाउने अवस्था आएका कारण सबै विषयलाई खुला गरिएको उनले बताए । ‘निजामती कर्मचारीका सन्ततिलाई स्वदेशी विश्वविद्यालयको आंशिक वा सम्बन्धन प्राप्त स्वदेशी शिक्षण संस्थामा उच्च शिक्षा अध्ययनका लागि योग्यताका आधारमा सन्तति शैक्षिक प्रोत्साहित वृत्ति उपलब्ध गराउन व्यवस्थालाई समन्यायिक, समावेशी, पारदर्शी र प्रभावकारी बनाउन वाञ्छनीय भएकाले’ यो व्यवस्था गरिएको निर्देशिकामा उल्लेख छ ।



शैक्षिक प्रोत्साहन वृत्तिका लागि प्रचलित निजामती सेवासम्बन्धी सङ्घीय कानुनमा निर्णय भएबमोजिम समावेशी सिटमा छुट्याएको प्रतिशतलाई शतप्रतिशत मानी सोहीअनुसार कोटा निर्धारण गरिने निर्देशिकामा उल्लेख छ । व्यक्ति छनोट गर्ने क्रममा दिइने नम्बर समान प्राप्त गरेको अवस्थामा तल्लो तहका कर्मचारीका छोराछोरीले छात्रवृत्ति पाउने व्यवस्था निर्देशिकाले गरेको छ । पिछडिएको क्षेत्रका लागि छुट्याइएको कोटामा सो क्षेत्रमा स्थायी बसोबास गरी सोही क्षेत्रको कुनै एक जिल्लाबाट प्रवेशिका वा सो सरहको परीक्षा उत्तीर्ण गरेको विद्यार्थीलाई समावेश गरिने भनिएको छ । त्यस्तो नम्बर पाउन पिछडिएको क्षेत्रको विद्यालयमा अध्ययन गरेको हुनुपर्नेछ ।

























