२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

सीमा बन्द हुँदा नेपालको अर्थतन्त्रलाई टेवा

 काठमाडौं । गत आर्थिक वर्षको पहिलो ४ महिनामा २० करोड ७५ लाख रुपैयाँको गहुँ आयात भएको कपिलवस्तुको सुठौली भन्सार कार्यालयबाट चालु आवको यही अवधिमा १ अर्ब ८ करोडको गहुँ आयात भयो ।

गत आवको पहिलो ४ महिनामा ९ करोड ४८ लाखको धान र १२ करोड २ लाखको चामल आयात भएको सुठौली भन्सारबाट चालु आवको यही अवधिमा ६१ करोड ५ लाखको धान र ३८ करोड ७३ लाखको चामल भित्रिएको देखिन्छ । गत वर्ष यही अवधिमा एक रुपैयाँको पनि आलु नभित्रिएको सुठौलीबाट यो वर्ष ३७ करोडको आलु आयो ।

गत वर्ष ५ लाख ५२ लाख रुपैयाँको मार्बल स्ल्याब भित्रिएको यो नाकाबाट यसवर्ष कात्तिकसम्म १९ करोड ५१ लाखको मार्बल स्ल्याब र १० करोड ४७ लाखको चिनी भित्रिएको छ । गत वर्षको यही अवधिमा १ करोड ६६ लाखको चिनी भित्रिएको थियो ।

सुठौली भन्सारबाट मालसामान आयात सामान्य अवस्थामा भन्दा कोरोना महामारीमा ह्वात्तै बढेको यो तथ्यांकले देखाउँछ । सुठौली मात्रै होइन, अधिकांश साना र मझौलास्तरका भन्सार कार्यालयहरुको तथ्यांक अहिले यस्तै छ ।

औपचारिक अर्थतन्त्रलाई बल

भन्सार विभागका अनुसार लकडाउनअघिको सामान्य अवस्थामा देशभरका भन्सारबाट दैनिक औसत ४ अर्बदेखि ५ अर्बसम्मको आयात हुन्थ्यो । अहिले त्यो अनुपात ५–६ अर्ब पुगेको छ । महामारीले आयात प्रभावित पारेको बेला साना भन्सार कार्यालयहरुबाट उठेको करले राजस्व असुली बढाउन सहयोग पुर्‍याएको छ ।

विभागका महानिर्देशक सुमन दाहाल ठूलाभन्दा साना र मझौला भन्सार कार्यालयको राजस्व असुली वृद्धिदर उत्साहजनक देखिएको बताउँछन् । नेपाल–भारत सीमा नाकामा आवात–जावत कडाइ गरिएको बेला यो तथ्यांक आएको छ ।

नेपाल सरकारले सधैं खुला रहने नेपाल–भारत सीमा नाका ११ चैत २०७६ देखि बन्द गरेको छ । नेपाल–भारत सीमामा २४ वटा भन्सार नाका छन् । सीमा क्षेत्रमा आवत–जावत भने चलिरहेकै छ । पोके तस्करी पूर्ण नियन्त्रण नभएपनि निकै कमी आएको छ । र, राजस्व अधिकारीहरुको निष्कर्ष छ– सीमामा कडाइ नेपालको अर्थतन्त्रलाई लाभदायी हुने रहेछ ।

अर्थसचिव शिशिरकुमार ढुंगाना सीमा क्षेत्रमा सुरक्षा कडाइ गरिएपछि भन्सार राजस्वमा सकारात्मक प्रभाव देखिएको बताउँछन् । उनका अनुसार चोरबाटोबाट आयात–निर्यात गर्नेहरुले सीमा क्षेत्रमा कडाइ भएपछि औपचारिक बाटो प्रयोग गर्न थालेका छन् ।

‘सीमा क्षेत्रमा बढेको प्रहरी गस्तीले सबैलाई ‘रुट’मा ल्याएको छ,’ ढुंगाना भन्छन्, ‘सीमा क्षेत्रमा तस्करी नियन्त्रण गर्न सके राजस्वको बढाउन ठूलो मद्धत पुग्ने देखियो ।’

भारतबाट हुने तस्करीले आयातको एक तिहाईभन्दा बढी हिस्सा अनौपचारिक अर्थतन्त्रसँग जोडेको मानिन्छ । अर्थसचिव ढुंगाना सीमा सुरक्षामा ध्यान दिँदा  अर्थतन्त्रमा राम्रो संकेत देखिएको बताउँछन् ।

सीमाका बजारमा स्वाभाविक चक्र

नेपाली बजारमा अपुग हुने वस्तु भारतीय बजारबाट आयात गरिन्छ । आयातको काम होलसेल र र ठूला आयातकर्ताले गर्छन् । उनीहरुले आन्तरिक बजारमा भित्र्याएको समान खुद्रा बिक्रेताकोमा पुग्छ । खुद्रा बिक्रेताहरुबाट उपभोक्ताले किन्छन् । यो बजारको स्वाभाविक चक्र हो ।

भन्सार विभागका महानिर्देशक सुमन दाहाल सीमा क्षेत्रका बजारमा बजारको स्वाभाविक चक्र देखिन थालेको बताउँछन् । तर, उपभोक्ता आफैं भारततिरको सस्तो बजार पुग्ने हुँदा सामान्यतः सीमा बजारमा दैनिक उपभोग्य वस्तुको बजार चक्र त्यस्तो हुँदैन ।

सीमा क्षेत्रका बजारमा भारतबाट पोके तस्करी गरेर सामान बेच्नेहरु सक्रिय छन् । कतिपय सीमा क्षेत्रका नेपाली भारतीय बजारमा निर्भर हुनुपर्ने बाध्यतासमेत छ ।

भारतमा उत्पादन हुने सामान औपचारिक आयात गर्दा लाग्ने भन्सार दस्तुरले नेपाली बजारमा स्वाभाविक मूल्य बढाउँछ । त्यसैले आफूलाई आवश्यक सामान किन्न भारतीय बजारमा जाने नेपालीको संख्या ठूलो थियो । तर, लकडाउनपछि सीमामा आवातजावत सहज छैन ।

अहिले उपभोक्ता आफैं आयातकर्ता बन्न सक्ने स्थिती नभएको महानिर्देशक दाहाल बताउँछन् । उनी भन्छन्, ‘त्यसैले सँधै सुनसान हुने सीमा क्षेत्रका नेपाली बजार गुल्जार देखिन थालेका छन् ।’

हुनपनि भैरहवा, वीरगन्ज, विराटनगरजस्ता सीमा सहरहरुमा खुलेका सुपरमार्केटमा भिड बढेको प्रष्टै देखिन्छ । खुद्रा र होलसेल ब्यापारीको अनुभव पनि त्यस्तै छ । भारतीय मालका आयातकर्ताहरु ब्यापार बढेको अनुभव सुनाउँछन् ।

थोरै–थोरै बोकेर ल्याउन सकिने वस्तुहरु अहिले औपचारिक रुटबाट आयात हुन थालेको महानिर्देशक दाहाल बताउँछन् । त्यसबाट भन्सार असुलीमा राम्रो प्रभाव परेको छ ।

सीमा बन्दको ८ महिनामा के भयो ?

भन्सार विभागले महामारीको जोखिमका कारण २०७६ चैतमा सीमा नाका बन्द भएदेखि २०७७ कात्तिकसम्मको आयात रेकर्डलाई गत वर्षको यही अवधिसँग तुलनात्मक विश्लेषण गरेको छ ।

नाका बन्द भएपछि मूल्यका आधारमा सबैभन्दा धेरै डिजेल, एमएस बिलेट, भटमासको कच्चा तेल, मोबाइल, एलपी ग्यासको आयात भएको छ । डिजेल र एमएस बिलेटको आयात उच्च हुने भएकाले स्वभाविक भएपनि कच्चा तेल र मोबाइलको आयात उच्च रुपमा बढेको छ ।

नेपालमा तस्करीमार्फत धेरै मोबाइल सेट भित्रिने मानिन्छ । मोबाइल आयातकर्ताहरुले लामो समयदेखि तस्करी रोक्न माग गर्दै आएका थिए । लकडाउनपछि मोबाइलको प्रयोग पनि बढेकाले आयात बढ्न पुगेको देखिन्छ ।

चैतदेखि कात्तिकसम्मको अवधिमा च्वयनप्रास/त्रिफलाको आयात २२३ प्रतिशत मिश्रित मसलाको आयात २८ प्रतिशत बढेको छ । त्यस्तै, तरकारीको बीउको आयात २८ प्रतिशत, सुती कपडाको २.५ प्रतिशत, ल्वाङको १०१ प्रतिशत र पाल/त्रिपालको आयात ६८ प्रतिशतले बढेको छ ।

चालु आवको पहिलो चार महिनामा रु.१४ अर्ब १५ करोडको मोबाइल भित्रिएको देखिन्छ । गत वर्ष यही अवधिमा ८ अर्ब ६२ करोडको मात्रै मोबाइल आयात भएको थियो ।

भटमासको कच्चा तेलको आयात पनि बढेको छ । विभागका अनुसार चिनी, चामल, गहुँ, धान, तोरी, रायो, भटमासको पिना, गेडागुडी जस्ता वस्तुहरुको आयातमा उच्च रुपमा बढेको छ ।

परिमाणअनुसार डिजेल, पेट्रोल, हावाइजहाज तथा हेलिकोप्टरका पाटपुर्जा, तयारी कपडा, सुन जस्ता वस्तुहरुको आयातमा पनि बढोत्तरी भएको छ ।

समूहगतरुपमा हेर्दा खाद्यान्नको आयातमा उच्च वृद्धि भएको विभागले बताएको छ । अघिल्लो पटकको चैत–कात्तिक अवधिमा २७ अर्ब ४४ करोड रुपैयाँको खाद्यान्न आयात भएकोमा यो वर्ष ४४ अर्ब ९० करोडको खाद्यान्न आयात भएको छ । यो १७ अर्ब ४६ करोडले बढी हो ।

विशेषगरी भारतबाट पोके तस्करीमार्फत भित्रिने सामानमा भएको आयात वृद्धिले विभाग उत्साहित छ ।

२०७६ चैतदेखि २०७७ कात्तिकसम्मको अवधिमा चिनीको आयात १८ गुणा बढेको छ । चामलको आयात ४६ प्रतिशत, गहुँको करिब डेढ गुणा अर्थात् ११४ प्रतिशत, दाल तथा गेडागुडी ५५ प्रतिशत, धान १३३ प्रतिशत, तोरी/रायोको आयात ७० प्रतिशत बढेको छ ।

भटमासको पिनाको आयात ७३ प्रतिशतले बढ्दा आलु २५ प्रतिशत, कनिका १९० प्रतिशत, किटनाशक औषधि ६३ प्रतिशत, जीरा ५४ प्रतिशत, खुर्सानी ७१ प्रतिशत, नुहाउने साबुन ५३ प्रतिशत, ग्यास लाइटर २२५ प्रतिशत र धनिया आयात ७० प्रतिशतले बढेको देखिन्छ ।

त्यस्तै, बेसार आयात १३९ प्रतिशतले बढेको छ भने फापर ६३ प्रतिशत, कोदो ६३ प्रतिशत, ओखर ५५ प्रतिशत, बदाम ४९ प्रतिशत, फुड सप्लिमेन्ट ९५ प्रतिशत, कागती ३९ प्रतिशत, काजु २३ प्रतिशत, नमकिन/भुजिया ३६ प्रतिशत, सुकाएको लसुन ६२ प्रतिशत, स्याम्पु २४ प्रतिशत र सुकमेलको आयात १९ प्रतिशतले वृद्धि भएको छ ।

चैतदेखि कात्तिकसम्मको अवधिमा च्वयनप्रास/त्रिफलाको आयात २२३ प्रतिशत मिश्रित मसलाको आयात २८ प्रतिशत बढेको छ । त्यस्तै, तरकारीको बीउको आयात २८ प्रतिशत, सुती कपडाको २.५ प्रतिशत, ल्वाङको १०१ प्रतिशत र पाल/त्रिपालको आयात ६८ प्रतिशतले बढेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।