बागलुङ- जिल्लाको तमानखोला गाउँपालिकाले पहिराले घरबार गुमाएका पानबहादुर रसाइलीको घर बनाइदिने भएको छ । यही साउन १२ गते राति अविरल वर्षाका कारण तमानखोला २ खोलेसबाङमा गएको पहिराले भत्किएको रसाइलीको घर गाउँपालिकाले निर्माण गरिदिने भएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिए ।
पहिराका कारण रसाइलीको घर पुरिँदा उहाँकी श्रीमती हुमकुमारीको घाइते अवस्थामा उद्धार गरिएको थियो भने १३ वर्षीय छोरा खिमबहादुर र ११ वर्षीया छोरी रीताको मृत्यु भएको थियो । “पहिरोका कारण घर पुर्दा दुई सन्तान नै गुमाउनपु¥यो”, अध्यक्ष बुढाले भने, “दुई परिवार गुमाएको पीडा त छँदैछ, घरसमेत नरहेकाले घर बनाइदिने निर्णय गरेका छौंँ ।”
पहिरो पीडित परिवारलाई गाउँपालिकाका तर्फबाट अध्यक्ष बुढा मगरले राहतस्वरुप रु एक लाख ५० हजार मङ्गलबार हस्तान्तरण गरे । उनले तत्काल राहतका लागि उक्त रकम प्रदान गरिएको र घर बनाउनका लागि गाउँपालिकाले थप रु दुई लाख ५० हजार प्रदान गर्ने गाउँ कार्यपालिकाले निर्णय गरेको उनको भनाइ छ । रसाइली परिवारलाई घरसमेत गुमाएपछि हातमुख जोर्न समस्या भएकाले लत्ताकपडा तथा खाद्य पदार्थ खरीद गर्नका लागि सहयोग गरिएको हो ।
अविरल वर्षासँगै आएको पहिराका कारणले घरमा आंशिक क्षति पु¥याएको फूलकुमारी रसाइलीको परिवारलाई पनि रु १५ हजार सहयोग हस्तान्तरण गरिएको छ । पीडित परिवारको घरबास नै नभएकाले गाउँपालिकाले घर निर्माण गर्न रु दुई लाख ५० हजार उपलब्ध गराउने निर्णय गरेको र तत्कालै जग्गा व्यवस्थापन गरी घर निर्माण थालिने गाउँपालिका अध्यक्ष बुढाले बताए।
पहिराबाट ज्यान गुमाएकाका परिवारलाई राहत
तनहुँको म्याग्दे गाउँपालिका–६ बेलौतेमा गत असार २९ गते पहिराले घर भत्किएर ज्यान गुमाएकी १५ वर्षीया लक्ष्मी विकको परिवारलाई जिल्ला प्रशासन कार्यालयले राहत वितरण गरेको छ । पीडित परिवारलाई यस अगाडि सङ्घीय सरकारका तर्फबाट रु एक लाख प्रदान गरिसकिएको छ ।
सरकारले पहिराबाट ज्यान गुमाउने एकै परिवारका एक जनालाई रु दुई लाख र थप मृतक भएमा प्रतिमृतक रु एक लाखका दरले राहत उपलब्ध गराउने कार्यविधि पारित गरेपछि जिल्ला प्रशासन कार्यालयले पीडित परिवारलाई मङ्गलबार थप रु एक लाख प्रदान गरेको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए ।उक्त रकम सङ्घीय सांसद केदार सिग्देलले मृतककी आमा सनसरीलाई हस्तान्तरण गरे ।
जिल्लामा असार २९ र साउन ५ गतेको पहिरामा पुरिएर १३ जनाको मृत्यु भएको छ । ती सबै मृतकका परिवारलाई सङ्घीय सरकारका तर्फबाट प्रतिमृतक रु एक लाखका दरले र गण्डकी प्रदेश सरकारका तर्फबाट रु ५० हजारका दरले रकम प्रदान गरिसकिएको छ । सङ्घीय सरकारका तर्फबाट प्राप्त हुने थप रकम भने वितरणको प्रक्रियामा रहेको प्रजिअ आचार्यले जानकारी दिए ।