काठमाडौँ । कोरोनाभाइरस महामारी सुरु भएयता विश्वभरि यो रोगसँग जुध्न तीनवटा सामान्य विधि विश्व स्वास्थ्य सङ्गठन र धेरै देशका सरकारहरूले अघि सारिरहेका छन्। नेपाल सरकारले पनि एसएमएस भनेर सामाजिक दूरी, मास्कको प्रयोग अनि बेलाबेला साबुन वा स्यानिटाइजरले हात सफा गर्न आह्वान गरिरहेको छ।



व्यक्तिगत सरसफाइलाई कोरोनाभाइरसबाट जोगिने उत्तम उपाय मानिएको छ। त्यसका लागि घरभित्र बस्दा साबुनपानीको प्रयोग बढी प्रभावकारी र किफायती मानिन्छ। तर बाहिर निस्किँदा साबुनपानी प्रयोग गर्न सम्भव नहुने हुँदा तत्काल हात सफा गर्न स्यानिटाइजर उचित मानिन्छ।
तर के बजारमा पाइने जुनसुकै स्यानिटाइजर प्रभावकारी छन् त ?
यसबारे नेपालमा कुनै विस्तृत अनुसन्धान त भएको छैन तर मुख्य नियामक निकाय औषधि व्यवस्था विभागले गर्दै आएको निरीक्षण अनुगमनमा कतिपय स्यानिटाइजर गुणस्तरहीन हुनसक्ने पाइएको छ।
“यो महामारी सुरु भएपछि चैत ९ गते हामीले स्यानिटाइजरको गुणस्तरसम्बन्धी मापदण्ड बनायौँ र त्यसबमोजिम बजार अनुगमन गर्दै आएका छौँ। केही समयअगाडि १५० वटा नमुनामा परीक्षण गर्दा ३० वटा जति फेल पनि भएका पायौँ। त्यसैले सचेत भएर यसको प्रयोग गर्न जरुरी देखिन्छ,” विभागका महानिर्देशक नारायण ढकालले बताए। उनले खासगरी तीनवटा विषयमा ध्यान दिएर मात्र स्यानिटाइजर किन्न सुझाव दिएका छन् :
अल्कोहलको मात्रा : कुनै पनि स्यानिटाइजर किन्दा त्यसको लेबल हेरेर त्यसमा अल्कोहलको मात्रा ७०-८० प्रतिशत भएको खण्डमा मात्र किन्नुपर्छ, दर्ता: नियामक निकाय औषधि व्यवस्था विभागमा दर्ता भए वा नभएको पहिल्याउनुपर्छ, रङ्गरूप: झट्ट हेर्दा खेरि नै त्यसमा अन्य मिसावट भए वा नभएको निर्क्योल गर्नुपर्छ ।
कस्तो का’रबाही ?
चैतमा मापदण्ड लागु गरेपछि बेलाबखत विभागले निरीक्षण अनुगमन गर्दै आएको आधारमा अब भने गुणस्तरहीन स्यानिटाइजर उत्पादकहरूवि’रुद्ध का’रबाही गर्ने तयारी भइरहेको ढकालले बताए। “मापदण्ड पालना नगरेकाहरूलाई सार्वजनिक गर्ने तयारीमा हामी छौँ,” उनले भने।
यसबीच नेपाल विज्ञान प्रविधि प्रतिष्ठानकी वैज्ञानिक डा. टिस्टा प्रसाईँ जोशीले पनि आफूहरूले गरेको प्रारम्भिक जाँचमा कतिपय स्यानिटाइजर प्रभावकारी नभएको हुनसक्ने पाइएको जनाएकी छन्।
“म’हामारी सुरु भएपछि नास्टकै पहलमा स्यानिटाइजर उत्पादनबारे तालिम पनि दिइएको थियो। त्यसैको पनि प्रभावकारिता हेर्नुपर्ने हुँदा हामीले ती अनि बजारका सहित कुल २१ वटा नमुना जाँच गरेका थियौँ,” उनले भनिन्।
कीटाणुवि’रुद्ध कति प्रभावकारी ?
तर ती स्यानिटाइजरहरू सूक्ष्मजीव मार्न कति उपयोगी छन् त ?
डा. टिस्टा प्रसाईँ जोशी भन्छिन्, “स्यानिटाइजरले ब्याक्टेरियालाई कत्तिको मारेको छ भनेर हेर्दा ४५ प्रतिशत (नमुना)हरू प्रभावकारी देखिएनन्।” हुन त त्यो जाँचमा ब्याक्टेरियाको मात्र कल्चर गरेर परीक्षण गरिएको थियो। भाइरस जाँच गर्ने सुविधा भने नभएको उनले बताइन्।
उनका अनुसार बजारमा अहिले उपलब्ध स्यानिटाइजर कोरोनाभाइरस मार्न कति प्रभावकारी छन् भन्ने जान्न विस्तृत अध्ययन आवश्यक छ।
अमेरिकी नियामक निकायहरूले भाइरस मार्न सक्ने मापदण्डबारे स्पष्ट जानकारी दिइसकेको हुनाले तिनमै आधारित भएर बनाइएका मापदण्ड पालना भएरनभएको निरन्तर हेरिरहनुपर्ने उनको भनाइ छ।
“अहिलेको अवस्थामा सरसफाइबारे विशेष ध्यान दिनुपर्ने हुनाले स्यानिटाइजरको महत्त्व अत्यधिक बढिरहेको छ। यसको प्रयोगलाई प्रोत्साहन दिनैपर्छ। साथै हाम्रा नियामक निकायहरूले यसको गुणस्तर र प्रभावकारिताबारे पनि ध्यान दिइरहनुपर्छ भन्ने यसले देखाउँछ,” उनले भनिन्।
यस्तै स्यानिटाइजर संक्रामक तत्वहरु ब्याक्टेरिया, भाइरसहरुको संख्या कम गर्न अथवा सम्पूर्ण रुपमा सखाप पार्नको निम्ति प्रयोग गर्ने गरिएको छ। कोरोनाको संक्रमणमा यस्को प्रयोगमा व्यापकता आएको छ।
साधारणतया यो जेल, तरल, फिज र स्प्रेको रुपमा उपलब्ध छ। छालामा राम्रोसँग काम गर्ने हिसाबले जेललाई राम्रो मानिन्छ भने स्प्रेलाई सबैभन्दा घातक मानिन्छ। यस्को दुई वटा कारण छ। पहिलो हावामा घुल्ने भएको हुनाले श्वासप्रश्वासको माध्यमबाट फोक्सोमा जान्छ। अल्कोहल अत्यन्त प्रज्वलनशील पदार्थ भएको हुनाले आगलागीका सम्भावना प्रबल रहन्छ।
स्यानिटाइजर कहिले पनि हातमा बाहेक शरीरको अन्य भागमा प्रयोग गर्नु हुँदैन। हातमा पनि नारीसम्मको भागमात्र हो।
बजारमा स्यानिटाइजर दुई प्रकारको पाउने गर्छ। अल्कोहल भएको अनि अल्कोहल नभएको। अल्कोहल भएको स्यानिटाइजरमा सकृय पदार्थको रुपमा इथानोल अथवा प्रोपानोल भन्ने पाउछ भने अल्कोहल नभएको स्यानिटाइजर (एनएबीएस) मा प्रायः गरेर बेन्जलकोनियम क्लोराइड (बिएके) भन्ने एक किसिमको लवण पाइन्छ जस्ले किटनासकको रुपमा काम गर्छ। एनएबीएस स्यानिटाइजर प्रज्वलनशील हुँदैन, कम मात्रामा प्रयोग हुने भएको हुनाले बच्चाहरुको प्रयोगको लागि उपयुक्त मानिन्छ।
एबीएसमा कहिलेकाही मिथानोल नामको हानिकारक र विषाक्त पदार्थ (जुन एक प्रकारको अल्कोहल नै हो) राखेर बनाइएको हुन सक्छ। त्यस कारण स्यानिटाइजर किन्ने बेलामा जहिले पनि केके राखेर बनाइएको छ हेरेर मात्र किन्नु पर्दछ।
एबीएसले राम्रोसँग काम गर्नको लागि अल्कोहलको मात्रा जहिले पनि इथानोल ६० प्रतिशत भन्दा माथि र प्रोपानोल ७० प्रतिशत भन्दा माथि हुनु पर्दछ। त्यसै गरेर एनएबीएस मध्य बिएकेको मात्रा ०.१५ हुनु पर्दछ। राम्रोसँग काम गर्नको लागि हातमा फोहोर अथवा धुलो लागेको हुनु हुँदैन। स्यानिटाइजरले राम्रोसँग काम गर्नको लागि जहिले पनि करिब २-३ मिलीलिटर हातमा लिएर करिब २५(३० सेकेण्डसम्म लगाउनु पर्दछ।
स्यानिटाइजरमा भएको पदार्थले भाइरसको प्रोटिनको पत्रलाई पगालेर निस्कृय बनाउने काम गर्दछ। ६० प्रतिशत भन्दा कम मात्रामा भएको स्यानिटाइजरले भाइरसलाई निस्कृय बनाउन सक्दैन। एबीएस बाफ बनेर उडेर जाने हुनाले धेरै पटक लगाउन पर्ने हुनसक्छ तर एनएबीएस हातमा लामो समयसम्म संसर्गमा रहने हुनाले धेरै पटक प्रयोग गर्न नपर्ने हुनसक्छ।
हाम्रो छालाको स्वास्थ्य राम्रो राख्नको लागि चाहिने सहयोगी ब्याक्टेरियाहरु करोडौँको संख्यामा उपस्थित हुन्छन्। स्यानिटाइजरको प्रयोग चहिनेभन्दा बढी मात्रामा प्रयोग गरेमा छालाको लागि सहयोगी र हानिकारक दुवै किसिमका ब्याक्टेरिया मार्ने काम हुन्छ अनि छालामा अन्य स्थानका हानिकारक ब्याक्टेरिया विस्तारै जम्मा हुन जानाले छालाको अरु सं’क्रमण हुनसक्ने सम्भावना रहन्छ।
त्यस्तै स्यानिटाइजरको प्रयोगले छाला सुख्खा हुनसक्छ। स्यानिटाइजर किन्ने बेलामा ग्लिसिरिन मिसाएको किन्दा राम्रो हुन्छ। कहिलेकाही मिथानोल प्रयोग भएको स्यानिटाइजर प्रयोग भएको खण्डमा आँखा रातो हुने, बान्ता हुने, खोकी लाग्ने, पेट दुख्ने हुनुका साथै अति विषम् परिस्थितिमा आँखाको नसामा असर परी अन्धो पनि हुनसक्ने अथवा ज्याननै जानसक्छ।
एबीएसमा भएको अल्कोहलले बिरलै मात्रामा छालामा जलन गराउन सक्छ तर पहिलानै घाउ भएको छालामा अथवा सं’क्रमण भएको छालामा प्रयोग गरेको खण्डमा मात्र जलन गराउने हुन्छ।
प्राय गरेर एबीएस नै प्रयोग भएको हुनाले अल्कोहलको मात्रा ६० प्रतिशत भएकोले शरीरमा असर पुराउछ भन्ने भ्रम रहेको छ। शरीरमा कुनै पनि पदार्थले असर पुर्याउनको लागि त्यो पदार्थ कम्तिमा पनि श्वासप्रश्वास मार्फत, छाला मार्फत अथवा खाना मार्फत रगतमा पुग्नुपर्ने हुन्छ। रगतमा अल्कोहलको मात्रा २००-५०० मिली ग्राम प्रती एक लिटर रगतमा उपस्थित भएको खण्डमा धर्मराउने समस्या देखिन्छ भने ५००-१००० मिली ग्राम प्रति एक लिटर रगतमा उपस्थित भएको खण्डमा सोच्ने शक्तिमा कमी आउने कुरा अनुसन्धानले देखाएको छ।
यो तथ्यमा आधारित अनुसन्धान अनुसार २० मिली लिटर स्यानिटाइजर प्रत्यक २-२ घण्टामा प्रयोग गरेको खण्डमा १५ ग्राम अल्कोहल छालाको संसर्गमा आउछ जसमध्य करिब ०.६५ अल्कोहल मात्र रगतमा पुग्ने गर्दछ। यो भनेको प्रति एक लिटर रगतमा अल्कोहलको मात्रा जम्मा १०० ग्राम हुन आउछ।
यो मात्रा सुरक्षा र स्वास्थ्यको हिसाबले एक्दमै नगन्य हो। त्यसैमा पनि २० मिली लिटर अल्कोहल प्रयोग हुँदा पनि हुँदैन अनि जति स्यानिटाइजर प्रयोग हुन्छ, अधिकांश बाफ बनेर उड्छ। हावाको राम्रो आवत जावत नभएको खण्डमा त्यो बाफ श्वासप्रश्वास मार्फत फोक्सोमा जान सक्छ। त्यस्को लागि कोठाको बायुसंचार राम्रो बनाउनु पर्दछ। बाफ बनेको अल्कोहलले पार्ने असर अत्यन्त न्यून रहेको अध्ययनले देखाएको छ।
बेलाबेलामा व्यापक रुपमा छरिने किटनाशक पदार्थ सामान्यतया ठोस् तथा छिद्र नभएका वस्तुहरुमा प्रयोग गरिन्छ। च्याम्बर, टनेल र बाटोमा पाइप मार्फत मनिसमा छर्किने कुरा अनुमोदित भएको पाइदैन। अनि एनएबीएसमा अल्कोहल मिसाएर प्रयोग गरेमा असरदार हुने प्रमाण पनि छैन।
स्यानिटाइजरहरु सुगन्धित रुपमा आकर्षक तरिकाले राखिएको हुनाले बच्चाहरुले चहिनेभन्दा बडी प्रयोग गर्ने अथवा स्वादको लागि मुखमा लिन सक्छन्। अस्पतालमा स्यानिटाइजरको गलत प्रयोगको कारण आउने बिरामी मध्य ९० प्रतिशत जति बिरामी ५ वर्षभन्दा कम उमेरका बच्चा हुने गरेको देखिएको छ। त्यसैले स्यानिटाइजर बच्चाले पुग्न र देख्न नसक्ने ठाउँमा राख्ने अनि प्रयोग गर्ने बेलामा पाको मान्छेको उपस्थिति अनिवार्य हुनु पर्दछ। प्रयोग गरी सकेपछि असहज भएको खण्डमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गरी हाल्नु पर्दछ।
अहिलेसम्मको अनुसन्धान र प्रयोगको हिसाबले साबन पानीले २०-३० सेकेण्डसम्म मिचीमिची हात धुने बिधिनै उत्कृष्ट र प्रभावकारी मानिन्छ। स्यानिटाइजरको अत्यावश्यक अवस्था अथवा हात धुने व्यवस्था नभएको खण्डमा मात्र प्रयोग गर्न उचित हुन्छ। घरभित्रै बसेको अवस्थामा साबुन पानीकै प्रयोग गरौ जस्को कारण स्यानिटाइजरको पनि कम प्रयोग हुन्छ अनि भाइरसबाट पनि असरदार तरिकाले जोगिन पनि सकिन्छ।

























