काठमाडौं- आन्तरिकतर्फको नियमित व्यावसायिक उडान असोज ५ गतेबाट नै सुरु हुने भएको छ। बुधबार पर्यटन मन्त्रालयमा भएको आन्तरिक वायुसेवा सञ्चालनसम्बन्धी बैठकले असोज ५ गतेबाट नियमित उडानका लागि अनुमति दिने निर्णय गरेको हो।



नेपाल सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले असोज १ गतेबाट नै आन्तरिक उडान खोल्ने निर्णय गरेको भए पनि आवश्यक तयारी नपुग्ने भन्दै असोज ५ बाट मात्रै उडान अनुमति दिइने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए।
उनले भने, ‘आन्तरिक उडान खुलेको त असोज १ बाट नै हो। तर, एयरलाइन्स कम्पनीले टिकट बुकिङ गर्नुपर्यो। आजको भोलि नै टिकट बुकिङ हुने वा टिकट काट्ने भन्ने हुँदैन भने अन्य तयारीका लागि पनि समय चाहिने हुन्छ।’ पोखरेलले सोही अनुसार फरक एयरलाइन्सका उडान पनि फरक मितिबाट सुरु हुन सक्ने भए पनि नियमित व्यावसायिक उडान अनुमति असोज ५ बाट नै दिइने स्पष्ट पार बताएका छन्।
आन्तरिक वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माका अनुसार सरकारले ५० प्रतिशत यात्रु उडाउनुपर्ने भनेको छ। यसो हुँदा हवाई भाडा महँगो हुने निश्चित बनेको छ। हवाई भाडा बढाउने सम्बन्धमा छलफल गर्न भनिएको प्राधिकरणका महानिर्देशक पोखरेलले जानकारी दिए।

























