डडेल्धुरा : भारत सरकारले डडेल्धुराको महेन्द्र माध्यमिक विद्यालयलाई बस प्रदान गरेको छ। नेपालमा रहेको भारतीय राजदूतावासले आइतबार अमरगढी नगरपालिका–५ खंलगा डडेल्धुरामा रहेको महेन्द्र माविलाई अनुदान सहायतास्वरूप बस प्रदान गरेको हो।
विद्यालयका प्रधानाध्यापक शुरेन्द्र ऐरले आज उक्त बस बुझेको बताएका छन्। यस्तै राजदूतावासले अजयमेरु गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरेको छ। गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले उक्त एम्बुलेन्स बुझेका छन्।
भारतीय राजदूतावासले नेपालभर विभिन्न संघ–संस्थालाई ७५ वटा एम्बुलेन्स र विभिन्न विद्यालयलाई १७ वटा बस उपहार दिएको छ। नेपालका विभिन्न जिल्लामा अवस्थित विशेषगरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामूलक संस्थाहरूलाई एम्बुलेन्स र बस उपलब्ध गराएको दूतावासले जनाएको छ।



Views: 453

























