धनगढी । थारुवान/थारुहट मोर्चाले टीकापुरको थारु आन्दोलनबाट उत्पन्न घटनाका सन्दर्भमा सरकारसँग समाधान खोज्न वार्ता टोली गठन गरेको छ। मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले कैलालीको हसुलियामा पत्रकार सम्मेलन गरी कारागारमा रहेका रेशम चौधरीको संयोजकत्वमा ६ सदस्यीय वार्ता टोली गठन गरेको जानकारी गराएका छन् ।



वार्ता टोलीका ६ सदस्यीय टोलीमा टीकापुरबाट लक्ष्मण थारु, रामप्रसाद थारु, चुनिराम थारु, बिना चौधरी र यमुना चौधरी रहेका छन् । उनीहरु सबै अदालतबाट टीकापुर घटनामा दोषी करार ठहर गरिएकामा पर्छन् । ‘सरकार थारुसँग वार्ता गर्न इच्छुक देखिएकोले वार्ता टोली गठन गरेका छौं,’ मोर्चाका संयोजक लक्ष्मण थारुले भने, ‘वार्ता जेलभित्र होइन ।
संयोजक रेशम चौधरीलाई बाहिर ल्याएर सरकारले वार्ता टोलीसँग वार्ता गर्न तयार हुनुपर्यो ।’ उनले थारुका १४ बुँदे राजनीतिक मुद्दाहरुलाई अहिलेको वार्तामा थाती राखेर टीकापुर घटनाका झुटा मुद्दा खारेजी र जेलमा रहेकालाई रिहाइका विषयमा मात्रै वार्ता गर्न तयार भएको बताए । वार्ता टोलीको गठनसँगै शुक्रबार बसेको मोर्चाको बैठकले चैत २० गते भित्रमा सामूहिक रुपमा सर्वोच्च अदालतमा न्याय प्राप्तिका लागि जाने निर्णय गरेको उनले बताए ।

























