स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विगत २४ घण्टामा १,१७२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ।



यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ६७,८०० नाघेको छ। काठमाण्डू जिल्लामा मात्रै अहिलेसम्म १५,००० भन्दा बढी मानिसमा कोभिड-१९ पुष्टि भएको छ।
सो अवधिमा सात जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले बुधवार अपराह्ण सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।
नेपालमा अहिलेसम्म ४३६ सङ्क्रमितको मृत्यु भएको छ।
सो अवधिमा १,८९३ जना रोगमुक्त प्रमाणित भएको बताइएको छ।
गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्।
मङ्गलवार मन्त्रालयले १,३२६ सङ्क्रमित फेला परेको जनाएको थियो।

गत शुक्रवार एकै दिन २,०२० जनामा सङ्क्रमण पुष्टि भएको थियो।
यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो।

अहिले देशभरि १७,४१४ जनामा सक्रिय सङ्क्रमण छ।
मन्त्रालयका अनुसार तीमध्ये ८,२२८ जना संस्थागत आइसोलेशनमा र ९,१६६ जना घरमै छन्।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २५,००० पुगे बन्दाबन्दी गर्न सीसीएमसीले सिफारिस गरिएको छ।
वाग्मती प्रदेशका जिल्लामा १०,००० भन्दा बढी सक्रिय सक्रिय सङ्क्रमित छन्। त्यसमा पनि काठमाण्डू उपत्यकामा हुने सङ्क्रमितको सङ्ख्या बढी छ।
को हुन् सङ्क्रमित र मृतक?
अहिले फेला परेका सङ्क्रमितमध्ये ४२६ महिला र ७४६ पुरुष छन्।
काठमाण्डूमा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ गरी उपत्यकामा ६३७ जनामा कोभिड-१९ पुष्टि भएको हो।
त्यसैगरी मोरङमा ४४, सुनसरीमा ३७, बाँकेमा ३०, रूपन्देहीमा ६७ र सुर्खेतमा ४९ सङ्क्रमित थपिएका छन्।
मृतकमध्ये एक महिला र छ पुरुष छन्।
उनीहरूको उमेर १६ वर्षदेखि ८३ वर्षसम्म भएको मन्त्रालयले जनाएको छ।
तीमध्ये काठमाण्डू र बर्दियामा दुई-दुई जना, ललितपुर, झापा र सिराहाका एक-एक जना छन्।बिबिसी बाट साभार

























