२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

नरभक्षी बाघ नियन्त्रणका लागि प्राविधिक टोली कैलाली

धनगढी,४ फागुन । नरभक्षी बाघ नियन्त्रणका लागि प्राविधिक टोली कैलाली आइपुगेको छ । बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोली मंगलबार बाघ प्रभावित क्षेत्रमा आएको हो । टोलीले आफ्नो काम थालेको छ । बाघलाई नियन्त्रणमा लिनका लागि सबैभन्दा पहिले बाघ बस्ने ठाउँ पत्ता लगाउने कार्यमा टोली जुटेको छ । त्यसका लागि गौरीगणेश सामुदायिक वनमा स्वचलित क्यामेरा जडान गरिएको छ । सो सामुदायिक वनमा पाँच ठाउँमा क्यामेरा जडान गरिएको जनाइएको छ ।

‘बाघलाई नियन्त्रणमा लिनका लागि सबैभन्दा पहिले बाघ कता छ भनेर पत्ता लगाउन आवश्यक छ’, डिभिजन वन कार्यालयका प्रमुख रामचन्द्र कँडेलले भने । ‘त्यसका लागि क्यामेरा ट्रयाप गर्ने कार्य भएको छ ।’ उनले बाघको स्थान पत्ता नलगाइकन प्राविधिक टोलीले नियन्त्रणको काम गर्न गाह्रो रहेको बताए ।

गौरीगङ्गा नगरपालिकाको बढैपुर, राजिपुर, अण्डैया, कैलारी गाउँपालिकाको उदासीपुर, दुधिया क्षेत्रमा भागले ओहोरदोहोर गरिसकेको छ । क्यामेरा ट्रयापबाट बाघको लोकेशन पत्ता लगाएर नियन्त्रणको कार्य अगाडि बढाइने जनाइएको छ । यद्यपि, नरभक्षी बाघलाई कसरी नियन्त्रणमा लिने भन्ने कुरामा अन्यौल सृजना भएको छ ।

राष्ट्रिय निकुञ्जहरुमा नरभक्षी बाघ वा हिंस्रक वन्यजन्तुलाई हात्तीको प्रयोग गरेर नियन्त्रणमा लिने अभ्यास हुँदै आएको छ । तर, निकुञ्जबाट कैलालीसम्म हात्ती कसरी ल्याउने भन्ने कुराकै निक्र्यौल हुन सकेको छैन । यहाँसम्म हात्ती कसरी ल्याउने भन्ने विषयमा समस्या भएको डिभिजन प्रमुख कँडेलले बताए । ‘अहिले क्यामेरा ट्रयाप गरेर लोकेशन पत्ता लगाउने कार्यमात्रै हुने भएकाले हात्ती चाहिदैन’, उनले भने ।

नरभक्षी बाघ नियन्त्रणमा नआएपछि स्थानीयमा त्रास बढेको छ । थप मानवीय क्षति हुन नदिनका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । आइतबार बाघले गौरीगङ्गा नगरपालिका–५ अण्डैयाकी कला धामीको ज्यान लिएको थियो । यसैगरी, बाघको आक्रमणबाट कैलारी गाउँपालिका–८ दुधियाका दुर्गाप्रसाद चौधरी घाइते भएका छन् ।
बाघ र मान्छेबीच कैलालीमा पहिल्यैदेखि द्वन्द्व
बलियाका तेजजंग थापा जमिन्दार थिए । कुनै बेला कैलालीमा बाघ मार्ने गर्दथे, उनी । स्थानीयका भनाइ अनुसार थापाले बाघ मार्ने लाइसेन्स पाएका थिए । उनले, कति बाघ मारे, त्यसको तथ्याङ्क भने पाइएको छैन ।यस्तै, करिब २०३५ सालतिर लम्कीचुहाकै डुडेझारी जंगलमा बाघले मान्छे मारेको बताइन्छ । कैलालीमा वन्यजन्तु र मानवीच द्वन्द्व अहिलेदेखि नभइ पहिल्यैदेखि कायम रहेको छ । कुनै बेला मान्छेले बाघलाई मारेका छन् । भने, कुनै बेला बाघले मान्छेलाई ।

स्थानीय संरक्षकर्मी विजयराज श्रेष्ठका अनुसार २०४२ सालमा भजनी नगरपालिकाको रजवारास्थित भजनी बाँध नजिक शिकारीले मारेको अवस्थामा बाघ फेला परेको थियो । त्यसैगरी, २०७५ मा जोशीपुर गाउँपालिका–३ को शंकर सामुदायिक वनमा पाटेबाघ मृत अवस्थामा फेला परेको थियो ।

बसन्ता (बडका बनुवाँ) मा सालको पात टिप्न गएको बेला कैलारी गाउँपालिका–७ भुईयाँफाँटाका आशाराम डङ्गौरामाथि बाघले आक्रमण गरेको थियो । बाघसंग लडेर ज्यान जोगाएका डङ्गौराले आफ्नो आवाज भने गुमाए । शरीरको विभिन्न ठाउँमा बाघको प्रहारका कारण उनी स्पष्टसंग बोल्न सक्दैनथे । बाघसंग लडेर ज्यान जोगाएको डङ्गौराको मृत्यु भइसकेको छ ।

यसैगरी, २०६२ सालमा बाघले साविकको लालबोझी गाविस–१ हिम्मतपुरका छेद्दुराम चौधरीमाथि आक्रमण गरेको थियो । बाघको आक्रमणबाट उनी पनि घाइते भएका थिए । त्यो घटनाको नौ वर्षपछि बाघले कैलालीमा अर्को एक व्यक्तिको ज्यान लियो ।२०७१ जेठ १९ मा साविकको पहलमानपुर नगरपालिका–९ नकफोरुवाका ५७ वर्षीय कालुराम डङ्गौरालाई बाघले मारेको थियो । वनमा महुवा बटुल्न गएका डङ्गौरामाथि बाघले आक्रमण गरेको थियो । महुवाको रुखमुनि नै डङ्गौरालाई मारेको बाघले उनको शरीरको तल्लो भागबाट मासु खान सुरु गरेको थियो ।

घटनाको दोस्रो दिनमात्रै डङ्गौरा शरिरको तलको भाग खाइएको अवस्थामा लाश फेला परेको थियो । बच्चासहितको पोथी बाघले उनीमाथि आक्रमण गरेको पुष्टि भएको थियो । शव वरपर डमरुको पञ्जा पनि देखिएको थियो । कुनै पनि जनावरलाई मारेर भाले बाघले आहाराको टाउकोबाट र पोथी बाघले खुट्टातिरबाट खान सुरु गर्ने गरेको बताइएको छ ।

नकफोरुवा घटनाको छ वर्षपछि कैलालीमा फेरि बाघले मानवीय क्षति गरेको छ । कैलालीको बसन्ता जैविकमार्ग बाघको प्राकृतिक बासस्थान रहेको संरक्षणकर्मी श्रेष्ठ बताउँछन् । ‘यहाँ बेला–बेलामा बाघ देखिएकै छन्’, उनले भने । ‘कैलालीको वन बाघको प्राकृतिक बासस्थान हो ।’

भारतको दुधुवा नेशनल पार्कबाट बसन्ता वनमा पोथी बाघ आफ्नो बच्चा हुर्काउनका लागि आउने गरेको बताइएको छ । दुधुवामा बाघको संख्या बढी छ । बढी रहेको भाले बाघले बच्चा मार्ने गरेका कारण पोथी बाघ बच्चा हुर्काउन बसन्ता जैविक मार्गमा आउने गरेको बताइन्छ । बाघको आउजाउ भइरहने गरेका कारण बेला–बेलामा बाघ र मान्छेबीच द्वन्द्व भइरहेको छ । यस्ता द्वन्द्व न्यूनीकरणका लागि निश्चित ठाउँलाई संरक्षित क्षेत्र बनाउन आवश्यक रहेको श्रेष्ठले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।