कैलालीको अत्तरियामा रहेको मालाखेती अस्पताललाई बुधबार अक्सिजन सिलिण्डर सहयोग गरिएको छ । ‘मानवका लागि मानवियता’ भन्ने मुल नाराका साथ जनता बचाउ सुप युवा सहयोग अभियानले अस्पताललाई अक्सिजन सिलिण्डर तथा स्वास्थ्य सुरक्षाका सामग्रीहरु सहयोग गरेको हो ।



अस्पतालमा कोरोनाका बिरामीहरुको सहज रुपमा उपचार होस भन्ने उद्देश्यले कोभिड – १९ आईसोलेसन वार्डमा आवश्यक पर्ने अक्सिजन सहित अन्य स्वास्थ्य सुरक्षाका सामग्रीहरु सहयोग गरेको अभियानका अभियान्ता निर्मल बिष्टले बताए ।
उनले कोरोनाको महामारीका बिच अक्सिजन अभावले गर्दा यहाँका धेरै नागरिकहरुले अकालमै ज्यान गुमाएको बताए । उनले अव अक्सिजन अभावकै कारण कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस भनेर सबै साथीहरुको सहयोगले सामग्री अस्पताललाई सहयोग गरेको बताए ।
कोरोना महामारीका बिच विदेशमा रहेका आफ्ना साथीहरुको मुख्य सहयोगले आफुले अस्पताललाई उक्त सामग्रीहरु उपलब्ध गराएको उनले बताए ।
अभियान अन्तरगत ७ थान अक्सिजन सिलिण्डर, सेनिटाईजर (सानो) ४ बोतल, सेनिटाईजर (ठुलो) २५ लिटर, पिपिई सेट ५ थान, डिस्पोजल ग्लब्स २ सय जोडी, सर्जिकल मास्क १ हजार ७ सय ५० पिस र फेस सिल्ड ३० वटा अस्पताललाई सहयोग गरिएको थियो ।
सहयोग गरिएको उक्त सामग्री अभियानका संयोजक विष्टले गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिँह साउँदलाई हस्तान्तरण गरेको बताए ।

























