मनसुन सक्रिय भएसंगै पछिल्लो केहि दिन यता निरन्तर बर्षा भैरहेको छ । निरन्तर बर्षाका कारण धेरै ठाउँ बाढी र पहिरोले क्षति पुञ्याइरहेको छ ।



आगामी तीन दिन पनि विभिन्न प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन विभिन्न प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको हो ।
भीषण वर्षाका कारण पहिरोको जोखिम र नदीनाला तथा खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज बिहानैदेखी मौसम बन्द रहेको छ । अहिले दिउँसो प्रदेश १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो र राति देशभरको मौसम बदली रही अधिकांश ठाउँमा वर्षाको सम्भावना रहेको छ ।
यस्तै भोली देशभर मौसम बदली रही देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । राति पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ।
यस्तै पर्सी दिउँसो पनि देशभरको मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
लुम्बिनी र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भने भीषण वर्षाको सम्भावना छ । राति देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

























