नेपालको राजधानी सहर काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहरमा सूचीकृत भएको छ। मंगलबारसम्मको रेकर्ड अनुसार विश्वकै धेरै वायु प्रदूषण हुने सहरको पहिलो नम्बरमा काठमाडौं सूचीकृत भएको हो।



बढ्दो चिसोसँगै काठमाडौं आसपासको मौसममा खराबी आएको छ। लामो समयदेखि वर्षात् नभएपछि काठमाडौंको आकाशको सतहमा धुलोको कणको मात्रा थुप्रिँदै गएको छ।
वायु प्रदूषण अत्यधिक बढेर काठमाडौं बदनाम हुन पुगेको छ। वायु प्रदूषण मापन गर्दै आएको आईक्यू एयरले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार काठमाडौंको वायुमण्डलको हावाको गुणस्तर (इन्डेक्स एक्यूआई) ३३७ देखिएको छ।
यो अंकसहित विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा काठमाडौं दरिएको छ। आईक्यू एयरको विवरण अनुसार दक्षिण एसियामै सबैभन्दा प्रदूषित सहरका रुपमा दरिँदै आएको भारतको राजधानी नयाँ दिल्लीलाई पनि काठमाडौंले उछिनेको छ।
काठमाडौं पहिलो नम्बरमा पुगेर विश्वभर बदनाम हुँदा नयाँ दिल्ली पनि पाँचौं स्थानमा छ। नयाँ दिल्लीपछि मुम्बई प्रदूषित सहरका रुपमा मुम्बई छैटौं स्थानमा रहेको छ। काठमाडौंपछि प्रदूषित सहरको दोस्रो स्थानमा कीर्गिस्तानको बिस्केक दरिएको छ।
त्यसैगरी यो सूचीको तेस्रो नम्बरमा भियतनामको राजधानी हनोई, चौथो नम्बरमा चीनको वुहान, पाँचौँ नम्बरमा भारतको नयाँ दिल्ली, छैटौं नम्बरमा भारतकै मुम्बई, सातौं नम्बरमा बंगलादेशको ढाका र आठौँ नम्बरमा चीनको चोङगिङ सहर छन्। छन्।
काठमाडौंमा वायु प्रदूषण बढेपछि मानिसहरुको दैनिकी नै प्रभावित भएको छ। सरकारी अधिकारीहरुले मानिसहरुलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन भनेका छन्। काठमाडौंको वायु प्रदूषणको तह केही दिनदेखि ह्वात्तै बढेर सोमबारदेखि एक नम्बरमा पुगेको हो।
चिसो बढेसँगै काठमाडौंको आकाशमा तुवाँलो र धुलो भरिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले वर्षात् हुने अनुमान गरेपनि त्यस्तो भएको छैन। मंगलबार बिहान काठमाडौं केही बेर पानी छिट्याउन खोजेको थियो। तर त्यसले बर्सातको रुप लिन सकेको छैन।
वायु प्रदूषणले फोक्सोमा असर गर्छ । चिकित्सकहरुले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, यदि निस्कनै परेमा मास्क लगाउन भनेका छन्। वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले मौसमका कारण वायु प्रदूषण भएको बताए। उनले वायु प्रदूषणले फोक्सो, आँखा, मस्तिष्क र छालालाई असर गर्ने भएकाले सचेत हुन आग्रह गरेका छन्।
वातावरण विभागले बिहान र साँझको समय वायु प्रदूषण अत्यधिक बढेको जनाएको छ। विभागले आज विज्ञप्ति निकालेर बालबालिका, वृद्धवृद्धा, दीर्घ रोगी, मुटुको समस्या भएकाहरुलाई प्रदूषणले बढी प्रभावित पार्ने जनाएको छ। विभागले मानिसहरुलाई बिनाकाम घर बाहिर ननिस्कन र निस्कन परे सावधानी अपनाउन भनेको छ।

























