कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। सिरहाको मिर्चैया नगरपालिका–६ निवासी ६५ वर्षका पुरुष र हेटौंडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरूषको मृत्यु भएको हो।



सिरहाका ६५ वर्षीय कोरोना संक्रमित ुरूषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो। एक साताअघि अस्पतालमा भर्ना भएका उनको सोमबार राति ९ बजेतिर मृत्यु भएको जनाइएको छ। आइसियूमा राखेर उपचार गर्दागर्दै उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ।
भदौ ८ गते स्वाब संकलन गरी परीक्षण गर्दा १० गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। उनी उच्च रक्तचाप र मधुमेहका विरामीसमेत थिए।
यस्तै हेटौंडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरूषको चितवनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा गएराति मृत्यु भएको हो। उनलाई कडा खालको निमोनिया देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।
भदौ १४ गते अस्पतालमा उपचारका लागि आएका ती पुरूषमा सोमबार (हिजो) मात्रै कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

























