२०८३ बैशाख २६ शनिबार
२०८३ बैशाख २६ शनिबार

अस्पतालमा उपचार गर्न जाने कि कोरोना संक्रमित हुन ?

काठमाडौं । नेपालको सबैभन्दा जेठो सरकारी अस्पताल, वीर अस्पतालको हालत कस्तो छ ? कोरोना संक्रमितहरु र अन्य बिरामीहरुको उपचार के–कसरी चलिरहेको छ ? स्वास्थ्यकर्मीहरुको मनोबल कस्तो छ ? एकचोटि वीर अस्पतालभित्र पसौं–

उदाहरण १ : वीर अस्पतालको आकस्मिक कक्षको १२ नम्बर बेडमा काभ्रेबाट एकजना बिरामी आएका थिए । टाउको सम्बन्धी समस्या लिएर आएका उनमा कोरोनाको लक्षण थिएन । तैपनि आकस्मिक कक्षमै भर्ना भएपछि चिकित्सकले उनको उपचार त गर्नैपर्‍यो ।

देशमा कोरोना महामारी नभएको भए वार्डमा भर्ना भैसक्नुपर्ने बिरामी थिए उनी । तर, पीसीआर परीक्षणका लागि पठाइएको थियो, रिपोर्ट आएपछि मात्र वार्डमा सार्ने वीर अस्पतालको प्रचलन थियो ।

मंगलबार साझ मात्र उनको पीसीआर रिपोर्ट आयो । तर, कोरोना पोजेटिभ । त्यसपछि उनलाई आइसोलेसनमा सारियो । उनी सुतेको बेडको तन्ना फेरियो, डिस इन्फेक्सन स्प्रे हानियो र तुरुन्तै अर्को बिरामीलाई राखियो । तर, चिकित्सकलाई भने क्वारेन्टाइनमा राखिएन ।

उदाहरण २ : एक महिना पहिले सुत्केरी भएकी धादिङकी २३ वर्षीया महिला निमोनियाले थलिएर वीरको आकस्मिक कक्षमा आइपुगिन् । एक महिने शिशु पनि सँगै थिए । इमर्जेन्सीमा भर्ना लिएपछि पीसीआर परीक्षणका लागि स्वाब लिइयो ।

पहिलोचोटि उनको रिपोर्ट नेगेटिभ आयो । तर, उनलाई निमोनियाले च्याप्दै लगेको थियो । उपचारमा खटिएका एक डाक्टर भन्छन्, ‘उनको छातीको रिपोर्ट खराब थियो । लक्षणहरु हेर्दा पूर्णरुपमा कोरोनाकै जस्तो थियो ।’

ती महिलाको श्वासप्रश्वासमै समस्या भएपछि एम्बोब्याग (मुखबाट पाइप छिराएर श्वासप्रश्वास गर्न सहज गराउने) विधि गर्नुपर्‍यो । एक चिकित्सकले चार घण्टासम्म लगातार एम्बोब्याग गरेर बस्नुपर्‍यो । उनी भन्छन्, ‘मसँग एउटा पीपीई थियो । तर, ग्लोब्स थिएन । धेरै चिकित्सकहरुसँग त त्यही पीपीई पनि थिएन । तर, उपचारमा नटिइकन सुख थिएन ।’

उनलाई थाहा थियो, यसरी उपचार गर्नु जोखिमपूर्ण छ । उनी भन्छन्, ‘आफैँलाई खतरामा राखेर ग्लोब्सविनाको हातले एम्बोब्याग (ब्यागिङ) गर्नुपर्‍यो ।’

नभन्दै, सोमबार ती बिरामीको पनि पीसीआर रिपोर्ट पोजेटिभ आयो । बिरामीलाई आइसीयुमा पुर्‍याइयो । एकजना चिकित्सकलाई अस्पतालले क्वारेन्टिइनमा राख्यो ।

उदाहरण ३ : आकस्मिक कक्षको बेड नम्बर १७ र २० मा दुईजना बिरामी थिए । उनीहरु कोरोनाको लक्षणसहित अस्पताल पुगेका थिए । परीक्षणका क्रममा उनीहरुमा निमोनिया देखिएको थियो । १७ नम्बर बेडका बिरामी प्रहरी थिए भने अर्का सर्वसाधारण । दुवै काठमाडौंबाटै वीर अस्पतालमा पुगेका थिए । आइसोलेसनमा बेड अभाव भएपछि उनीहरुको उपचार वीरको आकस्मिक कक्षमै भैरहेको थियो ।
आकस्मिक कक्षका चिकित्सकले उनीहरुसँगै अरु सबैखाले बिरामीलाई हेर्नुपर्थ्यो ।

अस्पताल पुगेको चौथो दिनमा मंगलबार साँझ ती दुई विरामीको रिपोर्ट पोजेटिभ देखिएको थियो ।

****

यी तीन उदाहरणले मात्र पनि वीर अस्पतालको आकस्मिक कक्षमा भएको लापरवाहीको चित्र प्रस्तुत गर्छ । अहिलेसम्म अस्पतालका आकस्मिक कक्ष २२ जना मेडिकल अफिसरले धानेका छन् । तर, कमजोर व्यवस्थापन र सुरक्षा सामाग्री अभावका कारण एकातिर चिकित्सकहरु त्रासमा उपचार गर्न बाध्य छन् भने अर्कातर्फ आकस्मिक कक्ष नै कोरोनाको हटस्पटतर्फ उन्मुख भइरहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।