सुनसरी २९ कात्तिक । सुनसरीमा कोरोनाबाट शनिबार एक सुत्केरीको मृत्यु भएको छ । पाँचदिन अघिमात्र सुत्केरी भएकी बराहक्षेत्र नगरपालिका-५ की १९ वर्षीया महिलाको शनिबार बिहान साढे ४ बजे कोरोना संक्रमणबाट मुत्यु भएको हो ।



सुत्केरी व्यथाले च्यापेपछि उनी चतरा वर्थिङ सेन्टरमा कात्तिक २२ गते बेलुका ८ बजे पुगेकी थिइन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरेपनि त्यहाँ नगइ विराटनगरको एक अस्पतालमा गएर बच्चा जन्माएपछि घर फर्केकी थिइन् । बराहक्षेत्रस्थित घर फर्केको तीन दिन पछि उनलाई ज्वरो, खोकी र स्वासप्रश्वासमा समस्या देखिएको थियो ।
स्वासप्रश्वासमा जटिल भएपछि उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो । उनलाई कोरोना संक्रमणको आशंका गरेर स्वाब परीक्षण गर्दा कात्तिक २८ गते कोरोना पोजिटिभ पुष्टि भएको प्रतिष्ठानका सह-प्रवक्ता डा.आशिष श्रेष्ठले बताए ।
उनका अनुसार सोही दिन कोभिड अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको थियो । घरैमा रहेको नवजात शिशुको अवस्था भने सामान्य रहेको जानकारी प्राप्त भएको प्रतिष्ठानका स्त्री तथा प्रसूति विभागका प्रमुख डा. अचला ठाकुरले बताइन् ।

























