धनगढीः कैलाली जिल्लामा वर्षातमा हुन सक्ने विपद जोखिम न्यूनीकरण तथा प्रतिकार्यको लागि सवै अंगलाई उच्च सतर्कतामा राखिएको छ।



जिल्लामा वर्षेनि बाढी पहिरोले धनजनको ठूलो क्षति हुँदै आएको र चालु वर्षको मौसम पूर्वअनुमान गरी सवै निकाय तथा अंगलाई हाई अलर्टमा राखिएको बताइएको हो।
कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले असार २ गते विपद पूर्वतयारी र पतिकार्य योजना अनुमोदन गरिएको बताउँदै उद्धारको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई उच्च सतर्कतामा राखिएको जानकारी दिए। साथै नेपाल रेडक्रसलगायत दातृ निकायसँग पनि विपद प्रतिकार्यको लागि तयारी छलफल भइसकेको बताए।
त्यस्तै, कैलालीका सवै स्थानीय तहमा रहेका विपद जोखिम न्यूनीकरण समितिलाई उच्च सतर्कता अप्नाउन र वडा–वडामा सम्पर्क व्यक्ति तोक्ने, आवश्यक सामग्री जोहो गर्न समेत अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी रिजालले बताए।
यसैबीच प्रजिअ रिजालले विगतका वर्षहरुको समीक्षा र मौसम पूर्वअनुमान अनुसार चालु वर्षमा कैलालीमा प्राकृतिक विपदबाट करिब १० हजार बढी परिवार प्रभावित हुने आँकलन गरिएकोले आमसर्वसाधारणहरुलाई पनि उच्च सतर्कता अपनाउन अनुरोध गरेको बताए।

























