काठमाण्डौ – देशभर ३१ हजार बालबालिका घरमा अभिभावकको भूमिकामा रहेका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको बालबालिका सम्बन्धी प्रतिवेदनअनुसार ३१ हजार ५१२ बालबालिका परिवारको मूली रहेका छन् । देशभर ६६ लाख ६० हजार ८४१ परिवार रहेकामा ३१ हजार ५१२ परिवारमा परिवारमुली बालबालिका रहेको देखिएको हो ।
घरमा अभिभावक नहुँदा उनीहरु आफैँले अभिभावकत्व सम्हालेका छन् । कार्यालयकाअनुसार करिब ७१ दशमलव ३ प्रतिशत परिवारमा बालबालिकाको उपस्थिति रहेको छ । करिब २९ प्रतिशत परिवार भने बालबालिकाविहीन रहेको कार्यालयले जनाएको छ । पछिल्लो १० वर्षमा समग्र जनसङ्ख्यामा १० दशमलव १ प्रतिशतले थप हुँदा बालबालिकाको जनसङ्ख्यामा १० दशमलव ९ प्रतिशतले घटेको छ ।
यस अवधिमा बालकको भन्दा बालिकाको सङ्ख्या ४ प्रतिशतले घटेको देखिएको छ । समग्र जनसङ्ख्यामा पुरुषको भन्दा महिलाको सङ्ख्या ६ लाख ५० हजारले बढी भए पनि समग्र बालबालिकाको जनसङ्ख्यामा बालकको सङ्ख्या बालिकाको भन्दा तीन लाख तीन हजारले बढी देखिएको छ ।
नेपालको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ मध्ये १८ वर्षभन्दा कम उमेरका बालबालिका ९८ लाख ६९ हजार ५८३ रहेका छन् । जसमध्ये बालक ५१ दशमलव ८ प्रतिशत र बालिका ४८ दशमलव २ प्रतिशत रहेको छ ।
तथ्याङ्कअनुसार नेपालका कुल परिवार ६६ लाख ६६ हजार ९३७ मध्ये ७१ दशमलव ३ प्रतिशत परिवारमा कम्तीमा एक जना १८ वर्षभन्दा मुनिका बालबालिका रहेका छन् । सबैभन्दा बढी तराईका ७६ दशमलव १ प्रतिशत परिवारमा बालबालिकाको बसोवास रहेको छ भने सबैभन्दा कम पहाडका परिवारमा कम बालबालिका बसोवास रहेको देखिएको छ ।
एकल परिवारमा ५४ दशमलव १ प्रतिशत र संयुक्त परिवारमा ४५ दशमलव ९ प्रतिशत बालबालिका छन् । यसले परिवारको संरचना एकल परिवारतर्फ उन्मुख भएको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार १० देखि १७ वर्षसम्मका कुल बालबालिकामध्ये १ दशमलव ६ प्रतिशतको विवाह भएको छ । विवाहित बालवालिका सबैभन्दा बढी कर्णालीमा २ दशमलव ६५ प्रतिशत र सबैभन्दा कम बाग्मतीमा १ दशमलव १५ रहेको छ ।
१३ देखि १७ वर्षसम्मका किशोरी आमाको सङ्ख्या १५ हजार १२५ रहेको छ । किशोरी आमामध्ये सबैभन्दा धेरै तराईमा ४८ दशमलव ४५ प्रतिशत र हिमालमा ७ दशमलव ६६ प्रतिशत रहेका छन् । शहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा किशोरी आमा बढी रहेको तथ्याङ्कले देखाएको छ ।
यस्तै ५ वर्ष र योभन्दा माथिल्लो जनसङ्ख्यामध्ये ९४ दशमलव १ प्रतिशत साक्षर छ । अझै पनि ५ दशमलव ४ प्रतिशत बालबालिका विद्यालय गएका छैनन् भने ५ दशमलव ३ प्रतिशतले बीचमै पढाइ छाड्ने गरेको तथ्याङ्कले देखाएको छ । बालकभन्दा बालिका कम जन्मिएकाले यसबाट देशको कुल गार्हस्थ्य उत्पादनदेखि भविष्यको जनशक्तिमा समेत असर पर्न सक्ने विज्ञहरुले बताएका छन् ।