२०८३ जेष्ठ १६ शनिबार
२०८३ जेष्ठ १६ शनिबार

‘काकाकुल’ ओलानीले जब खानेपानी पायो…

अहिलेको गोदावरी नगरपालिका–११ मा पर्ने बन्दरखाल ५५ वर्षअघि जंगलै जंगल थियो। पहाडबाट झरेका विष्णुबहादुर सिंह बडैलाको परिवारले त्यही जंगलको एक छेउ फाँडेर घरबार बसायो।

त्यति बेला सुदूरपश्चिमको पहाडी भेगमा अनिकाल लागर मानिसहरूले खान पाएनन्। धेरै परिवार तराई झरे। पहाडको जस्तो अनुकूल हावापानी नभए पनि प्रशस्त अन्न उब्जनी हुने देखेर उनीहरू पहाड फर्किएनन्।

पहाड नफर्किनेमा विष्णुबहादुरको परिवार पनि थियो। तराई झरेकाहरूले जंगल फाँडेर बस्ती बसाए। खेती गर्न थाले।
बन्दरखाल र ओलानी चुरेको फेदमा पर्ने तराईको उत्तरी भाग हो। यहाँ बलौटे माटो भएकाले उब्जनी राम्रो हुन्थ्यो तर खाने पानीको कहिल्यै सुख भएन।

घरका महिला र केटाकेटीहरूको धेरै समय पानी ओसार्ने काममा खर्च हुन्थ्यो। घरधन्दाको काम जहिल्यै महिलाको भरमा हुन्थ्यो। पुरुषहरू खेतीमा काम गर्थे, कोही पैसा कमाउन भारत जान्थे।

हरेक बिहान डेढ घण्टा हिँडेर पानी ओसार्नु पर्ने बाध्यतामा वर्षौं बिताएको स्थानीय महिला भगवती कोलीले बताइन्। उनका अनुसार त्यो समय बन्दरखाल र ओलानीमा बसोबास गर्ने परिवारहरूले मछेली खोलाका किनारमा फुटेका मूलको पानी खान्थे। खोलामा बाढी आएको बेला गाउँमा पानीको हाहाकार हुन्थ्यो। उनीहरू धमिलो पानी सङ्ल्याएर खान्थे ।

टाढाबाट पानी बोकेर आजित भएका गाउँलेहरूले नयाँ जुक्ति निकाले। उनीहरू मिलेर कुलो बनाए अनि गाउँमा पानी ल्याए। खाल्डो खनेर सिमेन्टको ट्याङ्की बनाएर पानी जम्मा गरे। यस पानीको व्यवस्था गरेको विष्णुबहादुरले बताए।

कुलोमा मानिसहरूलाई नुहाउने र लुगा धुने काम गर्न नदिन चौकीदार पनि राखिएका थिए। कुलोमा फोहर गर्नेलाई सजाय हुने व्यवस्था थियो।

भगवतीका अनुसार पहिला धमिलो पानी खानुपथ्र्यो, खोला धाउनुपथ्र्याे। बाढी आए पनि, घाम चर्के घण्टौँ हिँडेर पानी बोक्नुपथ्र्याे। घरमा पानी व्यवस्था गर्ने जिम्मेवारी महिलाहरूकै हुन्थ्यो।

अर्की स्थानीय बासिन्दा हीरादेवी बडैलालाई पनि बिहान चार उठेर पानी ओसार्न खोलामा गएका ती दिनको झल्झली सम्झना छ। महिनावारी भएका बेला महिलाहरू झन् बढी समस्यामा पर्थे। हीरादेवीले भनिन्, ‘कुलो र खोलो पनि छुनु हुन्न भन्थे। अरूले उगाएर दिएको पानी चलाउनु पथ्र्यो।’

खानेपानीको समस्या समाधानको माग गर्दै स्थानीयबासी र राजनीतिक नेताहरूसमेतको एक टोली २०५५ सालमा जिल्ला सदरमुकाम धनगढी पुग्यो। माग सुनुवाइ भयो। सरकारी बजेटमा दुई ठाउँमा खानेपानीको ट्यांकी बने। मछेली खोलाको पानी ट्यांकीमा जम्मा गरेर वितरण गर्न १५५ धारा जडान गरिए।

साविकको गोदावरी गाविसका धेरै परिवारले सामूहिक रूपमा धाराको पानी चलाउन पाए। यो उपायले एक वर्षमात्रै काम गर्‍यो। ट्यांकीमा पानी ल्याउने मूल सुकेर फेरि हाहाकार सुरु भयो। यसपछि घनगडे खोलाको पानी ल्याउने प्रयास भयो तर खानीडाँँडाका बासिन्दाले दिएनन्।

पूर्णबहादुरका अनुसार त्यसपछि फेरि मछेली खोलाबाट जति पानी आउँछ त्यतिले काम चलाउनुपर्ने बाध्यता भयो। खोलाको पानीका कारण गाउँमा हरेक वर्ष आउँ र झाडापखालाको समस्या हुन्थ्यो।

फेरि २०६४ सालको बाढीले मछेली खोला र चुरेफेदीका पानीको मूलमा क्षति पुग्यो। खानेपानीको स्रोत दिगो हुने सकेन। फेरि २०६८ सालमा खानेपानीको दिगो योजनाका लागि स्थानीयबासिन्दा जुर्मुराए। उनीहरूको आग्रहमा खानेपानी डिभिजन कार्यालयले दुई वटा डिपबोरिङका लागि बजेट दियो।

डिप बोरिङका लागि उपयुक्त ठाउँ पनि खानेपानी डिभिजनका इन्जिनियरले खोजिदिए। रोटरी क्लबले बोरिङमाथि ओभरहेड ट्यांकी बनाइदियो। रोटरीले नै केही पाइप पनि दियो। डिभिजन कार्यालयले पनि पाइप दिएको थियो।

गोदावरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सदस्य पूर्णबहादुरका अनुसार २०७४ सालमा ट्यांकी बनाउने र बोरिङ गर्ने काम सकिए पनि पाइप बिछ्याउन बाँकी थियो। गोदावरी नगरपालिकाले पनि खानेपानीको योजना दिएको थियो तर पानी वितरणको काम पूरा भएको थिएन।

कोभिड संक्रमणका समयमा खानेपानीको समस्या झन बढ्यो। सामूहिक धारा प्रयोग गर्न पनि समस्या हुन थाल्यो। गाउँको बीचमा बनेको ट्यांकीमा वितरणका लागि पानी तयार थियो। नगरपालिकाले पाइप विछ्याउने योजना त बनायो तर बजेट अपुग भएको जनायो।

२०७७ साल जेठमा खानेपानीको हाहाकार हुन थालेपछि नगरपालिकालाई सहयोग गर्दै आएको संस्था ‘तयार नेपाल’ को सहयोगमा पाइप बिछ्याउने काम भयो। कोभिडको समयमा अलगअलग समूह बनाएर २५० जनाले दैनिक ज्याला पाउने गरी काम गरे। अठार दिनमा बिछ्याउने काम पूरा भयो।

अहिले वडा नम्बर ११ का ६५० घरमा धारा जडान गरी पानी पुर्‍याइएको छ । उपभोक्ताले खानेपानीको धारा र मिटर जडान गर्न तीन हजार पाँच सय रुपैयाँ बुुझाउनु पर्छ। समितिले खानेपानीको योजना दिगो बनाउन मासिक १५० रूपैयाँ शुल्क र प्रतियुनिट १० रुपैयाँ थप शुल्क लिने गरेको छ।

ट्यांकीबाट पानी वितरण गर्न दिउँसो सोलार ऊर्जा र राति बिजुलीबाट चल्ने प्रविधि जाडान गरिएको छ। खानेपानी आँगनमै खस्न थालेपछि ओलानी गाउँबासी खुसी भएका छन्।

टाढाबाट पानी ओसार्न हैरानी खेपेका महिलाहरू बढी खुसी देखिन्छन्।

सेतोपाटीसँग कुरा गर्दै स्थानीय बासिन्दा मीनादेवी ओझाले २०५२ सालमा आफू बिहे गरेर आएपछि खोलाको पानी लिन जाँदाको हैरानी सम्झिन्। अहिले उनी दंग छिन्।

‘वर्षौंदेखि टाउकोमा पानीको भारी हुन्थ्यो। अब सकियो हलुंगो भयो। हामी त दंग छम्,’ उनले भनिन्।

निर्धारित शुल्क तिर्न नसकेर अझै पनि केही परिवारले घरमा धारा जोड्न सकेका छैनन्। शुल्क तिर्न नसक्नेमा आर्थिक स्थिति कमजोर भएका र भारतमा काम गरेर जीविका चलाउने परिवार छन्। मिनादेवी भन्छिन्, ‘पानीको मासिक शुल्क त तिर्लान् तर जडान खर्च हाल्न सकेका छैनन्।’ घरघरमा धारा जोड्न नसक्नेले टोलको सामूहिक धाराबाट पानी भर्ने गरेका छन्।

छिमेकका अन्य केही बस्ती अझै खानेपानीको दुःख खेपिरहेका बेला काकाकुल गाउँ भनेर चिनिने ओलानीको पहिचान बिस्तारै फेरिँदैछ।

विष्णुबहादुरले ठट्यौलो पारामा भने, ‘पहिले पहिले त पानीको दुःख छ भनेर यहाँका केटासँग बिहे गर्न केटीहरू गाह्रो मान्थे। अब त ओलानीमा बिहे गरी आउन पनि मान्लान् कि !’

सेतोपाटी

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।