मन्दिरमा पूजा गर्न प्रतिस्थापन गरिएको शिला जहिले पनि एकै ठाउँमा रहेको सबैले देखेका छौं।
बैतडीको पाटन नगरपालिका ६ कर्णाली गाउँमा रहेको डाँडाबाघको मन्दिरको शिलाले जाँत जात्रा पर्वका बेला आफैं ठाउँ परिवर्तन गर्दै आएको छ। मन्दिरमा पूजा गर्ने पूजारीले शिला प्रतिदिन अर्को ठाउँमा सरेको पाउने गरेका छन्।
शिला आफैँ ठाउँ सर्ने भएकाले यस मन्दिरलाई स्थानीयले लोटने देवता पनि भन्ने गरेका छन। स्थानीय बासिन्दा शिला एक ठाउँबाट अर्को ठाउमा सर्ने कार्यलाई दैवीक शक्तिका कारण भएको विश्वास गर्दछन।
दशरथ चन्द राजमार्गको खोड्पे चोकबाट करिब १० किलोमिटर टाठा रहेको पाटन नगरपालिका ६ को कर्णाली गाउँमा यो मन्दिर रहेको छ।
प्राचीनकालमा सुङरकोटका राजा खिप चनको दरवारमा नियुक्त कठायत (काजी) को श्रीमतीले सुर्नाया नदीमा ढुंगाको लिंग भेट्टाए गाउँनजिकै विधि विधानले पूजा गरी मन्दिरको स्थापना गरिएको स्थानीय शिक्षक दिलीप सिंह कठायतले बताए। लिंग पुचौंडी सुर्नाया नदी हुँदै वगेर आएको अनुमान गरिन्छ।
‘पर्वको वेला मन्दिरभित्र स्थापित शिलाले अफ्नो ठाउँबाट स्थान सर्ने भएकाले यस्लाई लोट्ने माणौं भन्ने गरिएको हो’ उनले भने।
डाँडोमा देवताको लिंग प्रतिस्थापन गरेपछि बाघ देखिने भएकाले पनि यसलाई डाँडा बाग मन्दिर भनिएको हो। स्थानिय भाषामा बाघलाई बाग भन्ने गरिन्छ। मन्दिरमा दसैं र चैते दसैंको दिनमा छ हजार सोराडवासी सवै मिली विशेष पूजा गर्ने प्रचलन रहेको छ।
मन्दिरमा अवस्थी थर भएका पूजारी हुने र ऐरी थर भएका व्यक्ति धामी हुने परम्परा देखिको चलन रहेको छ। मन्दिरमा ठुलो जात दशैंको भोलि पल्टबाट सुरुभ पूर्णिमाको दिन सम्पन्न हुने गर्दछ।
दसैंको जात्रामा त्यस ठाँउमा वस्ने चार राठ (जाति) का चन्दहरू मध्ये कालु राठ चन्दको ठकुरानी (राजकी श्रीमती) ले पबित्र काठ श्रीखण्डको बनेको डन्डीबाट दमहा बजाउनु पर्ने परम्परागत चलन समेत रहेको अर्का शिक्षक रामबहादुर चन्दले बताए। ठकुरानीले दमहा वजाएपछि मात्र जात्रा पुनः मन्दिरमानै फर्कने गर्दछ।
पूजाको समयमा कालु राठको जुठो प¥यो भने किस राठले वियानो बजाउनु पर्ने चलन समेत छ। सिगास माध्यमिक विद्यालयका प्रधानाध्यापक धनी दत्त पन्तले भने, ‘यो ठाउँको देवताले मागेको बर दिने भएकाले स्थानीयको धामिक विश्वास पनि धेरै रहेको छ। मैले आफ्नैले अनुभव गरेको छु।’
मलाई आफत परेको वेल लोट्ने देवतालाई स्मरण गर्दा ममाथि आएको कष्ट समेत दुर हुने गरेको छ उनले भने, ’जात्रा ठूलो हुने भएकाले मागेको बर पाइने विश्वासमा सुदूरपश्मिका श्रद्धालु भक्तजन मात्र नभई छिमेकी राष्ट्र भारतको मथुरा, धार्चुला आसपासबाट समेत भक्तजन आउने गरेका छन।’
डाँडाबाग देवता दुधधारी भएकाले यो ठाउँमा दूध फलफूल मात्र चढने गर्दछ। वली दिन यहाँ वर्जित छ। मन्दिरमा करिब १७ सय वर्ष भन्दा पुराना घण्ट, काठका कोरिएका धार्मिक स्तम्भ, पितलमा कोरीएका स्तम्भ रहेका छन।
पटक पटक स्थानीय सरकारमार्फत पुरातत्व विभागलाई पुराना समानको संरक्षरणका लागि आग्रह गर्दा समेत संरक्षणको अभावमा प्राचीन वस्तुहरू नासिने क्रम जारिरहेको छ।
यस क्षेत्रकै प्रख्यात मन्दिरको संरक्षणका लागि कुनै पनि निकायले चासो नदेखाए पछि स्थानीय बासिन्दाको श्रमदान र परम्परागत कारिगरीको मद्दतले मन्दिरलाई सिंगारिएको छ।
पुरानो शिला मात्रै भएको ठाउँमा स्थानीय बासिन्दाले चन्दा संकलन गरी हाल भव्य मन्दिर निर्माण गरेका छन।
मन्दिर पुरानो भएता पनि यसको महिमाको प्रचार प्रसार नहुँदा ओझेलमा पर्दै गएको छ।