कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं ९ को वृन्दावन सामुदायिक वनको गौशालामा रहेका पशुहरुको उपचारमा एनिमल नेपालले सहयोग गरेको छ ।



संस्थाले पशुहरुको आहार र उपचारका लागि भन्दै १ लाख ४५ हजार रकम प्रदान गरिसकेको वडाध्यक्ष रमेश बहादुर ऐरले बताए । एनिमल नेपालले पशुहरुको आहारका लागि ब्रान, नुन र औषधी सहयोग गरेको हो ।
गौशालामा हाल रहेका २ सय ३० वटा गाईहरुको उपचारका लागि संस्थाले पशु चिकित्सक समेत पठाएको जानकारी दिए ।
यस्तै वडाअध्यक्ष ऐरले गौशालामा तारबार लगाउनका लागि आवश्यक पर्ने सामाग्रीको माग गर्दै संस्थालाई प्रस्ताव समेत पेश गरिएको बताएका छन् ।

नगरपालिकाले यसअघि वडा नं ८ स्थित वैजनाथ सामुदायिक वनमा गौशाला निर्माण गरि गाईगोरु व्यवस्थापन गर्दै आएको थियो ।
उक्त गौशालाबाट गाईहरु नगरपालिका कार्यालयको कम्पाउण्ड भित्र हुलिँदा समस्याले विकराल रुप लिएपछि हाल वडा नं ९ स्थित वृन्दावन सामुदायिक वनमा गौशाला निर्माण गरि व्यवस्थापन गरिएको छ ।

























