महेन्द्रनगर – पञ्चेश्वर गाउँपालिकाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ ।



पञ्चेश्वर ६ मा गत वैशाख २० गते चट्याङ लागेर मृत्यु भएका वडा सदस्य गोविन्द सिंह भण्डारीको शव अस्पताल लैजाने क्रममा जीप दुर्घटना हुँदा ५ जानको ज्यान गएको थियो ।
गाउँपालिकाले वडा सदस्य भण्डारी सहित दुर्घटनामा मृत्यु भएका सबैका परिवारलाई सहयोग गर्न लागेको हो ।
गाउँपालिकाले वडा सदस्य भण्डारीका परिवारलाई चार लाख र अन्यलाई प्रति परिवार एक÷एक लाख सहयोग गर्न लागेको अध्यक्ष गोरख बहादुर चन्दले बताए ।
यस अघि मृतकका परिवारलाई तत्काल ५० हजारका दरले सहयोग गरिएको थियो । ‘मृतकका परिवारलाई व्यवसाय गर्नका लागि एक लाखका दरले सहयोग दिने निर्णय समेत भएको छ, दुर्घटनामा घाइते र मृत्यु भएका गरी १० परिवारका लागि महिला लक्षित कार्यक्रमबाट यसै आर्थिक वर्षमा अनुदान दिनेसमेत निर्णय गरेका हौं’ अध्यक्ष चन्दले भने ।
दुर्घटनामा घरका पुरुष मानिस बितेपछि महिलाहरुलाई जीविकोपार्जनमा समस्या भएकोले व्यावसायिक अनुदान दिने निर्णय भएको अध्यक्ष चन्दले बताए ।
उनीहरुका सन्तानलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृति उपलब्ध गराउने निर्णय पनि गरिएको छ । दुर्घटनामा घाइते भएका व्यक्तिको उपचार खर्चको आधा गाउँपालिकाले व्यहोर्ने भएको छ ।

























