२०८३ जेष्ठ २३ शनिबार
२०८३ जेष्ठ २३ शनिबार

बियर भन्दै लोकल रक्सी उत्पादन र बिक्री गर्दै गोर्खा ब्रुअरी

काठमाडौं । बहुराष्ट्रिय कम्पनी गोर्खा ब्रुअरीले विद्यमान ऐनमा उल्लेख गरेको गुणस्तरलाई बेवास्ता गर्दै बियर भनेर गुणस्तरहीन लोकल रक्सी उत्पादन गरी बिक्री गर्दै आएको पाइएपछि आन्तरिक राजस्व विभागले कारबाही प्रक्रिया अघि बढाएको छ ।

खेतान समूहद्वारा सञ्चालित तथा गोर्खा ब्रुअरीद्वारा उत्पादित काल्र्सबर्ग, टुबोर्ग, गोर्खा र सानमिगल बियर विद्यमान ऐन र मापदण्डविपरीत उत्पादन गरी बिक्री गरेको भन्दै कारबाहीका लागि चौतर्फी दबाब आएपछि अहिले आन्तरिक राजस्व विभाग कारबाही गर्न अघि बढेको हो ।

अहिले विभागलाई चेकजाँचविना स्वीकृति दिएको र सरकारी निकायकै कर्मचारीको मिलेमतोमा गुणस्तरहीन बियर उत्पादन गरी महँगोमा बिक्री गर्दै आएको आरोपसमेत लगाइएको छ । गोर्खा ब्रुअरीद्वारा उत्पादित यस्ता बियर मापदण्डविपरीत र मानव स्वास्थ्यमा गम्भीर असर पर्ने खालको भएपछि अहिले विभागले यस्ता बियर बजारमा पठाउन र बिक्री वितरण गर्नसमेत रोक लगाएको छ ।

– तत्काल कडा कारबाही गर्न चौतर्फी दबाब
– यसअघि पनि पटक पटक भएको थियो ठगी
– गोर्खा ब्रुअरीद्वारा ५ वर्षमा १ अर्ब ४४ करोड अन्तःशुल्क बुझाउन बाँकी

विभागले वर्गीकरणमार्फत हाल यस्ता बियरलाई ‘लोकल रक्सी’ को सूचीमा राखेको छ । सरकारी निकायकै केही कर्मचारीको मिलेमतोमा गोर्खा ब्रुअरीले सर्वसाधारणमाथि ठगी धन्दा सञ्चालन गर्दै आएको र सो कम्पनीमाथि व्यापक अनुसन्धान हुनुपर्ने सम्बन्धित सरोकारवालाको माग छ । यस्ता बियरमा जौको मात्रा ५० प्रतिशत हुनैपर्ने प्रावधान छ । तर, गोर्खा ब्रुअरीले बियरमा जौको सट्टा कमसल खालको कनिका प्रयोग गरी महँगोमा बिक्री गर्दै उपभोक्तालाई ठगिरहेको पाइएको छ ।

गोर्खा ब्रुअरीले उत्पादन गरेको बियर गुणस्तरहीन भएकाले त्यस्ता बियरको प्रयोगले मावन स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने उपभोक्ता अधिकारकर्मी एवं सरोकारवालाको दाबी छ ।

गोर्खा ब्रुअरीले गुणस्तरहीन बियर उत्पादन गरेर सर्वसाधारणलाई झुक्याउने काम गरेको छ । यो उसको ठूलो बदमासी भएको भन्दै अहिले आम उपभोक्ताले सरकारी निकाय यस सम्बन्धमा कडा रूपले प्रस्तुत हुनुपर्ने दबाब दिइरहेका छन् । गोर्खा ब्रुअरीमाथि लागेको आरोपका सम्बन्धमा धेरै पटक सो कम्पनीमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन । उसले अहिले कानुनी रूपमा बच्न आफूले अनेक बहानाबाजी गरिरहेको छ ।

लकडाउनका बेला अनुुगमन नहुने र दसैं–तिहारको समयमा अकुुत नाफा कमाउन कम्पनीले मानव स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्दै आएको उपभोक्ता अधिकारकर्मीको दाबी छ ।

अन्तःशुल्क लाग्ने मदिरा, चुरोट एवं सुुर्तीजन्य वस्तुको उत्पादन गर्ने इजाजतपत्रवालाले आफूले उत्पादन गरेको त्यस्तो वस्तुमा आवश्यक कच्चा पदार्थको अभिलेख नदेखाई उत्पादन र भण्डारण गरी अन्तःशुल्क छलेमा इजाजतपत्र ३ महिनासम्म निलम्बन गर्न सक्ने प्रावधान अन्तःशुुल्क ऐनमा छ । गोर्खा ब्रुअरीको बदमासी पछि आन्तरिक राजस्व विभागले एक साता कम्पनी नै बन्द गराएर अध्ययन गरे पनि अझै कारबाही नभएको आम उपभोक्ता अधिकारकर्मी एवं सरोकारवालाको गुनासो छ ।

आन्तरिक राजस्व विभागले गोर्खा ब्रुअरीको उत्पादनमा माल्टभन्दा कनिकाको मात्रा बढी भएको विषयमा अहिले भन्सार विभागसँग मिलेर अनुसन्धान गरी कारबाहीको प्रक्रिया अघि बढाएको छ । जसका कारण गोर्खाद्वारा उत्पादित करिब ४ लाख ३७ हजार बक्स बियर कम्पनीकै गोदाममा थन्किएको छ । आन्तरिक राजस्व विभागले कुनै पनि हालतमा गोर्खा ब्रुअरीले सरकारलाई बुझाउनुपर्ने जरिमाना नतिरेसम्म बिक्री वितरणका लागि पठाउन नदिने बताउँदै आएको छ ।

अनुसन्धानको क्रममा मापदण्डविपरीत उत्पादन भएको भेटिएपछि विभागले कमसल खालको दर्जामा पर्ने गरी नयाँ अन्तःशुल्क निर्धारण गरिदिएको थियो । आन्तरिक राजस्व ऐनले जौबाट बनेको बियरमा अहिले प्रतिलिटर अन्तःशुल्क १ सय ६५ रुपैयाँ निर्धारण गरेको छ । गोर्खा ब्रुअरीले जौबाट बनेको बियर भन्दै प्रतिलिटर १६५ रुपैयाँ नै तिर्न खोजेपछि आन्तरिक राजस्व विभाग कडा कारबाहीमा उत्रेको हो । मापदण्डविपरीत उत्पादन भएको पाइएपछि कारबाहीस्वरूप ४ सय ३० रुपैयाँ कायम गरिएको विभागले जनाएको छ । माल्ट ५० प्रतिशत भन्दा कम भएपछि ऐनअनुसार प्रतिलिटर ४ सय ३० रुपैयाँ तिर्नुुपर्ने विभागले जनाएको छ ।

विभागले गोर्खा ब्रुअरीका केही ब्रान्डमा देखिएको गुणस्तरसम्बन्धी कमजोरीबारे कडा कारबाही हुने बताएको छ । हाल अनुसन्धान कार्य जारी रहेको विभागको भनाइ छ ।

बियरको रेसिपीमा ५० प्रतिशतभन्दा बढी कनिका भेटिएपछि विभागले बियरको अन्तःशुल्क नभई अन्य सरहको अन्तःशुल्क तिर्न गोर्खा ब्रुअरीलाई निर्देशनसमेत दिएको छ । विभागले प्रशोधित जौको मात्र बढी हुनुपर्नेमा लोकल रक्सी बनाउने शैलीमा कनिकाको मात्रा बढी प्रयोग गरेको भन्दै यसलाई बियरको मान्यतासमेत नदिएको दाबी गरेको छ ।

यो पनि पढ्नुहोस
कोरोना बिमामा पाँच महिनामै ८७ करोडभन्दा बढी संकलन
गोर्खा ब्रुअरीले विभागले कायम गरेको अन्तःशुल्क समेत बुझाउन आनाकानी गरेपछि गोर्खा बु्रअरीको नयाँ उत्पादन बजारमा पठाउन रोक लगाइएको बताएको छ । जसका कारण अहिले यस कम्पनीले भने नयाँ अन्तःशुल्क नभई पुरानै अन्तःशुल्कमा आफ्नो बियर बजारमा पठाउन आन्तरिक राजस्व विभाग र भन्सार विभागलाई दबाब दिँदै आएको छ । गोर्खा ब्रुअरीले उत्पादन गर्दै आएको बियर टुबोर्ग, काल्सबर्ग र सानमिगल नै सबैभन्दा गुणस्तहीन रहेको विभागको दाबी छ ।

आन्तरिक राजस्व विभागले प्रशोधित जौको मात्र बढी हुनुपर्नेमा सो नभई अत्यधिक मात्रामा गुणस्तरहीन चामलको कनिकाको मात्रा बढी प्रयोग गरेको भेटिएको जनाएको छ । गोर्खा ब्रुअरीको उत्पादनमा बियरको रेसिपीमा ५० प्रतिशतभन्दा बढी कनिका भेटिएपछि विभागले बियरको अन्तःशुल्क नभई अन्यसरहको अन्तःशुल्क तिराउनु भन्दै सम्बन्धित निकायलाई निर्देशनसमेत दिइसकेको छ ।

केही समयपहिले चितवनस्थित आन्तरिक राजस्व कार्यालयले हेर्ने गरेको नवलपुरमा अवस्थित गोरखा ब्रुअरीको कारखाना अहिले भने आन्तरिक राजस्व कार्यालय नवलपुरले हेर्दै आइरहेको छ ।

यसरी बियरमा चाहिने माल्टको मात्राभन्दा कम माल्ट एवं जौको प्रयोग गरी कम गुणस्तरीय बियर उत्पादन गर्ने र राज्यलाई बुझाउनुपर्ने राजस्वसमेत छल्न खोजेको पाइएपछि यस कम्पनीमाथि विभाग कडा रूपले प्रस्तुत भएको विभाग स्रोतले जनाएको छ ।नेपाल समयबाट

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।