धनगढी । सुदूरपश्चिम प्रदेशमा मौलिक पर्व ‘ओल्के’ पर्व र बुढी हाल्ने पर्व धुमधामका साथ मनाईदैछ । हरेक वर्ष भदौ संक्रान्तीमा ओल्के मनाईन्छ । आफुभन्दा ठुलाबडा, मान्यजन र जेष्ठ नागरीकलाई सम्मान स्वरुप ‘ओल्को’ दिएर, मिठो मसिनो खाएर र अन्य फरक फरक मौलिक तवरबाट मनोरंजन गरी ओल्के मनाईदैछ ।
बिपत्तीको समयमा ज्यान जोगिएको खुशियालीमा मनाईने यो पर्व लाई ‘ओल्के’ भनिन्छ । ‘ओल्को’ भन्नाले ‘ओलक’ अर्थाद् सौगात, उपहार वा कोसेली भन्ने बुझिन्छ । ओल्कोमा मान्यजनलाई हरियो साग (मुख्यतयाः कर्कलाको गाभा) र फलफुल दिईने गरिन्छ । यसबाहेक अन्न, दुध, दही, घ्यू, गूड र पक्वान्न आदी पनि दिईन्छ ।
शिल्पकारहरुले आफुले बनाएका सामानहरु पनि दिने गर्दछन् । नयाँ पुस्ताले अचेल आफ्ना मान्यजनहरुलाई लुगाकपडा, पैसा वा यस्तै अन्य उपहार समेत ओल्को स्वरुप दिन थालेका छन् । यसरी ओल्को दिन आएकाहरुलाई मान्यजनहरुले आफुसंग भएको मिठोमसिनो खुवाएर पठाउने गर्दछ्न ।
परापुर्व कालदेखी नै यस क्षेत्रमा ‘मरुला भनेर ‘बिशु’ खानु, बाँचे भनेर ‘ओल्के’ खानु’ भन्ने किम्वदन्ती छ । बर्षायामका बैशाख, जेठ, असार र साउन महिना रोगव्याधि तथा महामारी फैलने, विभिन्न किसिमका प्राकृतिक बिपत्तीका महिना मानिन्छन् । यस्तो संकटग्रस्त महिनामा मरिन्छकी भनेर बैशाख सक्रान्तीमा बिशु मनाउने र भदौ सक्रान्तीमा ओल्के मनाउने प्रचलन रहिआएको छ ।
यस्तै आजनै सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा गोठालाहरु मिलेर रूखका हांगाबिंगा झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । जसलाई स्थानिय भाषामा ‘बुढी हालेको’ भनिन्छ । सो बुढीलाइ असोज संक्रान्तीको राती पोल्ने गरिन्छ ।
जसलाई ‘बूढी पोल्ने’ भनिन्छ । यसलाई द्वापरकालिन समयमा श्रीकृष्णद्वारा मारिएकी राक्षस ‘पुतना’को कथासङ्ग पनि जोडिएकोछ । बुढी पोलेमा लुतो लगायतका रोगहरुबाट सम्पुर्ण परिवारजन तथा चौपायाहरु मुक्त हुने विश्वास रहिआएको छ ।