धनगढीः कैलालीको धनगढीमा द्वारिकादेवी ठकुरानी र केआई सिंहको सालिक निर्माण गरिने भएको छ। धनगढी उप–महानगरपालिकाले द्वारिकादेवी ठकुरानी र केआई सिंहको सालिक बनाउने भएको हो।



सुदूरपश्चिममा श्रीवृद्धि गर्न योगदान पुर्याएको भन्दै द्वारिकादेवी ठकुरानी र डाक्टर कुँवर इन्द्रजीत (केआई) सिंहको सालिक बनाउने नगर प्रमुख गोपाल हमालले बताए। उनले भने, ‘सुदूरपश्चिमको श्रीवृद्धि गर्नेहरूको सालिक निर्माण गर्दैछौ। पहिलो चरणमा एसियाकी पहिलो महिला मन्त्री द्धारिकादेवी ठकुरानी र केआई सिंहको सालिक निर्माण गर्ने छौ। चोकको नामाकरण पनि गर्नेछौ।’
सुदूरपश्चिममा जन्मिएर देशको विशिष्ट श्रेणीमा पुगेकाहरूको उपमहानगरपालिकाले सालिक निर्माण गर्ने भएको हो। पहिलो चरणमा द्वारिकादेवी ठकुरानी र केआई सिंहको सालिक निर्माण गरिने छ। सिंह विसं १९६३ सालमा डोटीमा जन्मेका हुन। उनी भारतको बर्माबाट आयुर्वेद सम्बन्धी अध्ययन गरेका थिए। चिकित्सक वा विद्यावारिधि नगरेको भए पनि औषधीमुलो गर्ने भएकाले उनको नाम डा.के.आई. सिंह लेख्न थालिएको हो। २००७ साल कात्तिक २९ गते सिंहले बडाहाकिम कार्यालयमाथि पहिलो पटक आक्रमण गरेका थिए। सिंहको फौजले गोस्वारा (बडाहाकिम कार्यालय) बाहेक भैरहवाका अरू सबै कार्यालय माथि चार घण्टामा नियन्त्रण जमाएको थियो। पछि सरकारी सेना फिर्ता भएको थियो।
रक्षा दलमा परिणत भएको मुक्ति सेनाको सहयोगमा विद्रोह गरी उनी मुक्त भए। त्यहाँ कार्यरत सिपाहीहरूलाई नै प्रभावमा लिई सिंहदरबार नै नियन्त्रण गरेर विद्रोह गरेका थिए। सिंहदरबार बाहिर रहेको सेना र भित्र रहेको विद्रोही सेनाबिच गोली हानाहानसमेत भएको थियो। राजा महेन्द्रले २०१२ भाद्र २७ गते उनले आत्मसमर्पण गरी माफी मागेकाले आरोपहरू खारेज गरी माफी दिएका थिए। २०१४ सालमा सिंहलाई राजाले प्रधानमन्त्री बनाए। पञ्चायती व्यवस्थामा पनि उनी सांसदसम्म भए। सिंहको घाँटीको क्यान्सरको उपचारका क्रममा थाइल्याण्डको बैङ्ककमा निधन भएको हो।
द्वारिकादेवी ठकुरानीको जन्म १९७४ मा डोटीको सिलगढीमा भएको हो। उनका बुवा वामदेव पन्त राणाकालमा इलाम र डोटी गौडामा खरिदार थिए। बुवा आमा डोटीमा रहँदा द्वारिकादेवी सिलगढीमा जन्मेकी थिइन। वामदेव पन्तको पुर्ख्यौली घर डोटीकै दानकोट गर्खाको जिजौडामाण्डू जैनोलीमा हो। द्वारिकादेवीले विसं. १९९२ मा बैतडी तल्लो स्वराडका जिम्मुवाल उद्धवबहादुर चन्दसँग अन्तरजातीय प्रेम विवाह गरेकी थिइन। ब्राह्मण परिवारमा जन्मेकी द्वारिकाका श्रीमान उद्धबबहादुर चन्द ठकुरी थिए। सोही कारण पछि द्वारिकाले आफ्नो थर ठकुरानी लेख्ने गरेकी हुन्।
२०१४ सालमा सिमराबाट काठमाडौँका लागि उडेको प्लेन दुर्घटनामा नेपाली काँग्रेस डडेल्धुराका युवा नेता नारायणीदत्त चटौत (एन.डी.प्रकाश चटौत)को दुःखद निधन भयो। सोही कारण नेपाली काँग्रेसले २०१५ सालको आम निर्वाचनमा क्षेत्र नं. ६६ डडेल्धुराबाट द्वारिकादेवी ठकुरानीलाई उम्मेद्वार बनाएको थियो। २०१५ को आम निर्वाचनमा द्वारिकादेवीले पूर्वप्रधानमन्त्री डा. के.आई.सिंह नेतृत्वको संयुक्त प्रजातन्त्र पार्टीबाट उम्मेद्वार लक्ष्मीदत्त भट्टलाई हराएर चुनाव जितेकी थिइन।
२०१५ को आम निर्वाचनमा विजय भएपछि द्वारिकादेवी २०१६ जेठ १३ गते प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको सरकारमा उपमन्त्री र २०१६ असार १८ गते मन्त्रिमण्डल पुनर्गठन हुँदा स्वास्थ्य तथा स्थानीय स्वायत्त शासन सहायक मन्त्री बनेकी थिइन। वीपी कोइराला मन्त्रिमण्डलमा द्वारिकादेवी र उनका भाइ शिवराज पन्त सँगै मन्त्री बनेका हुन्।
२०१७ पुस १ गतेको कू मा पक्राउ परेकी द्वारिकादेवी पुस ८ गते छुटेर कलकत्ता पुगेकी थिइन। कलकत्तामा रहेका विघटित कोइराला सरकारका उपप्रधानमन्त्री सुवर्णशम्शेरलाई भेटेर द्वारिकादेवी नेपाली काँग्रेसले राजा महेन्द्रको सत्ता विरुद्ध चलाएको सशस्त्र सङ्घर्षमा सामेल भएकी थिइन। आठ वर्ष प्रवासमा बिताएर आममाफी पछि द्वारिकादेवी २०२५ सालमा नेपाल फर्केकी थिइन। जीवनको उत्तरार्धमा कैलालीको जुगेडामा बस्दैआएकी द्वारिकादेवीको २०५९ मंसिर २४ गते निधन भएको हो। – Dinesh khabar

























