रवि पाण्डेय
‘उही छोरी त होला नि ?’ – ऊ बेला गाउँघरमा खासखुस चल्थ्यो ।
सेन्टरप्लटको पंधेरामा चलेको यी कानेखुसीको प्रभावमा मेरो घर पट्टीको
हजुर आमाले समेत बालाई भन्नुहुन्थ्यो – ‘साना…उही थाप्रे त होला नि’ यो
सुन्दा बुवाको मन अमिलो हुने नै भयो । यिनै ‘ताना’ ले आमा रुनुहुदो रहेछ
। पंचायती सामाजिक परिबेशका यी कुरा मलाई बाल्यकालमै बाआमाबाट सुनाइएका
हुन ।
काँध हाल्न छोरा चाहिने कुराले बुवालाई निकै पिरोल्दो रहेछ ।
बुवाहरु चारमध्ये त्यसबेला सम्म सबैका छोरा भईसकेका रहेछन् । ‘आइतवारको
सुर्य ब्रत गरेर पाएको हो । तेराँ लागि यति त गरिएन । ’ जब बाआमालाई
कुनै गुनासो गर्न मैले ठाँउ दिए भने यस्तै सुन्नुर्पथ्यो । ‘ यही दिन
देख्न रैछ । छोरा जन्माएको ।’
जब म जन्मे । दिदीहरु गदगद् भएछन् । उनीहरुले मलाई भुईमै राख्न
नदिएर हुर्काउएको रे । ‘ सेतीले त हातमै हगाउँथी ’ – घर पल्तिरका अधिकारी
राँइला बुवा आमाले भनेको याद छ – ‘ तँ जन्मिस् बहुत चाख भयो । छोरी छोरी
मूनिको एउटा भाई ।’
म माथिका तीन दिदी म भन्दा तलका २ बहिनी मैले जानेको मात्र ।
आमाले भन्नुहुन्थ्यो – ‘बाह्रवटा पाएको ज्यान हो । अझ दुःख गर्नै लेखेको
रैछ ।’
मेराबारे मेरो जन्मस्थल हालको बर्दघाट–२ चिसापानी एक नम्बर बल्कमा
एउटा किस्सा अझै छ । ‘ल बरालको छोरा आयो’ । सानामा यो कुरा सुन्दा म धेरै
संग झगडा गरेको घटना पनि ताजै छ । छोरी पछि छोरी पाएको भनेर हेप्ने
समाजले मेरो जन्मलाई पनि ठट्टा गरेछ । अनि एक रुपैयामा मलाई बराल बुवा
आमासंग किनेर ल्याएको रे । उहाँहरुलाई मैले अझै पनि धर्म बुवा आमा मान्दै
आएको छु ।
ठूली दिदी राधालाई गाउलेहरु अझै सेती भन्छन् । अनि मलाई दिनेश । यी
हाम्रा बोलाउने नाम हुन । उँ बेला तीनवटा नाम दिने चलन थियो । अझै पनि
मलाई रवि भनेर नचिन्ने गाउँलेहरु पनि छन् । ‘ डाडाँखर्के जेठो दिनेश के
?’कसैले दोहो¥याएर सोध्यो भने अझै पनि छिमेकीहरु भन्ने गर्छन । मेरो
जन्मले मावली तर्फ पनि खुसी छरेको रे । बि.स. २०५५ मा भाई जन्मे पछि म
जेठो भएको हो ।
हाम्रो मुलथलो गुल्मी जिल्लाको हर्मिचौर डाडाँखर्क । हाम्रो परिवार
२०३४ सालमा हालको सुनवलस्थित मच्छरमाराबाट तत्कालीन माकर – २ चिसापानीमा
सुकुम्बासी आएको परिवार हो । ठुली दिदी सेती ( राधा ) उतै जन्मिएको र
हामी बाँकी सबै यहाँ आइसकेपछि जन्मेका हौं । मलाई सानैमा बाआमाले गुल्मी
लैजानुभएको थियो रे । मैले सम्झेको छैन । मलाई बुवाले काँधमा राखेर
राम्दी लगेको भने मधुरो याद छ । पाल्पा भुसालडाँडा मिसन अस्पतालमा
उपचारका लागि जादाँ रातिमा कुकुरले लखेटेको र कुनै घरमा गएर बास मागेको
याद छ । त्यो बाटो धुलाम्य थियो । सायद बाटो बन्दै भएर होला । त्यति
बेला मलाई जन्डिस भएर बुवाले लैजानुभएको रैछ । ‘छोरा होस’ भनेर रिडी
ऋषिश्वरसंग भाकल गरेको रे । त्यही भाकल पुरा गर्न बुवाले मलाई रिडी
पु¥याउनु भएछ ।
मेरो भाई जन्मिदाँ म १४ बर्षको थिएँ । बुवा ६२ बर्षको । ‘आमाले के
पाउनु भएछ नानी ‘ आरने आमाले मलाई सोध्दाँ भाई पाउनुभयो भनेर मैले छाती
पिटेछू । त्यो उमेरमा मलाई छाती पिट्न कसले सिकायो ? मैले अहिले पनि
सोच्छु । छोरा प्रति छाती पिटने समाज छोरी जन्मिदा किन छाती पिट्दैन ?
किन अबिर लगाउदैन । यो मानसिक रोगबाट किन उठ्दैन मान्छे ?
भाई जन्मेपछि पनि समाजले बालाई लखेट्यो । ‘ एँ ६० बर्ष पछि पनि
जायजन्म हुँदो रैछ ’मेरो वुबाको उमेर प्रति गरेको ब्यंग मेरो मस्तिष्कमा
नहुने कुरै भएन । बाँ ६२ को हुदाँ भाई जन्मिनुमा मेरा बाआमाको के अपराध ?
म सोच्थे । आमाले ‘ फलानीले यो भनि , फलानोले यो भन्यो ’ भन्दै
सुनाउनुहुन्थ्यो ।
बुवा २०६६ मा बित्नु भो । आमा २०७७ मा । आमा बुवाबीच २२ बर्षको
फरक थियो । बाआमाले बाच्न र हामीलाई बचाउन गरेको संर्घष कम्ता कष्टकर
छैनन । बा वित्दा म रोइँन । रुने मौकै मिलेन । जिम्मेवारीले रुन पनि दिदो
रैनछ । मुटुमा गाठो पार्दाेरैछ । यही २०७७ फागुन १९ मा आमा जानुभयो ।
आमा खसेपछि आमाका राजनैतिक सामाजिक योगदानको चर्चा भए । श्रद्धाञ्जली
भयो । आमाको श्रम प्रतिको आस्थाको निकै प्रंसशा भयो ।
तर, मेरी आमालाई छोरो नपाएकै भरमा लान्छना लगाउने पितृसत्तात्मक
समाजले आमाको मुख हेर्ने औशी मनाउदैछ । छोरो पाउन नसकेको कारण मेरो
बुवालाई ‘नार्मद’ बनाउने पितृसत्ताले बुवाको मुख हेर्ने दिनलाई ‘फादर्स
डे’ को रुपमा मनाउने गर्छ ।
तर , अहिले पनि छोरीहरु गर्भमै मर्छन । भबिष्यका आमाहरु गर्भमै
फालिन्छन । अनि फगत आमा औशी मनाएको के काम ? त्यसैले पितृसत्ताको अन्त्य
विना आमा औशी मनाउनु बेकार छ । आमालाई एक दिन सम्झनु भन्दा आमाहरुको
सुरक्षाका लागि समाजले ध्यान दिनुपर्ने होइनर ?




























