१)कञ्चनपुरमा एकैदिन भेटिए ७० जना कोरोना संक्रमित
कञ्चनपुर— कञ्चनपुरमा एकैदिन ७० जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। ७९९ जनाको नमूना ऐन्टिजेन र १५ नमूना पीसीआर विधिबाट परीक्षण गर्दा ७० जनामा संक्रमण फेला परेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ। जसमध्ये भारतबाट भित्रिएकाहरु मात्रै ६० जना रहेको कार्यालयले जनाएको छ। भारतमा संक्रमितको संख्या बढेपछि सीमा नाका गड्डाचौकीमा कोरोना परीक्षण गर्दा ६० जनामा कोरोना भेटिएको हो।
यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय १० पुगेको छ। हालसम्म जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५ पुगेको छ।
२)सुदूरपश्चिमका उपसचिवविरुद्ध ७ करोडको भ्रष्टाचार मुद्दास् अदालतबाट १५ दिने म्याद
धनगढी— विशेष अदालतले सुदूरपश्चिमका निमित्त वन निर्देशक हेमराज बिष्टलाई अदालतमा उपस्थित हुन १५ दिने म्याद जारी गर्ने भएको छ। गैरकानूनी ढंगबाट झण्डै सात करोडको सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेपछि सुदूरपश्चिम प्रदेश वन निर्देशनालय, धनगढीका निमित्त वन निर्देशक बिष्टलाई १५ दिनभित्र अदालतमा उपस्थित हुन म्याद जारी गरिने भएको हो।
३) डडेल्धुरामा कोरोना परिक्षण पुनः शुरु गरिदै, साढे ९८ हजारले खोप लगाए
सुदूरपश्चिमको कैलाली जिल्लामा ओमिक्रोनका संक्रमित भेटिए पछि डडेल्धुरामा परिक्षण शुरु गरिने भएको छ । कोरोना भाईरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित संसार भर बढ्दै जाँदा नेपाल लगायत सुदूरपश्चिममा समेत देखिए पछि डडेल्धुरामा शुक्रबार देखि परिक्षण गरिदै छ । पहिलो चरणमा डेढ सय सेम्पल लिई परिक्षण गरिने स्वास्थ्य कार्यालय डडेल्धुराका स्वास्थ्य अधिकृत आशुतोष श्रेष्ठले बताए ।
कोभिडका कारण डडेल्धुरामा हाल सम्म २६ जनाको ज्यान गएको तथ्यांक छ । २ हजार ४ सय ६० जनामा संक्रमण देखिदा २ हजार ४ सय ३४ जना निको भएका थिए । कोरोना भाईरसको संक्रमण बाट निको हुनेको संख्या ९९ प्रतिशत बढी रहेको छ । १० जना भने यहाँ बाट रेफर भई कैलालीमा ज्यान गुमाएका थिए ।
अहिले सम्म १८ वर्ष माथिका ९८ हजार ६ सय ३० लाई खोप लगाईएको छ । यस मध्ये पहिलो मात्रा लगाउनेको संख्या ५८ हजार ५३ र दोस्रो मात्रा समेत लगाउनेको संख्या ४० हजार ५ सय ७७ छ । दुई वटा स्थानिय तहको रिपोर्ट भने आउन बाँकी छ । अब बुष्टर डोज लगाउनमा जोड दिनु पर्ने स्वास्थ्य अधिकृत श्रेष्ठले बताए ।
४ं)डडेल्धुरामा ३ हजार बढी मतदाता थपिए
डडेल्धुरा— डडेल्धुरामा ३ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्। डडेल्धुरामा गत १७ मंसिरदेखि ८ पुस गतेसम्म सञ्चालित फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रममा ३ हजार २ सय ७१ जना थपिएका हुन्। सात स्थानीय तहमध्ये ५ वटा स्थानीय तहमा मात्रै फोटोसहितको मतदाता नामावली संकलन गरिएको निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ।
आलिताल गाउँपालिकामा ४ सय १५, नवदुर्गा १ सय ३८, भागेश्वर ७१ अजयमेरुमा १ सय,५५ गन्यापधुरा १ सय १७ र जना नयाँ मतदाता थपिएको निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयमा ४ सय २३ जनाले फोटोसहितको मतदाता नामावली भरेका छन् भने निर्वाचन कार्यालयबाट २ सय ४२ र इलाका प्रशासन कार्यालय जोगबुढामा १५ सय ७२ जनाको मतदाता नामावली संकलन भएको छ। यस्तै ४४ जना जिल्ला बाहिरका मतदाताले जिल्ला निर्वाचन कार्यालय डडेल्धुराबाट फोटोसहितको मतदाता नामावली भरेका छन्।
जिल्लाका सातै स्थानीय तहमा केन्द्रबाटै १० दिनका दरले पहिलो चरणको मतदाता नामावली संकलन विशेष कार्यक्रम आयोजना गरिएको थियो। डडेल्धुरामा थपिएका ३ हजार २ सय ७१ मतदातासहितको तथ्यांकअनुसार जिल्लाको कुल मतदाता संख्या ९१ हजार २ सय ७१ रहेको छ। अझै मतदाता थपिने क्रम बढने निर्वाचन कार्यालयले जनाएको छ।
५)विनोद चौधरीको पद खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी
काठमाडौँ — कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीको पद खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । कांग्रेसको विधानविपरीत चौधरी केन्द्रीय सदस्य बनेको भन्दै सिरहा क्षेत्र ३ का महासमिति सदस्य सुभाषचन्द्र यादवले बुधबार आयोगमा उजुरी दिएका हुन् ।
यादवले चौधरीको अवैधानिक केन्द्रीय सदस्यको पद खारेज गरी आफ्नो नाम केन्द्रीय सदस्यमा समावेश गर्न पनि माग गरेका छन् । कांग्रेसको १४ औं महाधिवेशनबाट चौधरी मधेसी (खुला)तर्फ निर्वाचित भएका हुन् ।
यादवले कांग्रेसको विधानअनुसार १० वर्ष निरन्तर पार्टीको क्रियाशील सदस्य भएमात्र केन्द्रीय सदस्य बन्न पाइने भन्दै चौधरी २०७४ सालमा कांग्रेस प्रवेश गरेको जनाएका छन् । ‘नेपाली कांग्रेसको विधान, २०१७ को परिच्छेद ७ दफा २१९८० मा १० वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएको महाधिवेशन प्रतिनिधिबाट ४ महिलासहित ९ जना मधेसी केन्द्रीय सदस्य रहने व्यवस्था रहेको छ,’ यादवको उजुरीमा उल्लेख छ, ‘मधेसी खुल्ला पदमा निर्वाचित भएको भनिएको विनोद चौधरी नेपाली कांग्रेसमा निरन्तर १० वर्ष क्रियाशील सदस्य नभएको निज २०७४ सालमा मात्र नेपाली कांग्रेसमा प्रवेश गरेकोले निजको केन्द्रीय सदस्यमा उम्मेदवार नै हुन नपाउने स्पष्टै छ ।’




























