धनगढीः १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको प्रकरणमा महेन्द्रनगरबाट पक्राउ परेका १ जनालाई अनुसन्धानका लागि बैतडी लगिएको छ।
सार्वजनिक पद धारण गरेका दोगडाकेदार गाउँपालिकाकै ती पुरुषलाई कञ्चनपुर प्रहरीले भीमदत्त नगरपालिकाको ऐठपुरबाट गिरफ्तार गरि बैतडी प्रहरीको जिम्मा लगाएको स्रोत बताउँछ।



स्रोतका अनुसार ती व्यक्ति र भागरथीबीच पूर्व चिनजान रहेको थियो। उनी भागरथीको हत्या भएको केहीदिनपछि बैतडीबाट विदामा महेन्द्रनगर आएका थिए।
शंकास्पद गतिविधिका कारण हत्या प्रकरणमा उनको संलग्नता रहेको स्रोतको दाबी छ। यद्यपी उनको संलग्नता पुष्टि तथ्य र बयानका आधारमा गरिने प्रहरी स्रोत बताउँछ।
उनी हाल रिहा भइसकेका छन् भने काठमाडौँमा पक्राउ परेका अर्का एक शंकास्पद व्यक्ति पनि अनुसन्धानका लागि बोलाएका बखत हाजिर हुने शर्तमा छुटिसकेको प्रहरी स्रोतले दिनेशखबरलाई बतायो।
दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्ट १४ दिन अघि गत माघ २१ गते विद्यालयबाट घर फर्किने बेला बेपत्ता भएकी थिइन्। उनको शव माघ २२ गते बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो।
प्रहरीले अनुसन्धानको दायरा साँघुरिदै गएकोले चाँडै संलग्नलाई सार्वजनिक गरिने जनाएको छ। दिनेश खबर बाट साभार

























