डडेल्धुरा – डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ भात्काडाकी कविता भट्ट महिला भलिबलको राष्ट्रिय टोलीमा छनोट भएकी छन् । नेपाल भलिबल संघले मंगलबार अन्तिम १४ सदस्यीय टोलीको घोषणा गर्दा मिडल ब्लकर भट्ट टोलीमा परेकी हुन् । भट्टसहित मिडल ब्लकर संगम महतो, सेटर प्रगति नाथ, स्पाइकर रिमा कुँवर, पुजा चौधरी र लिवेरो शान्ति कला तामाङ पहिलोपटक टोलीमा पर्न सफल भएका हुन् ।



यस्तै स्पाइकर निरुता ठगुन्ना र पुनम चन्दले टोलीमा पूनरागमन गरेका छन् । कप्तान अरुणा शाही, सरस्वती चौधरी, साफिया पुन, उषा भण्डारी, कामना विष्ट र सलिना श्रेष्ठ टोलीका पूराना खेलाडी हुन् । नेपाल भलिबल संघले फागुन ७ गतेबाट २१ सदस्यीय टोलीबाट प्रशिक्षण सुरु गरेको थियो । प्रशिक्षण दौरान नै प्रतिभाले चोट बोक्न पुगेका थिए । प्रशिक्षण दौरान नै उनको शल्यक्रिया गरिएको थियो । संघले दोस्रो चरणमा १७ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको थियो ।
एनएससी काभा महिला च्यालेन्ज कप जेठ ८ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्डहलमा हुनेछ । च्यालेन्ज कपमा ८ राष्ट्रको सहभागिता रहेको छ । आयोजक तथा घरेलु टोली नेपालले जेठ ८ मा कीर्गिस्तानसँग खेल्दै काभा महिला भलिबल च्यालेन्ज कपको सुरुवात गर्नेछ । सोही दिन उज्वेकिस्तान र श्रीलंका, बंगलादेश र भारत तथा माल्दिभ्स र काजकिस्तानबीच खेल हुनेछ ।
सात दिने प्रतियोगिताको सुरुवाती तीन दिन ४ खेल र बाँकी ४ दिन दुई खेल हुनेछन् । नेपालले जेठ ९ गते बंगलादेशसँग, र जेठ १० गते भारतसँग खेल्नेछ । समूह एमा नेपालसँगै भारत, बंगलादेश र कीर्गिस्तान रहेको छ । अर्को समूहमा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजकास्तान रहेका छन् ।
दुई समूहको राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरियताका लागि प्रतिस्पर्धा गर्नेछन् । च्यालेन्ज कपमा कुल २० खेल हुनेछ । च्यालेन्ज कपको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डटकम र कान्तिपुर टेलिभिजनले गर्नेछन् ।

























