छाेरीलाई शिक्षा कि दाईजो? दाईजो हाेईन मनग्ये शिक्षा दिउँ ,यस्तै ०४७ देखि ०४९ तिर हुनुपर्छ कथाकार वेदकुमारी न्याैपानेकाे दाईजो सम्बन्धि एउटा कथा पढेको थिएँ।



उनले उक्त कथामा दाईजाेमा पाएका सरसामानहरु घडीको सुई आफ्नो चक्रमा घुमे झैं घुमेकाे कुरा उल्लेख गरेकी थिइन्। “मेरा बाले ऋण काढेर मेरो विवाहमा दाईजो दिनुभएको थियो। दाईजोमा दिएका ती सरसामानहरु फेरि मेरी नन्दकाे विवाहमा दियौं। नन्दबाट आफ्नी नन्द हुँदै धेरै नन्दहरुकाे विवाहलाई तिनै दाईजोले टारेका थिए।
आखिर एकठाउँमा रहन नसक्ने दाईजो आफ्नै बास उठिबास हुने गरी किन दिनु”? उनको कथामा शब्दहरु यिनै नभएपनि सार चाहिँ यही थियो। दाईजो सम्बन्धि कुरामा हामीहरू हाम्रो समाजमा जाेगी र भैंसीकाे आहान जस्तै पाे हाैं/छाैं कि? “जाेगी देखेर भैंसी डराउने भैंसी देखेर जाेगी डराउने”। छाेरीलाई दाईजो दिएन भने छ्या! समाजले के भन्ला? भन्ने यही डरकाे भुमरीमा हामीहरू रुमल्लिई रहेका छाैं।
समाज के हाे? काे हाे? आफू रहे बसेकाे, आफू परिचित यो समाज र इष्टमित्र अन्तरिक्षबाट आएको एलियन पाे हुन् कि? सबैले समाज/समाज भन्दै समाजको हवाला दिएर आखिर कहिलेसम्म यो विकृतिको पछाडि कुँदिरहने? मलाई अचम्म लाग्छ।
दाईजो सम्बन्धमा लेख्ने धाेकाे थियो आज एकजना सचेत छाेरी सँगकाे भलाकुसारीले अवसर जुराई दियाे। धन्यवाद सामाजिक अभियन्ता छाेरी!!
मलाई आज दाईजो विरोधी यी शब्द काेर्दा गर्व लागेको छ किनकि मैले पनि मेरी छाेरीलाई बिना दाईजो बिदा गरिसकेको छु।
छाेरीलाई दाईजो दिन धन सञ्चय गर्नुभन्दा छाेरीकाे इच्छाअनुसार उनले चाहे जतिको शिक्षामा तल्लीन रहने हाे भने सबैभन्दा ठूलो पुँजी शिक्षा हाे भन्ने ठानेर छाेरीलाई राम्रोसँग शिक्षा दिने वातावरण बनाउँ।
छाेरीले राम्रोसँग शिक्षा हासिल गर्न सकेको खण्डमा उनी आफै आफ्नो खुट्टामा उभिन सक्नेछिन्।
त्यसैगरी सासु-ससुराले पनि अध्ययनरत बुहारीलाई उनलेे चाहेजति पढ्ने वातावरण मिलाई दिनुपर्छ। बुहारीले दाईजो हाेईन शिक्षाको ज्याेती लिएर घरमा आउन् भन्ने मनस्थिति बनाउनुपर्छ। शिक्षित बुहारीले मात्र भावी पुस्ताको जग मजबुत बनाउन सक्छिन्।
त्यसैले अहिलेको नयाँ पुरानो दुवै पिढीले दाईजाेलाई हाेईन शिक्षालाई महत्त्वपूर्ण मानेर दाईजो लिने र दिने दाईजो विरोधी मानसिकता बनाउन आवश्यकता छ।
यसलाई अभियानकै रुपमा अगाडि बढाउनुपर्छ। विशेषगरी युवा पुस्ता नै दाईजो विरोधी क्रियाकलापमा लाग्नुपर्छ।
दाईजोलाई कलंककाे रुपमा बुझेर यसको अन्त्यका लागि युवा जमातले आजैदेखि नलिने नदिने प्रण गराैं साथै अभिभावकले पनि दाईजो लिने दिने मानसिकता त्यागाैं।
मेराे भनाइ कति जायज वा नाजायज छ पाठकले कसी लगाउनु हुनेछ।
जय शिक्षा!
जय नेपाल!!
लेखक –
वेदात्रेय पथिक

























